• १२ साउन २०८१, शनिबार

शीर्ष नेताहरुको दशैँ

blog

काठमाडौं, असोज १८ गते । नेपाली हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड दशैँ घटस्थापनको दिनदेखि नै विधिवतरुपमा सुरु भएर नवाैं दिन महानवमी धुमधामका साथ मनाइँदैछ । नवौं दिनसम्म नवदुर्गा देवीको पूजा आराधाना गरेर यस वर्ष असोज १९ गते दशमीमा आफूभन्दा ठूलाबडाको हातबाट टीका तथा आशीर्वाद लिएर दशैं मनाउने परम्परागत चलन रहँदै आएको छ ।

नेपाल पञ्चाङ्क निर्णायक समितिका अनुसार आउँदो बुधबार ११ बजेर ५१ मिनेटमा टीकाको साइत छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले उच्चपदस्थ व्यक्तिहरु, मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट व्यक्तित्वहरुलाई अपरान्ह २ देखि ३ बजेसम्म टीका तथा प्रसाद ग्रहण गर्नुहुनेछ ।

यसैगरी, राष्ट्रपतिले इच्छुक सर्वसाधारणलाई अपरान्ह ३ देखि ५ बजेसम्म टीका तथा प्रसाद ग्रहणको कार्यतालिका रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कर्याालयका प्रवक्ता सागर आचार्यले प्रवेशद्वार नम्बर १ बाट सो कार्यक्रम हुने भन्दै मर्यादित पोशाकमा सहभागी हुन आव्हान गरिसक्नुभएको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भने यो वर्ष टीका तथा प्रसाद ग्रहणको कार्यक्रम छैन । प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले यो वर्ष टीका कार्यक्रम नरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाका सहाेदर भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दशैंँ टीकाका लागि सोमबार गृहजिल्ला झापा पुग्नुभएको छ । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाँईले उहाँले परिवारको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्न गृहजिल्ला पुग्नुहुने र असोज १९ गते टीका ग्रहणपछि काठमाडौं फर्किनुहुने कार्यतालिका रहेको जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले दशैँ, तिहार र छठ पर्वको अवसरमा मङ्गलबार गृहजिल्लामा शुभकामना आदानप्रदान कार्यक्रम राख्नुभएको छ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुमलटारस्थित निजी निवासमा यो वर्षको दशैँ मनाउँदै हुनुहुन्छ ।

प्रेस संयोजक सूर्यकिरण शर्माले अध्यक्ष दाहालको टीका लाउने तथा अरुलाई लगाउने कार्यक्रम नरहेको जानकारी दिनुभयो । तर परिवार, नेता, कार्यकर्तासँग भेटघाट तथा आगामी चुनावी तयारीको छलफलमा उहाँ व्यस्त हुनुहुने शर्माको भनाइ छ ।

यस्तै, सत्तारुढ नेकपा  (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नी कान्छी आमा शान्ता नेपालको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्नुहुनेछ । अध्यक्ष नेपालका कान्छी आमा कुपण्डोलस्थित निवासमा बस्दै आउनुभएको छ । यसबाहेक नेपालले कोटेश्वरस्थित निजी निवासमा घर, परिवारका सदस्यहरुलाई टीका तथा प्रसाद ग्रहण गर्नुहुने निजी सचिवालयले जनाएको छ ।

लोकतान्तिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रायः जसो गृहजिल्ला महोत्तरीमा साथीभाई, नेताकार्यकर्तासँग चाडवाड मनाउँदै आउनुभए पनि यो पटक राजधानीमा दशैँ मनाउँदै हुनुहुन्छ । हात्तिवनस्थित अध्यक्ष ठाकुरको निजी निवासमा पार्टीका नेता तथा कार्यकर्तालाई उहाँले टीका तथा प्रसाद ग्रहण गर्नुहुने निजी सचिवालयले जनाएको छ ।

प्रमुख दलका शीर्ष नेताले दशैँ तथा आउँदै गरेको तिहार, नेपाल संवत्, छठ जस्ता चाडपर्वको शुभकामना सन्देश प्रदान गर्नुभएकाे छ । यस वर्ष भने चाडवाडसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनतर्फ नेताहरुको ध्यान बढी केन्द्रित छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।