सिराज खान
नेपालगन्ज, साउन २० गते । भेरी साहित्य समाज केन्द्रीय समिति, भाषा तथा समालोचना विभागद्वारा नेपालगन्जमा एक विशेष साहित्यिक कार्यक्रम आयोजना गरी ‘दृष्टिविम्ब’ समालोचना सङ्ग्रहको विमोचन तथा चार वटा कृतिमाथि परिचर्चा सम्पन्न गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सन कुमार रेग्मी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य र वरिष्ठ लेखक नरेन्द्रजंग पिटर लगायतले समालोचक मीना बरालको ‘दृष्टिविम्ब’ समालोचना सङ्ग्रहको संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव रेग्मीले बाँकेका विभिन्न साहित्यकारका १६ वटा कृति समेटिएको समालोचना सङ्ग्रह ‘दृष्टिविम्ब’ को प्रकाशन आफैँमा महत्वपूर्ण कार्य भएको बताउनुभयो । सो अवसरमा वरिष्ठ लेखक नरेन्द्रजंग पिटर, प्राज्ञ महानन्द ढकाल र भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्र बस्नेतले समालोचनाको महत्व र दायित्वमाथि आआफ्नो धारणा राख्नुभयो ।
त्यसका साथै कार्यक्रममा डा. राजकुमार थारूको ‘थारू साहित्य र अन्य समालोचना’, लेकप्रसाद प्याकुरेलको ‘सम्यक् दर्शन’ र कवि इन्दिरा गौतमको ‘इन्दु’ कविता सङ्ग्रहमाथि विशेष परिचर्चा गरिएको थियो ।
परिचर्चा गर्ने विश्लेषकहरूमा लेकप्रसाद प्याकुरेल, ईश्वरीप्रसाद रिजाल, डा. पुष्कर रिजाल र डा. हरि तिमिल्सिना रहनुभएको थियो । उहाँहरूले सम्बन्धित कृतिहरूको साहित्यिक विशेषता, समालोचनात्मक धारणा र सामाजिक सन्देशमाथि विस्तृत रुपमा प्रकाश पार्नुभयो ।
चार दर्जनभन्दा बढी साहित्यप्रेमीको उपस्थिति रहेको सो कार्यक्रमको बीचबीचमा साङ्गीतिक र काव्यात्मक प्रस्तुतिहरु गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ गायक सुन्दर गुरुङले गीत प्रस्तुत गर्नुभएको थियो भने कविहरू प्रभात सुवेदी, चन्द्रावती अधिकारी, पद्मावती रिजाल, गीता अर्याल र अन्सर नेपालीले गजल, छन्द कविता र मुक्तक वाचन गर्नुभएको भेरी साहित्य समाज केन्द्रीय समिति, भाषा तथा समालोचना विभाग प्रमुख ईश्वरीप्रसाद रिजालले बताउनुभयो ।
सो कार्यक्रमको सहजीकरण डा. हरि तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रमले बाँकेको साहित्यिक अभियानमा नयाँ ऊर्जा थप्ने र समालोचनात्मक चेतनालाई विस्तार गर्ने कार्य गरेको भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्र बस्नेतले बताउनुभयो ।