• ११ असोज २०८१, शुक्रबार

प्रत्यक्षमा दलित उम्मेदवार न्यून

blog

इनरुवा समाचारदाता

इनरुवा, असोज ३० गते । सुनसरीमा प्रमुख राजनीतिक दलहरूले दलित समुदायलाई राजनीतिक रूपमा उपेक्षा गरेको गुनासो आएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुनसरीबाट दलित उम्मेदवारको सङ्ख्या न्यून रहेको देखिएको छ ।

जिल्लामा चार प्रतिनिधि सभा सदस्यका लागि ९४ जनाको उम्मेदवारी कायम हुँदा पाँच जना र आठ जना प्रदेश सभा सदस्यको लागि १११ जनाको उम्मेदवारी हुँदा ११ जना दलित समुदायका उम्मेदवार रहेका छन् । 

प्रतिनिधि सभा र प्रदेश सभा गरी २०५ जनाको उम्मेदवारी कायम रहेकोमा दलित उम्मेदवारको सङ्ख्या १६ मात्र छ । यहाँ प्रतिनिधि सभा र प्रदेश सभा गरी आठ प्रतिशत मात्रै दलित समुदायका उम्मेदवार छन् । उम्मेदवार भएकामध्ये पनि ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा  माओवादी केन्द्र र जनता समाजवादी पार्टीले कुनै पनि क्षेत्रमा दलित उम्मेदवार उठाएका छैनन् । साना दल र स्वतन्त्रबाट उम्मेदवार भएका १६ दलित उम्मेदवारमध्ये चार जना दलित महिला उम्मेदवार रहेका छन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा २० जना उम्मेदवार हँुदा कोही पनि दलित समुदायका छैनन् । सोही क्षेत्र नम्बर १ (क) मा भने सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भोलामान बर्देवा, हाम्रो नेपाली पार्टीबाट विजय कालिकोटेलाई प्रदेश सभामा उम्मेदवार बनाएको छ भने बाँकी टङ्कबहादुर विश्वकर्मा र माया विश्वकर्मा स्वतन्त्र रूपमा चुनावी मैदानमा हुनुहुन्छ । त्यसैगरी प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (ख) मा स्वतन्त्रबाट रितेश विश्वकर्माको दलितबाट एकल उम्मेदवारी छ । 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा २७ जना उम्मेदवार रहनुभएकोमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट नैनकुमार विश्वकर्मा एक मात्रै दलित समुदायका उम्मेदवार रहनुभएको छ । क्षेत्र २ (क) प्रदेश सभामा १८ जना र प्रदेश (ख) मा १० जना उम्मेदवार हँुदा कोही पनि दलित समुदायका उम्मेदवार छैनन् । उता सुनसरी क्षेत्र नम्बर ३ मा २२ जना उम्मेदवार हुँदा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजोदेवी ऋषिदेव र स्वतन्त्रबाट सज्जन ऋषिदेव गरी दुई जना दलित समुदायका उम्मेदवार हुनुहुन्छ ।

प्रदेश क्षेत्र नम्बर ३ (क) मा १३ जना उम्मेदवार हुँदा राप्रपा नेपालबाट शिवदेवी सरदारको मात्रै दलित समुदायबाट उम्मेदवारी रहेको छ । यसैबीच यस क्षेत्रको प्रदेश (ख)मा नेपाल समाजवादी पार्टीबाट देवीदेवी ऋषिदेव र स्वतन्त्रबाट दीपक हरिजन र हवडा बाँतर दलित समुदायका उम्मेदवार रहनुभएको छ ।

सुनसरी क्षेत्र नम्बर ४ मा २५ जना उम्मेदवार हँुदा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रामनारायण राम र जनता प्रगतिशील पार्टी नेपालबाट गुलाबचन मुसहर गरी दुई जना दलित समुदायका उम्मेदवार हुनुहुन्छ । प्रदेश क्षेत्र नम्बर ४ (क)मा १४ जना उम्मेदवार हँुदा नेपाली लोकतान्त्रिक पार्टीबाट विन्देश्वर सदा र प्रदेश (ख) मा राप्रपा नेपालबाट रामदेव रामको मात्रै दलित समुदायबाट उम्मेदवारी रहेको छ । 

यसैबीच सुनसरीमा महिलाको उम्मेदवारी पनि न्यून छ । नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३८ कोे उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुने व्यवस्था छ । यसैगरी धारा ४२ मा सामाजिक न्यायको हकको उपधारा (१) मा सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसङ्ख्यक, अपाङ्गता भएका, सीमान्तकृत, मुस्लिम, पिछडा वर्ग, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुनेछ भन्ने व्यवस्था छ ।

यसैबीच सदरमुकाम इनरुवामा नेकपा एमाले र जनता समाजवादी पार्टीको गठबन्धनले निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ ।

गठबन्धन बैठकले दुई दलीय गठबन्धनका उम्मेदवारलाई जिताउने गरी अभियान र घरदैलो गर्ने निर्णय गरेको छ । क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्रस्तरीय संयुक्त बसेको बैठकले राष्ट्रिय हितलाई मध्यनजर गर्दै विकास र समृद्धिको यात्रालाई संस्थागत गर्न केन्द्रमा बनेको गठबन्धनलाई सघाउने गरी जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारलाई विजयी गराउन सबै एकजुट भएर लाग्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले गठबन्धनको संयुक्त प्रतिबद्धतापत्र तयार गर्ने, दलहरूले आ–आफ्नो छुट्टाछुट्टै र संयुक्त प्रचारप्रसार समिति वडादेखि जिल्ला तहसम्मको निर्माण गर्ने, गठबन्धनका नेताहरू संयुक्त रूपमा वडा तहसम्म गई गठबन्धनको आवश्यकता र महŒव प्रकाश पार्दै प्रचारप्रसार तीव्र पार्ने निर्णय गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टीका सुनसरी अध्यक्ष भगिरथ खत्वेले जानकारी दिनुभयो ।