• १७ असार २०८२, मङ्गलबार

कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसदको अपमान हो: सिवाकोटी

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी । फाइल तस्बिर

काठमाडौँ, असार १७ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले निजामती सेवा विधेयकमा गरिएको छेडखानीप्रति गम्भिर आपत्ति जनाउनुभएको छ।  प्रतिनिधिसभाबाट दुई वर्षे कुलिङ पिरियडको स्पष्ट व्यवस्था सहित पारित भइसकेपछि त्यसको मर्म विपरीत विधेयकमा गरिएको छेडखानीलाई ‘संसदको अपमान’ भनेका छन्।

मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा धारणा राख्दै सिवाकोटीले केही व्यक्तिको साँघुरो स्वार्थका लागि विधेयकमा तोडमोड गरिएको आरोप लगाउनुभयो। “लोकतान्त्रिक विधि र संसदप्रतिको विश्वासमाथि ठाडो प्रहार भएको छ,” उहाँले भन्नुभयो।

सिवाकोटीले विधेयकको मर्म विपरीत छलछाम गरी संसदलाई गुमराहमा राखिएको भन्दै यस्तो कार्य नागरिकको विश्वासमाथिको धोका भएको टिप्पणी गर्नुभएको छ।

उहाँले संसदमा पारित विधेयकमा कसको निर्देशनमा, कुन प्रक्रियाबाट र किन छेडखानी भयो भन्नेबारे छानबिन गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने मागसमेत गर्नुभएको छ।