• २८ फागुन २०८२, बिहिबार

महालक्ष्मी नगरपालिका परिसरमा धुम्रपान र मदिरा प्रतिबन्ध

blog

महालक्ष्मी नगरपालिका, धनकुटा ।

कविराज घिमिरे

हिले, फागुन २८ गते । महालक्ष्मी नगरपालिकाले आफ्नो कार्यालय परिसरभित्र धुम्रपान तथा मदिराजन्य पदार्थको बिक्री–वितरण र उपभोग पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ । नगरपालिकाको कार्यालय, जितपुर धनकुटाबाट जारी गरिएको पत्रअनुसार नगर कार्यपालिकाको बैठकले गरेको उक्त निर्णय कार्यान्वयन गर्न मातहतका सबै शाखा, उपशाखा, वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई निर्देशन दिइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईद्वारा हस्ताक्षरित पत्रमार्फत निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै निकायलाई जानकारी गराइएको हो । पत्रमा उल्लेख गरिएअनुसार महालक्ष्मी नगरपालिकाको कार्यालय, कार्यालय परिसर तथा नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका सबै कार्यालय र परिसरभित्र धुम्रपान गर्न तथा मदिराजन्य पदार्थको बिक्री–वितरण र सेवन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

नगरपालिका मातहतका कार्यालयमा यस्ता पदार्थको प्रयोग र गतिविधि अशोभनीय देखिएकाले यस्तो निर्णय गरिएको नगरप्रमुख ध्रुवराज रायाले जानकारी दिनुभयो । नगरपालिकाले उक्त निर्णय कार्यान्वयनका लागि सबै शाखा, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूलाई आवश्यक सहयोग र पालना गर्नसमेत अनुरोध गरेको छ ।