• ९ मंसिर २०८१, आइतबार

बाढीले बगाउँदा रुखमा अड्किएका दुई युवकको सात घण्टापछि उद्धार

blog

बाढीले बगाउँदा रुखमा अड्किएका दुई जना युवकको उद्धार गर्दै सुरक्षाकर्मीहरु । तस्विर - सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, असोज २४ गते । बाँकेको खजुरा किरण नालामा आएको बाढीले बगाउँदा रुखमा चढेर ज्यान जोगाएका दुई जनाको सोमबार बिहान सुरक्षाकर्मीद्वारा उद्धार गरिएको छ । 

खजुरा गाउँपालिका २ के गाउँस्थित किरणनाला पार गर्न खोज्दा खोलामा आएको बाढीले बगाएपछि बबुरको रुखमा अड्किएर ज्यान जोगाएका दुई जनाको ७ घण्टापछि उद्धार गरिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ । 

विपद व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार भारतको केरलाबाट फर्किएका खजुरा २ का तेजबहादुर रोकाया र बारबर्दिया नगरपालिका बर्दियाका जनक चौधरीले सोमबार बिहान २ बजे खोला पार गर्न खोज्दा बाढीले बगाएपछि बबुरको रुखमा अड्किएर जोगिएका थिए । 

उनीहरुको बारेमा जानकारी पाएपछि स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा दुबैजनाको बिहान ९ बजे सकुशल उद्धार गरिएको सूचना अधिकृत ज्ञवालीले बताउनुभयो । 

भारतबाट फर्किएका उनीहरुले पानी घटेको अनुमान गरेर खोला पार गर्न खोज्दा खोलाको बहावले बगाएको थियो । तर, खोला बगेको ठाउँमा बबुरका ठूला रुखहरु समेत रहेकाले रुख समातेर ज्यान जोगाउन सफल भएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो ।