मोहनसिंह बुढा
अदानचुली, (हुम्ला) जेठ २७ गते । यहाँ रातोमाटो र सेतो कमिरोले पोतिएका घर । कतै ढुङ्गाले बान्नो मिलाएर छाएको छानो त कतै सलक्क खरले छाइएका घर । ढुङ्गाकै गारो र काठले टमक्क मिलाइका घरले गाउँको पहिचान दिलाउँथ्यो ।
अहिले त्यस्ता मौलिकता बोकेका घर बजारमा त छैनन् नै गाउँमा पनि कम भेटिन्छन् । अझ घरका झ्यालढोकामा कलात्मक शैलीमा बनाइएका आकृति तथा मूर्ति त भेटिनै छाडिसके ।
पछिल्लो समय प्रविधिको विकासका कारण मौलिक घर लोप हुँदै गए भने आधुनिक घर धमाधम बनिरहेका छन् । हुम्लाका अधिकांश गाउँमा ढुङ्गा, काठ र माटोका घर छन् । एक दशक अगाडिसम्म गाउँका धेरै घर खर र ढुङ्गाको पत्थर छाइका थिए । अहिले ति घर भेट्टाउनै मुस्किल पर्छ ।
जिल्लाका स्थानीयले पनि ढुङ्गा घर विस्थापित गरी जस्तापाताका छानो हाल्ने नीति ल्याएपछि गाउँका मौलिक घर ओझेलमा परेका छन् । सर्केगाड गाउँपालिका–८ राहदेब र फुँचामा दुई दशक अगाडिसम्म ढुङ्गाको पर्खाल र काठका फल्याकले छाएका घर मात्रै थिए । ती घर एउटा पनि अहिले भेट्टाउन मुस्किल छ ।
काठ र ढुङ्गाबाट बनेका घर विस्थापित बनेपछि विस्तारै ढुङ्गा र खरका घर बने । अहिले ती ढुङ्गा र काठका घर पनि विस्थापित हुँदै गएका छन् । अहिले अदानचुली गाउँपालिकाको ढुलो गाउँ गल्बामा जस्तापातले छाएका घरले गाउँ नै ढाकिन थालेका छन् । जस्तापाताका घर बनाउन स्थानीयवासीलाई सहज भए पनि गाउँको सुन्दरतामा भने धेरै प्रभाव पारिरहेको छ ।
गल्बा गाउँसँगै ताँजाकोटको थापा गाउँ, मैला, सर्केगाडको सर्केगाड साँया, चङ्खेलीको दार्मा, पिलाङ्ग, खार्पुनाथ गाउँपालिकाको यांचु, खर्पेलगाउँ, सिमकोट गाउँपालिकाको सिमकोट, ठेहे र नाम्खा गाउँपालिकाको याल्बाङ तथा जिल्लाका अधिकांश गाउँमा अहिले धमाधम जस्तापात कङ्क्रिटले छाइएका घर निर्माण भएका छन् । पहिले टाढैबाट चिटिक्क देखिने खर र ढुङ्गाले छाएका घर अहिले जस्तापाता तथा कङ्क्रिटबाट बनेका घरमा परिणत भइरहेका छन् ।
मौलिक ढुङ्गे तथा खरका घर बनाउन बढी झन्झटिलो र खर्चिलो हुने हुँदा पछिल्लो समय स्थानीयले जस्तापाताका घर बनाउन थालेको अदानचुली–२ गल्बाका ८६ बर्षिय अकबर भण्डारीले बताउनुभयो । उहाँले १५/२० वर्ष अगाडिको तुलनामा अहिले घरको बनावट तथा निर्माण गर्ने शैलीमा निकै परिवर्तन आएको बताउनुभयो ।
‘‘अहिले गाउँ र बजारका घरमा धेरै फरक पाइँदैन, गाउँमा पनि बजारकै शैलीमा घर बन्न थाले, सबै आधुनिकतासँग जोडिएका छन्, मौलिकता बोकेका घर विस्तारै हराउँदै गए, मान्छे विदेश तथा सहर बजार जान थाले, विदेश र सहर बजारमा बनेका जस्तै घर गाउँमा बनाउन थाले’’, भण्डारीले भन्नुभयो, ‘‘पहिले त यहाँ काठैकाठका घर थिए, पछि ढुङ्गा, घर र काठका घर बने, अहिले धेरैले टिन (जस्तापाता) ले छाउन थाले, अलि हुने खानेले ठुला सिमेन्टकै घर बनाउन थाले, यसले गाउँ नै आधुनिकीकण भयो, मौलिक संस्कृति र परम्परा हराउन थाले, अब जिल्लामा रहेका सात वटै स्थानिय तहले गाउँका सबै घर मौलिकतासँग जोडेर बनाउनुपर्ने नीति ल्याउनुपर्छ ।’’
सिमकोटका ७९ वर्षीय अम्मकला रावतले अहिले बन्ने घरले गाउँको स्वरूप नै बदलिदिएको बताउनुभयो । पहिले गाउँमा बन्ने घर सबै एउटै खाले हुने गरेको जनाउँदै अहिले बन्ने घरका रङ्ग तथा आकार फरक–फरक हुँदा गाउँको सुन्दरतामा ह्रास आएको गुनासो गर्नुभयो । मौलिक कला संस्कृतिमा बजारभन्दा गाउँ निकै अब्बल रहेको सुनाउँदै मान्छेहरूले बजारको नक्कल गरी घर पनि त्यस्तै बनाउन थालेको उहाँको भनाइ छ । संस्कृति संरक्षणका लागि घर नयाँ बनाए पनि पुरानै शैलीमा नवीन प्रविधि अपनाउनुपर्ने उनको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, ‘‘अहिले यहाँ बनेका घर स्वास्थ्यका लागि फाइदाजनक छैनन्, सिमेन्ट बालुवाले बनेका छन्, टिनले छाएका छन्, हिउँदमा चिसोले मान्छेलाई रोगी बनाउँछ, पहिले–पहिलेका घर सबै मौसमका लागि उपयुक्त हुन्थे, हिउँदमा न्यानो हुने, गर्मीमा शीतल हुने खालका हुन्थे, अहिले गाउँ हेर्नु हुन्छ भने खरका घर कतै भेटाउनु हुन्न, घुमाउने घर पनि पहिले गाउँमा बाक्लै थिए, अहिले कतै देख्नुहुन्छ ?, किन हराए ?, यो सब अरूको देखासिकीले गर्दा हो, गाउँमा कसैले टिनले छाएको घर बनाउँछ भने भोलि अर्कोले त्यस्तै घर बनाउँछ, पुरानो घरलाई पहिलेकै जस्तो बनाउनुपर्छ भन्ने कसैलाई लाग्दैन ।’’
गाउँका पुराना घरलाई संरक्षण गरिराख्न सके केही वर्ष पनि पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने रावत बताउँनुहुन्छ । उहाँले खास गरी खरको घर विस्थापित हुनाका कारण यो बनाउन धेरै समय लाग्ने, आगलागीको जोखिम हुने र अहिले कसैले पनि वनमा गएर खर काटेर ल्याउन झन्झट मान्ने हुँदा जस्तापाताले छाएका घर बढ्दै गएको बताउनुभयो ।
गाउँमा बन्ने घर गाउँकै स्रोत र साधनको प्रयोग गरी बनाउनु पर्छ, यहाँ यति धेरै स्रोत साधन छन्, तर हामीहरूले आयातित सामानको प्रयोग गरेर घर, भवन बनाइरहेका छौँ, गाउँमा पनि सिमेन्टका ठुला–ठुला घर, भवन बन्न थाले, यसलाई रोक्नका लागि गाउँपालिकाले स्थानीय स्तरमा भएका स्रोत साधनलाई प्रयोग गरेर गाउँका घरलाई मौलिक घर बनाउने योजना बनाउनुपर्ने छ ।