• २८ फागुन २०८२, बिहिबार

कम्बोडियामा रहेका नेपालीलाई दूतावासको सम्पर्कमा आउन आह्वान

कम्बोडियामा अलपत्र १६ नेपालीको उद्धार, स्वदेश फिर्ता

blog

काठमाडौँ,  फागुन २८ गते । मानव तस्करको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ। कम्बोडियामा अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएका तथा बिनाभिसा बसिरहेका उनीहरूलाई नेपाली राजदूतावास, बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएको हो। यस प्रक्रियामा गैरआवासीय नेपाली संघ कम्बोडियाले सहजीकरण गरेको छ ।

यसैगरी, अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई समेत नेपाल फर्काउने पहल भइरहेको छ।

कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी राजदूतावासलाई प्राप्त भएको भन्दै यस्तो अवस्थामा रहनुभएका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहज बनाउनका लागि नेपाली राजदूतावास, बैंकक वा गैरआवासीय नेपाली संघ, कम्बोडियाका निम्न प्रतिनिधिहरूलाई यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरेको छ ।

स्क्यामिङ केन्द्रहरूमा काम लगाइएका व्यक्तिको राहदानी कम्पनीले नै राख्ने गरेको वा केन्द्र स्थानान्तरण हुँदा राहदानी हराएको पाइएको छ। यस्तो अवस्थामा स्वदेश फर्किन चाहने नेपालीका लागि राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र  निजहरूको ठेगानामा पठाइदिने व्यवस्था गरेको छ। 


नेपाल सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका मुलुकमा भ्रमण भिसामा रोजगारीका लागि नआउन राजदूतावास पुनः अनुरोध गर्दछ। साथै, आमसञ्चार माध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन नेपाली राजदूतावास, बैंकक हार्दिक अनुरोध गर्दछ।