• २८ फागुन २०८२, बिहिबार

रुकुम पश्चिमबाट निर्वाचन प्रहरीको बिदाइ

blog

बिदाइपछि लिइएको सामूहिक तस्बिर । तस्बिर: राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, फागुन २८ गते । रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना भएका निर्वाचन प्रहरीको बिदाइ गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल नेपाल, ४७ नम्बर गुल्म रुकुम पश्चिमले उनीहरूको बिदाइ गरेको हो ।

निर्वाचन प्रहरीलाई प्रमाणपत्र र पुष्पगुच्छासहित टिका लगाएर बिदाइ गरिएको सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ९६ जना निर्वाचन प्रहरीलाई औपचारिक रूपमा धन्यवाद ज्ञापनसहित बिदाइ गरिएको हो ।

उक्त अवसरमा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक जगदीशचन्द्र हमालले विशिष्ट परिस्थितिमा भएको निर्वाचनको शान्ति, सुरक्षा र व्यवस्थापनमा निर्वाचन प्रहरीले अमूल्य योगदान दिएको बताउनुभयो । उहाँले हरेक नेपालीले राष्ट्रका लागि योगदान दिने महत्त्वपूर्ण अवसर निर्वाचन रहेको उल्लेख गर्दै जिम्मेवारी पूरा गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

निर्वाचन सम्पन्न गर्न बोकेको जिम्मेवारी अब समाजको हितमा समेत उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । असल मनका साथ गाउँघर र समाजको सेवा, विकास एवं समृद्धिमा योगदान दिन र निर्वाचन प्रहरी हुँदा सिकेको ज्ञान र सीप समाजमा लागू गर्नसमेत उहाँले अनुरोध गर्नुभयो ।

उहाँले निर्वाचन प्रहरीले पाउनुपर्ने सम्पूर्ण सेवा सुविधाहरू समेत उपलब्ध गराइसकिएको जानकारी दिनुभयो । बिदाइ कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामी, प्रहरी निरीक्षक झक्कुप्रसाद शर्मा, त्रिज माविका शिक्षक सुनील शाह, सशस्त्र प्रहरी कार्यालयका अधिकृतहरू र निर्वाचन प्रहरीहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नायब निरीक्षक मधु गौतमले गर्नुभएको थियो ।