• १९ असोज २०८१, शनिबार

सुदूरपश्चिममा प्रधानमन्त्री देउवासहित तीन मन्त्रीको उम्मेदवारी

blog

धनगढी, असोज २५ गते । सुदूरपश्चिमका विभिन्न क्षेत्रबाट सङ्घीय सरकारका प्रधानमन्त्रीसहित तीन जना मन्त्रीले उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीन मन्त्री प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको हो ।  

प्रधानमन्त्री देउवा एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट सातौँ पटक उम्मेदवार बन्नुभएको छ । उहाँले २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ का सबै निर्वाचन जित्नुभएको छ । यस्तै, दार्चुलाबाट कांग्रेसका नेता तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु र अछाम क्षेत्र नम्बर १ बाट नेकपा (एकीकृत समाजवादी) का नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर चुनावी मैदानमा हुनुहुन्छ ।

गत स्थानीय चुनावमा गठबन्धनका तीन वटै पार्टीका वडा अध्यक्षहरूले पाएको मतका आधारमा प्रधानमन्त्री देउवा र मन्त्री कुँवर सजिलै जित्न सक्ने अवस्थामा रहनुभएको छ । अर्का मन्त्री बडुलाई जित निकाल्न कडा मेहनत गर्नुपर्ने देखिन्छ । 

स्थानीय तह चुनावमा डडेल्धुरामा कांग्रेसले २१ हजार ७३५, माओवादीले १२ हजार ८७८, एकीकृत समाजवादीले पाँच हजार ४१ मत पाएको थियो । त्यसअनुसार प्रधानमन्त्री देउवाले ३९ हजार ६५४ मत पाउने देखिन्छ । 

डडेल्धुरामा एमालेले स्थानीय चुनावमा १० हजार ४४९ ले मत पाएको थियो । त्यसैले डडेल्धुरामा एमाले र बीपी कांग्रेस मिल्दा पनि प्रधानमन्त्री देउवालाई चुनौती दिन नसक्ने अवस्था देखिएको छ । 

यस्तै, दार्चुलामा कांग्रेसको २१ हजार ५५४, माओवादीको सात हजार ८८१ र नेकपा (एकीकृत समाजवादी) को १७१ गरेर सत्तारुढ गठबन्धनको २९ हजार ६०८ मत छ ।  

दार्चुला स्थानीय तहको चुनावमा एमालेका वडा अध्यक्षहरूले २९ हजार ३९७ मत पाएका छन् । स्थानीय तहको मतलाई आधार मान्दा सत्तारुढ गठबन्धन एमालेभन्दा २११ मतले अगाडि छ । त्यसैले जित निकाल्न मन्त्री बडुले कडा मेहनत गर्नुपर्ने देखिन्छ । मन्त्री बडु २०४८ र २०५६ गरेर दुई पटक दार्चुलाबाट निर्वाचित हुनुभएको थियो । 

दार्चुलामा एमालेले २०७० र २०७४ मा लगातार प्रतिनिधि सभामा निर्वाचित पूर्वमन्त्री गणेश ठगुन्नालाई उम्मेदवार बनाएको छ । यस्तै, अछाम क्षेत्र नम्बर १ कांग्रेसको १६ हजार ७२८, माओवादीको ६ हजार ७९०, एकीकृत समाजवादी दुई हजार ७५२ गरेर सत्तारुढ गठबन्धनको  मत २६ हजार २७० छ । सो क्षेत्रमा एमालेले स्थानीय तहको निर्वाचनमा १६ हजार ५६७ मत पाएको छ ।  

अछाममा एकीकृत समाजवादीका मन्त्री कुँवरलाई उम्मेदवार बनाएकोमा कांग्रेसहरु असन्तुष्ट देखिएका छन् । मन्त्री कुँवर २०६४ मा सोही क्षेत्रबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

एकल नाम सिफारिस भएका डा. भीमबहादुर रावललाई उम्मेदवार नबनाएकोमा एमाले अछाममा असन्तुष्टि छ । रावललाई उम्मेदवार नबनाएकोमा अछाम क्षेत्र नम्बर १ मा ५० जना जति स्थानीय नेताले विभिन्न जिम्मेवारीबाट राजीनामा दिएका छन् । 

एमालेले माओवादीबाट प्रदेश सरकारको मन्त्री र प्रदेश सभा सदस्य छोडेर एमाले बनेका झपट बोहरालाई उम्मेदवार बनाएको छ । सुदूरपश्चिम प्रदेशमा १६ वटा प्रतिनिधि सभाका क्षेत्र छन्  ।