• ९ मंसिर २०८१, आइतबार

भाइरल ज्वरोले बालबालिका र बृद्धबृद्धा प्रभावित

blog

भेरी अस्पताल बाँकेमा भाइरल ज्वरोका बिरामी उपचार गराउँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असोज १८ गते । मौसममा भइरहेको परिवर्तनका कारण अहिले बाँकेमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या बढ्दैगएको छ । असोज सुरुदेखि कहिले अत्यधिक गर्मी र कहिले सामान्य मौसम परिवर्तन हुँदा ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

डेंगुको प्रकोप पनि बढेपछि भाइरल भएकाहरू डेंगुको आशङ्कामा त्रसित बनेका छन् । ज्वरो आउनसाथ डेंगु परीक्षण गराउनेहरू बढेको पाइएको छ । भाइरलबाट बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भइरहेको अस्पतालका चिकित्सकले जनाएका छन् । 

नेपालगन्ज र कोहलपुरका निजी तथा सरकारी अस्पतालमा केही दिनयता भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीहरू आउनेक्रम बढेको र तीमध्ये बढी बालबालिका र बृद्धबृद्धा रहेको चिकित्सकले जनाएका छन् । 

भेरी अस्पतालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने, सिँगान निस्कने र पखाला समेत लाग्ने लक्षण देखिने बिरामीहरू अस्पतालमा  आउने गरेका छन् । ती मध्ये अधिकांश बालबालिका र बृद्धबृद्धा छन् । 

भेरी अस्पतालमा मात्र दैनिक दुई सयदेखि तीन सय जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । ती मध्ये केहीलाई डेंंगु समेत पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी डा. सङ्केत रिसालले बताउनुभयो । 

उहाँका अनुसार बालबालिका र बृद्धबृद्धामा बढी भाइरल ज्वरोको प्रकोप बढेको पाइएको छ । अस्पताल र क्लिनिकमा ज्वरो र टाइफाइडका बिरामी आउनेक्रम बढेको छ ।

मौसम परिवर्तन, दूषित पानी र खानपिनमा उचित ध्यान नपुर्‍याउँदा भाइरल ज्वरोको बिरामी बढेको चिकित्सकहरूको भनाइ छ । भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्ममा आफैँ निको हुने भए पनि अहिले डेंगु पनि फैलिएका कारण सचेत रहनुपर्ने सुझाव उहाँहरूको छ ।  

नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाइले शिक्षण अस्पतालमा मात्रै भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका पचासदेखि सय जनासम्म बिरामीहरू दैनिक आइरहेको बताउनुभयो ।  

नेपालगन्जमै भाइरलबाट सयौँ बालबालिका बिरामी रहेको जनाउँदै आफ्नो क्लिनिकमा मात्र तीसदेखि पचास जनासम्म भाइरलका बालबालिका उपचारका लागि दैनिक आउने गरेको वरिष्ठ बाल विशेषज्ञ डा. शकिल अहमदले बताउनुभयो ।