• २८ फागुन २०८२, बिहिबार

पुराना दलका उम्मेदवारलाई पार्टीको भन्दा बढी मत प्राप्त

blog

ताप्लेजुङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, फागुन २८ गते । ताप्लेजुङमा पुराना दलका उम्मेदवारलाई पार्टीको भन्दा बढी मत प्राप्त भएको छ । पुरानो दलका उम्मेदवारले पार्टीले प्राप्त गर्ने समानुपातिक प्रणालीतर्फको मतभन्दा बढी प्राप्त गरेका हुन् । 

पुराना दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले प्राप्त गरेको मतभन्दा ती दलका उम्मेदवारले बढी मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्कअनुसार पुरानो दलका उम्मेदवारले पहिलो हुने निर्वाचित हुने प्रणाली वा प्रत्यक्षतर्फ अर्थात उम्मेदवारले पाउने मत पार्टीको मतभन्दा बढी रहेको छ ।

नयाँ दलका रुपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीका उम्मेदवारले भने दलले पाउने अर्थात समानुपातिक तर्फको मतभन्दा न्युन पाएका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुरानो दल नेकपा (एमाले) का उम्मेदवार क्षितिज थेबेले १३ हजार ९६३ मत प्राप्त गर्नुभयो । फागुन २१ गते सम्पन्न चुनावमा निर्वाचित हुनुभएको थेबेले उक्त मत प्राप्त गर्दा सो पार्टीको समानुपातिकतर्फको मत भने ११ हजार ३४५ मात्र रहेको छ ।

एमाले पार्टीलाई प्राप्त भएको अर्थात समानुपातिक तर्फको मत प्रत्यक्षतर्फ थेबेले प्राप्त गरेको मतभन्दा दुई हजार ६१७ मत कम रहेको छ । त्यस्तै थेबेका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तर्फबाट प्रत्यासी बन्नुभएका गजेन्द्रप्रसाद तुम्याहाङले पनि पार्टीलाई प्राप्त भएको मतभन्दा दुई हजार ६८ मत बढी ल्याउनुभएको छ । तुम्याहाङले प्रत्यक्षतर्फ ११ हजार ७११ मत प्राप्त गर्दा समानुपातिकतर्फ पार्टीले प्राप्त गरेको मत नौ हजार ६४३ रहेको छ ।

पुरानो दलकै रुपमा रहेको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्री (पराग) ले पनि दलले प्राप्त गरेको समानुपातिक भन्दा बढी मत ल्याउनुभएको छ । प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएका बुडाक्षेत्रीले छ हजार ७७५ मत प्राप्त गर्दा नेकपाको समानुपातिकतर्फको तम पाँच हजार २१४ मात्र रहेको छ । दलले प्राप्त गरेको समानुपातिक मतभन्दा उम्मेदवार बुडाक्षेत्रीले एक हजार ५६१ मत बढी प्राप्त गर्नुभएको छ ।

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक मत छ हजार ४९५ रहेको छ । रास्वपाका उम्मेदवार वीरेन्द्र श्रेष्ठले चार हजार १५५ मत मात्र प्राप्त गर्नुभएको छ । रास्वपाको उम्मेदवार श्रेष्ठले प्राप्त गरेको मतभन्दा समानुपातिक मत दुई हजार ४४० मत बढी रहेको छ । 

त्यस्तै श्रम संस्कृतिका उम्मेदवार सन्तोष राईले प्राप्त गरेकोभन्दा सो दलको समानुपातिकतर्फ तीन हजार ४८९ मत बढी रहेको छ । श्रम संस्कृतिका तर्फबाट प्रत्यासी बन्नुभएका राईले पाँच हजार २०९ मत प्राप्त गर्दा दलले प्राप्त गरेको समानुपातिक मत आठ हजार ६९८ रहेको छ । अन्य दल उज्यालो नेपाल पार्टीका प्रत्यक्ष उम्मेदवार कीर्तिमान मादेनले २३२ ल्याउँदा सो पार्टीले पनि समानुपातिकतर्फ बाँसुरी एकल चुनाव चिन्हमा ३०२ मत आएको छ ।

त्यस्तै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार मुक्साम लाबुङले २२१ मत प्राप्त गर्दा मञ्चको समानुपातिक मत भने ५१० रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रत्यासी इन्द्रप्रसाद थापाको १८५ मत आउँदा पार्टीको समानुपातिक मत ४१५ रहेको छ । नेकपा (माओवादी) का नरपति पौडेललाई १५५ मत प्राप्त हुँदा सो दलको समानुपातिक मत भने ११९ मात्र रहेको छ ।

यसैगरी जनता समाजवादी पार्टीका प्रत्यासी अरुण सुब्बा लेछर्बोले १४१ मत प्राप्त गर्नुभयो । सो दलको समानुपातिक मत ११६ रहेको छ । जनता समाजवादी पार्टी नेपालका सूर्य तमूले पाएको ५५ मत भन्दा बढी समानुपातिक मत ११७ रहेको छ । मंगोल नेसनल अर्गनाइजेसनका प्रत्यासी सन्तबहादुर लिम्बूले ५० मत पाउँदा समानुपातिकमा एक मत कम अर्थात १९ रहेको छ ।

सबैभन्दा कम ४६ मत प्राप्त गर्नुभएका नेपाल जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बूको भन्दा सो पार्टीको समानुपातिक केही बढी अर्थात ५७ मत रहेको छ । ताप्लेजुङमा प्रत्यक्षतर्फ विभिन्न १३ दलका १३ जना उम्मेदवार रहेका थिए । समानुपातिकतर्फ विभिन्न ५६ दलले मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।