• ९ मंसिर २०८१, आइतबार

बाँकेबाट सङ्घ र प्रदेशमा तीन मन्त्रीसहित ९९ काे मनाेनयन

blog

सत्ता गठबन्धनबाट क्षेत्र नम्बर १ मा उम्मेदवारी दिनुभएका मन्त्री गहतराज, केसी र थारु । तस्विर – सिराज खान

सिराज खान 

नेपालगञ्ज, असोज २५ गते । मङ्सिर ४ गते हुने निर्वाचनका लागि बाँके जिल्लाबाट तीन मन्त्रीसहित ९९ जनाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दिनुभएको छ । 

उम्मेदवारी दर्ता गराउनेहरुमा दुई जना सङ्घीय मन्त्री र एक जना प्रदेश सरकारका मन्त्री हुनुहुन्छ भने दुई जना महामन्त्री र सहमहामन्त्री हुनुहुन्छ । 

निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार क्षेत्र नं. १ मा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सत्ता गठबन्धन प्रतिनिधिको रुपमा प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिनुभएको छ । 

सोही प्रकारले सो क्षेत्रबाट नेकपा एमालेका सूर्यप्रसाद ढकालसहित ११ जनाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । बाँके १ ‘क’ प्रदेश सभा सदस्यमा कृष्णा केसी नमुनासहित १० जनाले उम्मेदवारी दर्ता गरेका छन् । बाँके १ ‘ख’ प्रदेश सभा सदस्यमा भने ७ जनाको उम्मेदवारी परेको छ । 

यस्तै बाँके क्षेत्र नं. २ मा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । सो क्षेत्रबाट सत्ता गठबन्धनको प्रतिनिधिको रुपमा नेपाली काँग्रेसका सुदीपनरसिंह राणा र एमालेको समर्थनमा राप्रपा महामन्त्री डा. धवलशम्शेर राणाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा १६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत नुमानन्द खनालले जानकारी दिनुभयो । 

खनालका अनुसार बाँके २ ‘क’ प्रदेश सभा सदस्यमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादवसहित १२ जना र बाँके २ ‘ख’ प्रदेश सभा सदस्यमा लुम्बिनी प्रदेश सरकारका वनमन्त्री सुरेन्द्र हमालसहित १२ जनाको उम्मेदवारी परेको छ । 

सोही प्रकारले बाँके क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरसहित १० जनाकोे प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी परेको निर्वाचन सहायक निर्वाचन अधिकृत लोकबहादुर रावलले बताउनुभयो । 

बाँके क्षेत्र नं. ३ ‘क’ प्रदेश सभा सदस्यमा नेपाल सरकारका पूर्वमन्त्री दलबहादुर सुनारसहित ९ जनाको उम्मेदवारी परेको छ । सुनारले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । बाँके क्षेत्र नं. ३ ‘ख’ प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसबाट संविधानसभा सदस्य बादशाह कुर्मीसहित १२ जनाको उम्मेद्वारी परेको छ । 

जिल्लाका ९ सिटका लागि उम्मेदवारी दिने ९९ जनामध्ये गत निर्वाचनमा विजयी अधिकांश सोही पदमा उम्मेदवार बनेका छन् भने केहीले उम्मेदवार बन्नकै लागि पार्टी फेरबदल गरेका छन् ।