गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २२ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन सफल बनाउनु सबैको दायित्व भएको बताउनुभएको छ । सरकार, निर्वाचन आयोग, राजनीतिक दल, मतदाता, नागरिक समाजलगायत सबै सरोकारवालाले फागुन २१ गते घोषणा गरिएको निर्वाचन सफल बनाउनु प्रमुख दायित्व भएको उहाँले स्पष्ट पार्नुभयो ।
गोरखापत्र संस्थानमा आइतबार आयोजित गोरखापत्र, दी राइजिङ नेपाल र अनलाइन संस्करणलाई संयुक्त रूपमा अन्तर्वार्ता दिँदै उहाँले निर्वाचन निष्पक्ष, स्वच्छ र धाँधलीरहित रूपमा हुनेमा शङ्का नगर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । सरकारले निर्वाचनका लागि पर्याप्त बजेट उपलब्ध गराउने यसअगाडि नै भनिसकेकाले बजेटको अभावमा निर्वाचनका कुनै पनि गतिविधि नरोकिने भन्दै भण्डारीले सात अर्ब बजेट सरकारले यसअगाडि नै सुनिश्चिता गरिसकेको स्पष्ट पार्नुभयो । निर्वाचनको वातावरण बनेको छैन भन्ने कतै कतै गलत भाष्य निर्माण भएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “निर्वाचनमा प्रतिस्पर्धा गर्न दलहरू तयारी अवस्थामा रहेका, मतदाता मतदान गर्न आतुर रहेको, निर्वाचन आयोग निर्वाचन गराउन तयारी रहेको र सरकारले निर्वाचन गराउन सबै स्रोत र साधनको व्यवस्था गरेकाले निर्वाचन हुन्छ ।” जेनजी आन्दोलनका क्रममा कतिपय निर्वाचन मतदान केन्द्र तोडफोड र आगजनी हुँदा अहिले ती मतदान केन्द्र पुनर्निर्माण तथा नवनिर्माण भइसकेकाले निर्वाचनका लागि कुनै पनि समस्या नभएको कार्यवाहक आयुक्त भण्डारीले बताउनुभयो । आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन युवापुस्ताले सक्रिय रूपमा मतदाता नामावलीमा नाम दर्ता गराएकाले निर्वाचनमा युवापुस्ताको उत्साह देखिएको उहाँको भनाइ छ ।