• १३ असोज २०८१, आइतबार

आँखा स्वास्थ्यको विषय विद्यालयको पाठ्यक्रममा समेट्नुपर्छ : विज्ञ

blog

काठमाडौं, असोज २७ गते। आँखा स्वास्थ्यको विषय विद्यालयको पाठ्यक्रममा समेट्नु पर्नेमा विज्ञले जोड दिएका छन्। 

 विश्व दृष्टि दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै  व्लाइन्ड वोमेन एसोसिएशनका सल्लाहकार मिरा अधिकारीले शिक्षा नै सबै भन्दा ठूलो भएकोले आँखाको प्राथमिक उपचार बारे विद्यालय तहको पाठ्यक्रममै समावेश गर्नु पर्नेमा जोड दिनुभयो। 

 आफूले सात वर्षको उमेरमा आँखा गुमाएको जिकिर गर्दै उहाँले आम अभिभावक पनि आँखा स्वास्थ्यको विषयमा सचेत र चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो। 

कार्यक्रममा  विभागका महानिर्देशक डा. दिपेन्द्ररमन सिंहले स्वास्थ्य शिक्षा साक्षरता बढाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले आँखा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति थपिदै गएको भन्दै यसको व्यवस्थापनतर्फ जोड दिनु पर्ने बताउनुभयो।

नेपालमा सन् २०१९ को सर्वेक्षणले सन् १९८१ को तुलनामा अन्धोपन तथा दृष्टि दोषको अनुपातमा कमी आएको छ। सन् १९८१ मा ०.८४ प्रतिशत अन्धोपन सन् २०२२ सम्म आइपुग्दा अन्धोपनको स्थिति ०.२८ प्रतिशतमा झरेको छ। 

तिलगंगा आँखा प्रतिष्ठानकी कार्यकारी निर्देशक डा. रिता गुरुङले अन्धोपन नेपालमा घटे पनि मोतियाविन्दु, चस्मासम्बन्धि दृष्टि दोष, जल विन्दु, मधुमेहबाट आँखामा पर्ने असर उमेरका कारण दृष्टि पर्दामा पर्ने असर आदि बढ्दो चुनौतीको रुपमा देखिएकोे बताउनुभयो। 

 नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले नेपालमा आँखा अस्पताल र जनशक्ति प्रयाप्त भए पनि उपचारका लागि बिरामी आउन नसकेको बताउनुभयो। उहाँले  यसका लागि जनचेतना बढाउने र उपचारको पहुँच बढाउने योजनामा राज्यको नीति हुनुपर्नेमा जोड दिनुभयो। 

मन्त्रालयका नीति तथा अनुगमन शाखाका प्रमुख डा. गुणनिधि शर्माले प्राथमिक आँखा उपचार सेवा कार्यक्रमलाई प्रभावकारी बनाउन राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिको मस्यौदाका लागि राय सुझाव लिइरहेको जानकारी दिनुभयो। रणनिती बनेपनि कार्ययोजना बनाएर अगाडी बढ्ने मन्त्रालयको योजना रहेको उहाँले बताउनुभयो। 

विश्व स्वास्थ्य संगठनको आकडा अनुसार विश्वमा झण्डै दुई अर्ब २० करोड मानिसमा दृष्टि सम्बन्धि समस्या रहेको छ भने झण्डै एक अर्ब अझै पनि आँखा सेवाबाट वञ्चित रहेका छन्। 

आईएपीवीका दक्षिणपूर्वी एशिया संयोजक युद्धध्वज सापकोटाले नेपालमा वार्षिक करिब चार  लाख व्यक्तिको मोतियाविन्दु शल्यक्रिया गर्नु पर्ने भए पनि १ लाख ५० हजार व्यक्तिको मात्रै शल्यक्रिया हुने गरेको भन्दै दीगो विकासका लक्ष्य हालिस गर्नका लागि चुनौती रहेको बताउनुभयो।  

आँखा स्वास्थ्यका कारण विश्वमा वार्षिक ४११ अर्ब डरल उत्पादकत्वमा घाटा हुने गरेको ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानले देखाएको दाबी उहाँले गर्नुभयो। उहाँले  आँखाको उपचारमा २४ अर्ब डलर मात्रै खर्च गरे सो घाटा पूर्ति हुने बताउनुभयो।

अक्टोर १३ अर्थात् विश्व दृष्टि दिवस मनाइएको छ। “आँखा माया गरौँ” भन्ने मुख्य नाराका साथ विश्व दृष्टि दिवस मनाइएको छ। सन् १९९८ सालदेखि हरेक वर्ष अक्टोबर  महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउदै आएको छ।