–दान नै सबैभन्दा ठुलो पुण्य हो ।
मानव जीवन केही होइन/यो त दुई दिनको क्षणभङ्गुर मात्रै हो/हामीले सम्पत्ति जोडेर केही हुँदैन/मृत्यु हुँदा हामी जाने खाली हात नै हो-कात्रोमा कसैको पनि खल्ती हुँदैन ।
हामीले जिउँदो हुँदा गाडी/घोडा/रेल वा हवाईयात्रा जेमा सयर गरे पनि घाट पुग्ने साधन बाँसको ‘खट’ नै हो ।
कतिपय अवस्थामा तपाईं–हाम्रो मन मस्तिष्कमा खटको खटपट चलिरहन्छ ।
यो खटबाट हामी हमेसा भागिरहेका हुन्छौँ ।
यो दुई दिनको रिमझिम/यो तामझाम/यो पैसाको बेफ्वाँक घमण्ड सबै निरर्थक हुन् ।
अखिर अन्त्यमा ‘खट’ कै यात्रा गर्नु छ भने पैसाको यो तामझाम केका लागि ?
– .......!
केका लागि यो राम रमिता ?
– .............!
कानमा यत्तिको गहिरो विचार ठोक्किन आइपुग्यो– “आ.. यो जीवन केही होइन जस्तो पनि लाग्छ ।”
– निरर्थक भाव आउँछ ।
– वितृष्णाको मुना पलाउँछ ।
– असन्तुष्टिको कोपिला पनि फक्रिन्छ । जीवनलाई क्षणमै क्षणभङ्गुर सोच्न सकिन्छ । लाखौँ आशा त्यागेर निराशामा बदल्न कत्ति समय पनि लाग्दैन ।
विश्वविजेता अलेक्जेन्डर महान्ले पनि भनेका थिए, “मेरो मृत्युपछि दुवै हात खाली देखाइदिनू । हेर्नेहरूले सम्झून् विश्वविजेता अलेक्जेन्डर महान् खाली हात गयो ।”
आखिर मरिलानु पो के छ र ! भन्ने नलाग्ने होइन, लाग्छ ।
अनि गम्छु– “जीवन केही होइन ।”
जीवनको अन्तिम वाहन ‘खट’ !
मनमा मृत्युको विम्ब आउँछ । म मृत्युको नमिठो स्मृतिमा चोवलिन्छु । मृत्यु साँच्चिकै नमिठो गरी दुख्छ । एक मन गम्छु– मृत्यु एक सामान्य प्रक्रिया हो । जो हरेक जीवनको शाश्वत प्राकृतिक सत्य हो । जो कसैले नकार्न सक्दैन ।
अखिर यो मन किन मान्थ्यो ।
अहँ,
मभित्रको ‘म’ मानेन ?
‘म’ माने ‘मन’/म अर्थात् मन । प्रत्येक मानिससँग एउटा
‘म’ हुन्छ अनि मन ।
– आत्म निर्णय गर्ने मन नभएको के ‘म’ !
‘म’ हुनका लागि एउटा दर्बिलो ‘मन’ पनि चाहिन्छ ।
जसै सोच्छु– निर्बलियो मन भएका अनेकौँ ‘म’ हरू के
काम ? मन नभएका ‘म’ हरूको हरिबिजोग पनि देखेको छु मैले ।
जसले जे भन्छ त्यो पत्याइहाल्न सक्दिनँ म । हरेक विषय आफ्नै मनको तराजुमा तौलिने हो/विचार गर्ने हो/मीमांसा गर्ने हो/मन्थन गर्ने हो र गमेर हेर्ने हो । मृत्युसँग भागेर म अनेक थोक गर्न सक्दिनँ ।
मस्तिष्क + म + मन = मानिस !
मानिस हुन पनि के के चाहिने के के ! विद्या र विवेकवान् प्राणी बन्न उसै कहाँ सजिलो छ र ? संसारका लाखौँ जीवजन्तुमा मानव जीवन सर्वश्रेष्ठ मानिन्छ । कहिलेकाहीँ म आफैँतिर फर्केर प्रश्न गर्छु– के यो सत्य हो त ?
मन अत्यन्त लोमहर्षक बन्छ र मौनता साँध्न पुग्छ । केही क्षणको शून्यतापछि भित्रबाट लामो उच्छवासको अभिव्यक्ति आउँछ– मानिस परिस्थितिको दास हो । उसको प्रत्येक बँचाइ पृथक् छ/प्रत्येक भोगाइ पृथक् छ/प्रत्येक अनुभव पृथक् छ/मानिस बहुआयाममा बाँचेको छ ।
कहिले भ्रममा हुन्छ– मानिस
कहिले भ्रान्तिमा भुल्छ– मानिस
कहिले आफैँलाई भुलेर शान्तिमा डुब्छ– मानिस
कहिले आफूले आफैँलाई बदलेर क्रान्तिमा पुग्छ– मानिस !
मानिस विचारको नूतन पुञ्ज हो । चेतनाको अनमोल रत्न हो । मानिसलाई हमेसा बदल्न सकिन्न पनि । यो आफैँमा परिपक्व दृष्टिकोणले सुशोभित हुन्छ ।
कतिपय मानव जीवन भ्रम र भ्रान्तिको घनचक्कर घुमिरहेको छ । हल्लाको पछि दगुरेर जीवनको अस्तित्व सकिरहेको छ । जीवनको मूल्यबोध नै छैन ।
हल्ला पानीका निर्बलिया फोका हुन् । ती क्षणभङ्गुर हुन्छ्न् । सत्य सत्य नै हो । सत्यलाई अनेकौँ कोणबाट हेर्दा पनि सत्य नै देखिन्छ । सत्य शाश्वत हुन्छ ।
मस्तिष्क पनि मनकै नियन्त्रणमा हुन्छ । मस्तिष्क जति सुकै समृद्ध होस्/जति सुकै सचेत होस् वा उन्नत होस्– मनको सुझबुझ आवश्यक छ ।
मन कानुन हो ।
मनको अदालतबाट जीवनका हरेक फैसला हुन्छन् । मनले हरेक विषयमा गहिरो दृष्टिकोण लगाउँछ ।
मन बटारिएपछि बटारियो/बटारियो ।
मन बटारिएपछि मस्तिष्क पनि निरीह हुन्छ ।
‘म’ पनि निरीह हुन्छ ।
दुनियाँले के के भन्छन– त्यै त्यै सही थाप्दै हिंड्नु पनि भएन । मनभन्दा ठुलो के होला र ! मनको कुरा तनले हार्न सक्दैन । हरेक प्राणीको तनलाई मनले लगाम कसेकै हुन्छ ।
आखिर मेरो तनलाई पनि मनको नियन्त्रण छँदै छ ।
म पनि मेरा निर्णयको जिम्मा मनलाई लगाउँछु । मनले सोचेर/सम्झेर/बुझेर/गम्भीरतापूर्वक निर्णय गर्छ ।
पढ्नु भनेको शिक्षा आर्जन गर्नु हो । पढ्नेहरू सबैले जब ज्ञानार्जनको तहमा पुग्दैनन्, यो केवल शिक्षा मात्रै हुन्छ । शिक्षा लिनु र ज्ञानको द्वार खुल्नु पृथक् कुरा हुन् ।
कतिपय मानिस आफ्नो विवेकको कहिल्यै प्रयोग गर्दैनन् ।
मानिसमा जबसम्म विवेको ढोका खुल्दैन । उसको शिक्षा केवल आत्मश्लाघाको दुर्भेद्य दस्ताबेज मात्रै हुन्छ ।
शिक्षा–
विवेक होस्
जीवनमार्ग बनोस्
क्षमाशील बनोस्
विनयशील बनोस्
दिव्य र प्रज्ञावान् बनोस् ।
यसो सोच्छु– दान त साधन मात्रै हो, साध्य होइन ।
धर्मको अनुगामीसँग प्रश्न उब्जन्छ । दानको विशिष्ट महिमा छ । गौरव र गरिमा छ तर हामी दानलाई किन दरिद्र बनाइरहेका छौँ ?
यज्ञमण्डप ‘ज्ञान’ का लागि हो कि ‘दान’ का लागि ?
म अन्योलमा रुमलिन्छु ।
दान खराब ठाउँमा पर्न सक्छ । दानको अनेकौँ विकृति छन् । हामीले देखी–भोगी गरेकै छौँ । हाम्रा कतिपय दानमाथि अर्कैले जुँगा ताउ लगाइरहेको हुन्छ । कतै सानवालाले खान्छ । कतै मानवालाले खान्छ । कतै बेइमानवालाले खान्छ । त्यस्तो दानको के मान ? दान गर्नुको के औचित्य !
भनिन्छ – ‘दान दायाँ हातले गरेको बायाँ हातले थाहा नपाओस् ।’ तर अहिले लिने र दिनेको तमासा चल्छ । हामी दानलाई देखासिखीमा रूपान्तरण गरिरहेका छौँ । हाम्रो आँखा अघिल्तिर दान गर्नुपर्नेहरू छन् । यद्यपि हामी दानका लागि मान खोज्न अनेक संस्करण खोज्दै भौँतारिरहेका हुन्छौँ ।
यज्ञमण्डप दानको अर्को संस्करण हो ।
यद्यपि यज्ञमण्डपबाट निरन्तर यही आवाज घन्किरहन्छ ।
– दान !
– दान !
– अनि महादान !
कानमा यसरी निरन्तर ठोक्किरहन्छ– यो आवाज ।
त्यसैले तपाईंले कमाएको सम्पूर्ण सम्पत्ति दान गर्नुहोस् । दानले कसैलाई हानि गर्दैन । के दान नै सम्पूर्ण कुरा हो ?
– फेरि त्यही आवाज आउँछ
निरन्तर त्यही आवाज आइपुग्छ मेरा कानभित्र
“दान सबैभन्दा ठुलो धर्म हो । तपाईंले दिएको दानले तपाईंको मृत्युपछि नर्क रोज्ने कि, स्वर्ग भन्ने निर्धारण गर्छ ।”
अब तपाईं आफैँ रोज्नुहोस्– “नर्कवासी हुने हो कि, स्वर्गवासी ?”
जीवनपछि स्वर्गमा रहने चाहना छ भने– दान गर्नुहोस् ।
यी शब्दहरूले यज्ञमण्डपको पवित्रतामा आशङ्का उत्पन्न गर्छ । म दानको भग्न तस्बिर यत्रतत्र देख्न थाल्छु । दानको पवित्रता आँखा चिम्म गरेर महसुस गर्छु ।
यद्यपि म अर्को कुनै अलौकिक संसारको कल्पना गर्दिनँ । पृथ्वीभन्दा पर/यो आकाशभन्दा माथि/यो धरतीभन्दा तल वा यतै कतै यी मृतआत्माको बास हुन्छ भन्ने मेरो विश्वास छैन । मृत्यु एक प्राकृतिक प्रक्रिया हो बस् । मलाई ईश्वर र ईश्वरीय परिकल्पनाभन्दा हजारौँ गुणा प्रकृतिको लीला अनौठो लाग्छ । मृत्यु केवल प्रकृतिको एक परिघटना मात्रै हो । जन्ममृत्युको अर्को अनिवार्य शृङ्खला हो । यो सृष्टिका सबै चिज नाशवान् छन् ।
जे छ यही धरातलभित्र छ ।
जे हुन्छ– यही जन्ममा हुन्छ । कुनै ग्रहहरू होलान् । यो ब्रह्माण्डमा खोज्नुपर्ने ठाउँहरू हुन्छन् । वैज्ञानिकहरूको अनुसन्धान जारी होला । त्यो अर्कै कुरा तर पापी या धर्मात्माले बस्ने भूगोल पृथक् छ भन्नेमा मेरो मनले किमार्थ विश्वास गर्दैन । गर्नु पनि हुँदैन ।
स्वर्ग भन या नर्क !
यो त हाम्रो कल्पना मात्रै हो । फगत कल्पना । आख्यानको एक खण्ड मात्रै हो– स्वर्ग !
हामीले दान गर्दा कहाँ गरिरहेका छौँ ? हाम्रो दानको सदुपयोग कत्तिको हुन्छ ? यी कुरामा हेक्का राख्न जरुरी छ । भिडले के गर्छ, त्यो सही नहुन सक्छ । भिड अन्धो हुन्छ ।
भिडको पछिल्तिर कुद्नु भ्रान्ति मात्रै हो ।
सत्य हमेसा एक्लो हुन्छ ।
– के मानिस ईश्वरको दास मात्रै बनोस् ? यो संसारमा मानिसको जन्म ईश्वर भक्तिका लागि मात्रै हो त ?
म त किमार्थ मान्न तयार छैन ।
मानिसको विराट् चेतना दासी बन्न– हुँदै–होइन ।
मानिस दुःखमा छ । दुःख जीवनको कटु सत्य हो । जीवन छ र त दुःख छ । हरेक मानिसलाई दुःख आई पर्छ । बरु छायाले मानिसलाई छोड्ला । दुःखले छोड्दैन । गरिब हुन् या अमीर, छायाले कसैको साथ छोड्दैन । जहाँ गए पनि छाया उसको पछि लाग्छ । छाया त अँधेरोमा मात्रै अदृश्य हुन्छ तर दुःखले त अँधेरोमा पनि छोड्दैन । जीवनमा अनेकौँ दुःखसुख भोग्नु पर्छ । दुःखमा आत्तिनु र सुखमा मात्तिनु हुन्न । यो त प्रकृतिको नियति हो । धर्मकर्म जीवनको
लय मात्रै हो । नेपालीमा एउटा उखान छ – ‘शङ्कर सहाय छन् त भयङ्करको के डर ?’ यो उखान पनि बिप्ल्याँटो लाग्छ । मनले त्यो पनि मान्ने वाला छैन ।
मेरो मनले मानोस् नमानोस् लोक उसैको पछि छ ।
लोकमा पनि अनेक पाखण्डहरू छन् ।
म व्यासासनमा बसेका पण्डितजीतर्फ नजर लगाउँछु ।
– व्यासासनका पण्डितले ‘ज्ञान महायज्ञमा’ ज्ञानलाई भन्दा
‘दान’ लाई प्रश्रय दिएको प्रस्ट हुन्छ ।
अलिक पर एक अकिञ्चनभक्त आफूसँग दान गर्ने पैसा नभएकोमा दुःखी थियोे । उसले मनमनै सोच्यो–
“खै ? धर्म गरिबका लागि....!”
धर्म पनि कर्पोरेट हाउसमा छि¥यो ।
उसको उद्वेगपूर्ण नजर दाताहरूले लगाएको
दुबोका माला/प्रमाणपत्र/पन्चैबाजा र सम्मानमा सघन रूपले परेको थियो ।
यस्तो लाग्छ– व्यासासनबाट पुराणवाचक ज्ञान बाँडिरहेका छन् कि पैसा मागिरहेका छन् ?
व्यासासनका पण्डित अझै घुमीफिरी आर्थिक सङ्कलनमै प्रभाव पार्न सके महायज्ञको उद्देश्य पूरा हुन्छ भन्नेमा थिए ।
– धन त केवल हातको मैला हो । जति दियो उति बढ्छ । मुठी कसेर राखेको धन पापीले खान्छ । हाम्रो उखानै छ नि– ‘लोभीको धन पापीले खान्छ ।’ कति यस्ता उखान छन्– ती समाजप्रति अनुदार लाग्छन् ।
आँखामा पिरो धुवाँ बत्तिँदै आइपुग्छ ।
म आँखा मिच्दै झसङ्ङ हुन्छु । जीवन छोटो छ । हामीले गर्नुपर्ने अनेकौँ काम छन् ।
मृत्युको शाश्वत परिधानले कता कता तर्साउँछ । मन अलिक गरुङ्गो हुन्छ । सम्झन्छु– मृत्यु ! धर्म !! दान !!! यी सबै मानवीय लीला मात्रै हुन् । मानिसलाई मृत्युले निरन्तर लखेटिरहेको छ । मानिस मृत्युसँग कायल छ ।
हेर्छु– पशुपतिको घाटमा दर्जनौँ लास चिताग्नीको लाइनमा छन् ।
ती लासहरूमा जो पनि हुन् सक्छन् ।
– कवि
– पत्रकार
– उद्योगी
– गृहिणी
– कलाकार
– किसान
– बैङ्कर्स
– समाजसेवी
– दलाल
– नेता
– मजदुर
ती केवल पर्खिरहेका छन् चिताग्नी ।
एकैछिनको चिताग्नीले सबैलाई खरानीमा रूपान्तरित गरिदिन्छ । खरानीमा मानिसको अन्य कुनै अस्तित्व बाँकी रहने छैन । केवल खरानी !
मानिसको पद/दर्जा/सम्पत्ति/साना–ठूला अहम् अनि जीवनका अनेकौँ रौनक क्षण भरमै स्वाहा हुने छन् ।
महायज्ञ चलिरहेको छ ।
मानिसहरू दान अनुसारको सम्मान खाइरहेका छन् ।
फूलको माला/दुबोको माला/बग्गीमा सवा/पन्चैबाजाले स्वागत अनेकौँ सम्मान छन् ।
– पाँच हजारदेखि पच्चिसौँ लाख दान गर्नेहरू छन् ।
श्रद्धालु भक्तजनको घुइँचो छ । मानिसहरू निक्कै भक्तिपूर्वक व्यासासनको प्रवचन सुनिरहेका छन् । हरेक दशक मिनेट भजन हुन्छ । नृत्य हुन्छ । एकसुर एक तालमा भक्तजन भजनमा झुमिरहेका छन्– भक्तहरू निर्वाद छन् । उनीहरू एकैछिन भए पनि धर्ममा लिन छन् । जीवनका दुःखसाध्य भुलिरहेका छन् । आआफ्नो गच्छे अनुसार दान गरिरहेका छन् ।
भित्र कतै कुनामा लोभीहरू छन् । लोभीहरू भक्तजनको मनमाथि बल्छी फ्याँकिरहन्छन् ।
धन्दा गर्नेहरू पर्दाभित्र हुन्छन् । पर्दाबाहिर पनि हुन्छन् । अनेकौँ आवरणमा अवतरित ।
– आश्रम/वृद्धाश्रम/धर्मशाला/मन्दिर बनाउने अनेकौँ आवरण छन्– आयोजकको । श्रद्धालु भक्तजनहरू धर्मको आवरणमा हुने लुटबाट बेखबर छन् ।
मध्याह्न हुन्छ ।
ब्राह्मणहरू एक स्वरमा श्लोक वाचन गरिरहेका छन् । व्यासासनका पण्डित शौच गर्न शौचालय गए । शौचालय जाने क्रममा घाँटीमा लगाएको दुबोको माला खोले । रुद्राक्ष र तुलसीका कण्ठ माला खोल्छन् । त्यतिबेला सुनको सिक्री पनि खोलिएछ । फर्केर आएपछि यताउति हेरे, सिक्री कहीँ देखिएन । भिडभाडमा सिक्री कसले उछिट्यायो थाहा भएन । व्यासासनका पण्डित कालो निलो भए । उनले हराएको सिक्री यति तोला र उति तोलाको थियो भन्न थाले ।
उनको अनुहार कालो निलो देखिन्छ ।
अघिसम्म धनसम्पत्ति निरर्थक देख्ने पण्डितजीको वास्तविक आवरण पनि छर्लङ्गियो । आपत्मा यथार्थ तस्बिर देखिन्छ ।
वैभव केही हो ।
वैभव केही होइन् ।
भक्तजनको मस्तिष्कमा द्वन्द्व चर्कियो ।
यता केही भक्तजन छाँगाबाट खसे जस्ता भए । हामीले पनि उम्तेर धेरै दान गरिए छ कि के हो ? सम्पत्ति त सबैलाई प्यारो हुने रहेछ ! धेरैको दिव्यज्ञान खुल्छ । सम्पत्तिको अनुहार रातो हुन्छ । केही दाताको अनुहार पनि क्रमशः रातो हुँदै जान्छ ।
– पण्डितको मुखाकृति देखेर भक्तहरू झस्किरहे ।
अघिसम्म पण्डितजीको हृदयोन्माद पृथक् थियो । प्रवचनमा छट्टै रौनक थियो । अहिले त्यो भाषामा परिवर्तन आएको छ । अनुहारको आलोक निभेको छ । आँखाहरू कान्तिहीन भएका छन् । एउटा सिक्रीमै त यस्तो छ । बाँकी श्रीसम्पत्ति गुमाउनु परे के होला ! भक्तहरू मुखामुख गरिरहेका छन् ।
यज्ञमण्डपबाट मानिसमा विवेकको ढोका खुल्छ । ज्ञान र विवेक फरक कुरा रहेछन् । मानिस दानले होइन विवेकले चल्ने हो । जीवनको सबैभन्दा ठुलो सम्पत्ति त विवेक रहेछ । कतिपय मानिसले यस्तो दिव्यज्ञान प्राप्त भइरहेको देखिन्छ । यज्ञमण्डपबाट पुनः भजनको चर्को आवाज अनन्त आकाशमा फैलियो ।
भक्तहरूका दानको तीव्र आवेग अहिले शान्त छ ।
– मौन छ
– स्थिर छ
– चिसो भएर जमेको छ– दानको भग्न तस्बिर ।