• ८ मंसिर २०८१, शनिबार

खड्ग जात्रा सञ्चालनमा समस्या

blog

भीमेश्वर मन्दिरमा पुगेर देखाइएको खड्ग जात्राको झलक ।

बाबुराम शर्मा

दोलखा, असोज २० गते । आर्थिक अभाव हुन थालेपछि ऐतिहासिक सहर दोलखामा परम्परागत रूपमा प्रत्येक वर्ष मनाइँदै आएको खड्ग जात्रा थेग्न मुस्किल हुँदै आएको छ ।  

देशमा गणतन्त्रको स्थापना भएपश्चात् गुठियारहरूले कुत बुझाउन छाडेपछि यो जात्रा सञ्चालन गर्न आर्थिक सङ्कट पर्दै आएकोमा भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले बाजागाजालगायतका लागि करिब साँढे तीन लाख रुपियाँ सहयोग गर्दै सञ्चालनमा आएको सचिव सुरेशकुमार श्रेष्ठले बताउनुभयो ।  

दोलखाली राजा इन्द्रदेव सिंहको कान्छो छोराको सन्तान भएको दाबी गर्नेवाला भन्छन्, पुर्खाको विसं १५९० मा मृत्यु भएपछि देखि यो जात्रा गुठियारकै कुतबाट चल्दै आएको थियो । कुत आउन छाडेपछि केही दिन व्यक्तिगत पैसा उठाएर जात्रा चल्यो । अहिले भीमेश्वरमा चढाएको बलीपूजाको पैसाले मुस्किलले चलेको छ । समितिबाट सहयोग नहुने हो भने कुनै दिन परम्परा तोडिन सक्ने आशङ्का रहेको छ ।

दोलखा मात्र नभएर देशकै परम्परा थेगिराखेको यो जात्रा सञ्चालन गरिरहन हामीलाई हम्मे हम्मे परिरहेको छ । दायित्व वहन नगरी सरकारबाट बेवास्ता हुँदा यो जात्रा थेग्न नसकिने समिति पूर्व अध्यक्ष श्रेष्ठले दुःखेसो पोख्नुभयो ।

सांस्कृतिक परम्परानुसार विजया दशमीको भोलिपल्ट एकादशीको बिहानदेखि बेलुकासम्म मनाउने यो जात्रामा सेतो दौरा, जामा र सेतै फेटा गुथेका पहिरनमा पहेँलो जमराको माला लगाई स्थानीय कुसुले बाजाका साथ ससाना बालकदेखि निकै वृद्ध उमेरका व्यक्ति तलमाथि खड्ग नचाउँदै नाच्ने गर्दछन् । 

किम्बदन्ती अनुसार दानवहरूले देवीदेवता एवम् मानिसलाई विभिन्न खाले दुख कष्ट दिन थालेपछि दानवराज महिषासुरको कसरी वध गर्ने भन्ने विषयमा देवताको बैठकपछि दानवमाथि युद्ध गर्ने निर्णयमा पुगी सोही मुताबिक साइत जुराई युद्धको आरम्भ भएको हो ।

युद्ध प्रारम्भको पहिलो दिन देवदेवीहरू विभिन्न बाजागाजाका साथ पूजासामग्री लिएर युद्ध निमन्त्रणाका साथै सहायताका लागि समुद्र सतहदेखि तिन हजार ६८६ मिटरको उचाइमा रहेकी कालिन्चोक भगवतीसमक्ष पुगी त्यहाँबाट आश्वासन पाएको बताइन्छ । 

यसरी आश्वासन प्राप्त भएपछि देवदेवीहरूले दोलखा सहरको राइती भन्ने ठाउँमा तिन धाराअगाडि यज्ञको सुरुवात गरेका थिए । यसै समयमा दानवहरू त्यहाँ आइपुगी यज्ञमण्डपलाई कुल्ची ध्वस्त पारे । यसपछिबाट नै देवीदेवता र दानवबीच युद्धको थालनी भएको मानिन्छ । 

यो युद्धको अन्तिम दिन विजया दशमीको दिन दानवराज महिषासुरको शिर छेदन गरी देवीदेवताहरूले विजय प्राप्त गरेकाले सोको खुसीयाली तथा सम्झनाका निमित्त यो जात्रा मनाइने प्रचलन रहेको बताइन्छ । 

यो जात्रा मनाउनका लागि यहाँको राजकुलेश्वर निमाविको स्थानदेखि केही तल रहेको चक्र डबलीमा नवमीको दिन पुजारीहरूबाट चामलको  भातबाट चक्रेश्वर बलिराजको मूर्ति बनाई स्थापनासमेत गरेर स्थानीय कुसुलेहरुबाट विधि पूर्वक राँगाको बलि दिइन्छ । कालरात्रिका दिन यहाँको प्रसिद्ध भीमेश्वरमा चार ओटा राँगा बलि चढाइन्छ । तीमध्ये एउटा राँगोको घाँटीको मासु ताछी वा नछिनाईकन भीमेश्वरको मन्दिरबाट तल रहेको त्रिपुरासुन्दरीसम्म लाने चलन रहिआएकै छ । यसरी गर्नुको कारण दानवराज महिषासुरलाई निकै ठूलो यातना दिई मारेको भन्ने रहेको यहाँका बुढापाकाहरू बताउँछन् । 

भीमेश्वरमा राँगाको बलि दिनुको तात्पर्य महिषासुर गणको वध गरेको मानिन्छ भने सो कार्यलाई नेवारी भाषामा हामिल्टी तिमिल्ठो भनिन्छ । 

टीकाको दिन साइत पारी युद्धमा जानुपर्ने तर त्यस दिन टीका थाप्ने कार्यमा व्यस्त हुनुपर्ने भएकाले बेलुका बाजागाजाका साथ युद्धको अभिनय गर्दै महिषासुरको नाममा कुभिण्डो काटिन्छ । एकादशीका दिन बिहानदेखि नै पुनः युद्ध थालिन्छ । युद्धनाचमा सामेल हुनेहरूमा मूल खड्गधारी र उनका अङ्गरक्षक दुई जना युद्धका निमित्त बोलाइएका चेलीबेटीका तर्फबाट तीन जना, मन्त्री तथा सेनापति हुने याकरगठ्ठा बसल र उनका साथ भीमवली बोक्नेसमेत रहन्छन् । 

याकरगठ्ठा सेनापतिले  उनीहरूलाई खड्ग थमाई युद्धमा प्रस्थान गर्न सङ्केत गरेपछि बाजागाजासहित राजकुलेश्वर मन्दिरबाट युद्ध अभिनयको नाच सुरु हुने गर्छ । 

चक्रमण्डप नक्छेटोलको बौद्ध चैत्य र कोर्छे टोलमा घमासान युद्धले भरिएको नाच प्रदर्शन गर्दै लडाइँका निमित्त गुर्कोट टोल र टँसिचा टोलमा पुगिन्छ । 

युद्धको क्रममा  थाकेको अनुभव भएपछि आफ्ना दलबलसहित सेना पिङ्गल टोलको बालकुमारीसमक्ष सहायता माग्न जान्छन् र बालकुमारीबाट सहायता मिलेपछि योद्धाहरू भीमेश्वर डोवर डबलीमा पुग्छन् र पुनः युद्ध सुरु हुन्छ । त्यहाँ चार जना दानवसेनाहरु फेला पर्छन् । तिनीहरूको प्रतिकस्वरुप चार ओटा राँगाहरूलाई सबै मिलेर खड्ग प्रहार गरी मार्ने चलन अद्यापि छँदै छ । 

यसरी विजय प्राप्त गर्दै अघि बढिरहेका सेनाहरू कालीको मन्दिरमा हुँदै त्रिपुरासुन्दरी पुगी सहयोग माग्छन् र त्रिपुरासुन्दरी भगवतीले नाबालक वटुकभैरवलाई युद्ध गर्ने तरिका बताइ दिएर घण्ट, डमरु, खड्ग चारहातमा थमाई दिएर राँगाको आन्द्राको  माला लगाई दिन्छन् भन्ने पनि किम्बदन्ती प्रचलित छ । 

यसपछि बटुकभैरवलाई अगाडि लगाई सेनाहरू टुँगलटोल हुँदै नागेश्वर मन्दिर, पिङ्गल टोलको महादेवस्थान, राजकुलेश्वरस्थान हुँदै अग्लो मण्डपमा चढ्दै चक्रराज बलिराजको मूर्ति स्थापना गरेको ठाउँमा पुग्छन् । 

भीमेश्वरस्थान, त्रिपुरासुन्दरीमा बलि दिइएको राँगाको टाउको यहाँ राखिन्छ र त्यो टाउकोलाई राजकुलेश्वर भगवती र बटुकभैरवले खड्ग प्रहार गरी शिर छेदन गर्दछन् । 

यसपछि सगुनबाजा बजाउँदै खुसी मनाउने चलन छ । त्रिपुरासुन्दरी र राजकुलेश्वरका पुजारीहरूले मन्दिरअगाडि बसेर टीका लगाई दिने प्रचलन अझै पनि रहेको  स्थानीय तीर्थनारायण जोशी बताउनु हुन्छ । 

स्थानीय जोशी करिब पाँच सय वर्ष अघिको मल्लकालीनजस्तो, किराँतकालीनजस्तो पनि लाग्ने यो जात्रा पौराणिकजात्रामध्येको जेठो भएकाले यसको संरक्षणमा सरकारले पनि चासो राख्नु पर्ने  बताउनुहुन्छ ।