भाइबहिनीहरू, डडेलधुराको खिरका बारेमा सुन्नु भएको छ ? धनगढीदेखि सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला पुग्न डडेलधुराको गन्यापधुरा गाउँपालिका हुँदै जानु पर्छ । त्यसै गाउँपालिका–१ मा रहेको साहुखर्क भन्ने ठाउँमा बाजेको खिर पसल छ । यो बाटो भएर आउजाउ गर्नेमध्ये धेरैले त्यहाँको खिर खाएकै हुन्छन् ।
हिउँपर्ने लेकमा झुपडी बनाएर स्थानीय शेरबहादुर देउवाले २०२४ सालमा घिउ बेच्न थाल्नुभयो । २०३२ सालमा त्यही ठाउँ हुँदै गाडी गुड्न थाले । यातायात पुगेपछि मानिसको आउजाउ बढ्न थाल्यो । चिया र खाजा खानेको सङ्ख्या बढ्न थाल्यो । देउवाले चिसो ठाउँमा तातो चिया र खिर खुवाउने सोच बनाउनुभयो । खिर पसल सुरु गर्नुभयो ।
धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग छेउमा एउटा सानो कटेरोमा खिरको व्यापार सुरु गर्नुभएका देउवाले खिर व्यवसायलाई निरन्तरता दिन १० वटा भैँसी पनि पाल्नुभयो । व्यापार राम्रो हुँदै गएपछि गाउँबाट पनि दुध सङ्कलन गर्न थाल्नुभयो । पछि उहाँका गोठमा ३५ वटासम्म भैँसी थिए ।
पसलको नाम राखिएको थिएन । त्यसैले सुरुमा सबैले देउवाको खिर पसल भन्ने गर्थे । पछि युवापुस्ताले उहाँलाई बाजे भनेर सम्बोधन गर्न थाले । पसलको नाम पनि बाजेको खिर पसल भन्न थालियो । उहाँ अहिले जीवित हुनु हुन्न । उहाँका छोरा कर्णले १६ वर्षअघि एक जना गाडी मालिकले बाजेको खिर पसल भनेर लेखिएको साइनबोर्ड आफैँले ल्याइदिएको सुनाउनुभयो ।
उहाँले खिरबाट आम्दानी गरेको रकमले १० जनाको परिवार पाल्ने गर्नुभएको थियो । उहाँको खिर पसल चलेको देखेर अरूले पनि त्यसको सिको गर्दै खिर पसल खोलेका छन् तर उहाँको पसलमा जति अरू पसलमा भिड हुँदैन । एकै पटक धेरै गाडी आएका बेला परेमा उहाँको पसलमा पालो पर्खिनुपर्ने पनि हुन्छ ।
लामो समयसम्म दाउराको मन्द आगोमा पाक्ने खिर प्रधानमन्त्री, सांसद, विदेशी राजदूत, पर्यटक सबैले खानुभएको छ । दुध र चामलबाहेक काजु, बदाम, किसमिस, नरिवल जस्ता मसला हालिने भएकाले खिर निकै स्वादिलो हुन्छ । खिर पकाउन खुमल–४ जातको धानको चामल प्रयोग गर्ने गरिएको छ ।
शेरबहादुरका छोरा कर्णले ३० वर्षदेखि बाबुलाई खिर पसलमा सघाउँदै आउनुभएको थियो । त्यसैले गत वर्ष बाबुको निधनपछि खिर व्यवसायको जिम्मेवारी सम्हाल्न कर्णलाई सजिलो भएको छ । कर्णले पुरानो घरलाई केही सुधार गरेर खिर पसल सञ्चालन गर्दै आउनुभएको छ ।
उहाँसँग अहिले १० वटा भैँसी छन् । त्यति दुधले नपुग्ने हुँदा गाउँघरबाट पनि दुध सङ्कलन गर्ने गर्नुभएको छ । उहाँले भन्नुभयो, “बुवालाई सम्झेर आउने ग्राहक धेरै छन् । यो नै हामीहरूको सम्पत्ति हो । बुवाले पकाउने गर्नुभएको जत्तिकै स्वादिलो खिर पकाउन छाडेका छैनौँ ।”