• २१ वैशाख २०८१, शुक्रबार

बेनीमा खेलाडीहरुलाई बाजागाजासहित स्वागत

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असोज २७ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बेनीमा आयोजना हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन पूर्व प्रतियोगितामा सहभागी हुन बेनी आएका खेलाडीहरुलाई बेनीमा भव्यरुपमा स्वागत गरिएको छ । खेलाडीहरुको स्वागतमा बेनीमा जातजातिको कला, संस्कृति झल्कने झाँकी प्रदर्शन गर्नुका साथै नौमती बाजासहित बजार परिक्रमा गरिएको थियो । 


जिल्लास्थित विभिन्न जातजाति, संघसंस्था, क्लब, जनप्रतिनिधि, आमा समूहहरुको सहभागितामा बृहत सांस्कृतिक झाँकीसहितको र्‍यालीले बजार परिक्रमा गरिएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीको खुला मञ्चमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । कार्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लागि उद्घाटन खेलमा गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच खेल हुने भएको छ ।

महिला भलिबलमा सहभागी हुने सात प्रदेशसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेका छन् । गण्डकी प्रदेशमा ३९ वर्षपछि भएको नवौं राष्ट्रिय प्रतियोगिता अन्तरगत म्याग्दीमा महिला भलिबलसँगै तेक्वान्दो प्रतियोगिता समेत सञ्चालन हुँदैछ ।


कालीपुलस्थित कवर्ड हलमा हुने तेक्वान्डो प्रतियोगिताको लागि समेत खेलमेदानको व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले गर्नुभएको छ । राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताले बेनीमा खेलप्रेमीहरुको चहलपहल बढेको छ ।