गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ७ गते । नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यका रूपमा प्रतिनिधि सभाका २७४ जना सदस्यलाई शपथग्रहण गराउनुहुने भएको छ । उहाँ समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले ज्येष्ठ सदस्य केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत ११ गते शपथग्रहण गर्नुहुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ सदस्यलाई चैत ११ गते शपथ गराउन अनुरोधसहित राष्ट्रपतिको कार्यालयमा शुक्रबार पत्राचार गरिएको छ ।” ज्येष्ठ सदस्यले राष्ट्रपतिको कार्यालयमै शपथग्रहण गर्नुहुने छ । सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई चैत १२ गते २ बजे शपथग्रहण गराउने तयारी गरेको छ । ज्येष्ठ सदस्यले शपथग्रहण गरेको भोलिपल्ट नवनिर्वाचित अन्य सदस्यको शपथग्रहण हुने छ ।
प्रवक्ता गिरीले नागरिकतासहितका अन्य प्रमाणपत्रका आधारमा नवनिर्वाचित सदस्य अर्जुननरसिंह केसीलाई ज्येष्ठ सदस्यका रूपमा पहिचान गरिएको बताउनुभयो । उहाँको जन्म २००४ सालमा भएको हो ।