• ९ मंसिर २०८१, आइतबार

आगलागीबाट झण्डै ५५ लाख रूपियाँको क्षति

blog

रमेश विश्वकर्मा 

गुल्मी, असोज २७ गते । गुल्मीको रेसुङ्गा नगरपालिकास्थित एक घरमा विद्युत लाइन सर्ट भई आगलागी हुँदा झण्डै ५५ लाख रूपियाँ बराबरको क्षति भएको छ । बुधबार साँझ भएको उक्त आगलागीको घटनामा मानवीय र चौपायाको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । 

आगलागीबाट अन्नपात, लत्ताकपडा, कागजपत्र, नगद र घरसहित ५० देखि ५५ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवराज खरेलकाअनुसार साँझ ७ः१५ बजेको समयमा जिल्लाको रेसुङ्गा नगरपालिका–४, छल्दिपना बस्ने ७० वर्षीय लालबहादुर दर्लामीको ढुङ्गामाटोले बनेको तीन तले कच्ची घरमा विद्युत लाइन सर्ट भई आगलागी भएको थियो । 

आगलागीको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, गुल्मीबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा २१ जनाको टोली र स्थानीयको सहायतामा आगलागी नियन्त्रणमा लिएको डिएसपी खरेलले बताउनुभयो ।