• २८ फागुन २०८२, बिहिबार

सडकमा प्रश्न उठाउनेदेखि नीति बनाउनेसम्म : हर्कराज राईको यात्रा

blog

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) । फाइल तस्बिर

निशा राई

धरान, फागुन २८ गते । सामाजिक अभियन्ताका रूपमा पहिचान बनाउँदै स्थानीय राजनीतिमा उदाउनुभएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) संघीय संसद्‍मा पुग्नुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उहाँको राजनीतिक यात्रा स्थानीय मुद्दाबाट राष्ट्रिय राजनीतिसम्म विस्तार भएको हो ।

गत २०७९ सालको स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको थियो । उक्त निर्वाचनसँगै धरानले पहिलो पटक स्वतन्त्र नगर प्रमुख पाएको थियो । नगर प्रमुखको जिम्मेवारी सम्हालेपछि उहाँले श्रमदानलाई पुनर्जीवित गर्दै विभिन्न जनअभियान सञ्चालन गर्नुभएको थियो ।

राईकै पहलमा धरान–२० स्थित कोकाहा खोलाबाट खानेपानी ल्याउने अभियान सञ्चालन गरिएको थियो । सो अभियानअन्तर्गत ९८ दिनसम्म निरन्तर श्रमदान गरी धरानमा पानी ल्याउन सफल भएको घटनालाई स्थानीय तहमा उल्लेखनीय अभियानका रूपमा लिइन्छ ।

गत भदौ २२ र २३ गते भएको 'जेनजी' आन्दोलनपश्चात् देशको राजनीतिक परिदृश्यले नयाँ मोड लिएको अवस्थामा राईले गत कात्तिकमा श्रम संस्कृति पार्टी स्थापना गर्नुभएको थियो । पार्टी स्थापना गर्दै उहाँ अध्यक्षको भूमिकामा आउनुभयो । युवाहरूको आन्दोलनले राजनीतिक सुधारको आवश्यकता उजागर गरेको भन्दै त्यसकै प्रतीकका रूपमा आफ्नो पार्टी उदाएको उहाँको भनाइ छ ।

प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन उहाँले धरान नगर प्रमुख पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि उहाँ सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवार बन्नुभयो । उहाँको पार्टीको राजनीतिक विचारधारा 'हर्कवाद' रहेको छ, जुन श्रम संस्कृतिमा केन्द्रित छ । यसले आत्मनिर्भरता, श्रमको मर्यादा र वैदेशिक परनिर्भरताको अन्त्यको वकालत गर्दछ ।

निर्वाचन परिणामअनुसार उहाँ ३५ हजार ७ सय ४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) ले २७ हजार २ सय ४९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राई ८ हजार ४ सय ९२ मतान्तरले विजयी हुनुभएको हो ।

श्रम संस्कृति पार्टी स्थापना भएको चार महिनामै प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ तीन सिट र समानुपातिक निर्वाचन प्रणालीमा आवश्यक 'थ्रेसहोल्ड' पार गरेपछि राष्ट्रिय पार्टी बन्न सफल भएको छ । सुनसरी–१ बाट पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई, भोजपुरबाट युवराज राई र खोटाङबाट ओरेन राई विजयी भएसँगै पार्टीले कोशी प्रदेशमा मात्र प्रत्यक्षतर्फ ३ सिट प्राप्त गरेको हो ।

निर्वाचनमा विजयी भएपछि राईले लोकतन्त्रमा कोही पनि नहार्ने बताउँदै सबै मतदाता र उम्मेदवारप्रति आभार व्यक्त गर्नुभयो । "हाम्रो पार्टीले सरकार चलाउने म्यान्डेट पाएको छैन । जनताले प्रतिपक्षमा बसेर गरिब, दुःखी र श्रमिक वर्गको आवाज उठाउन मत दिएका छन् । त्यसैले हामी प्रतिपक्षमा रहेर निरन्तर जनताको आवाज उठाउनेछौँ," उहाँले भन्नुभयो ।

निर्वाचनपछि आयोजित धन्यवाद र्‍यालीमा राईले परम्परागत खादा, माला र सम्मानको सट्टा सुझाव दिन मतदातासँग आग्रह गर्नुभयो । उहाँ सुझाव पेटिका बोकेर र्‍यालीमा सहभागी हुनुभएको थियो । मतदातालाई खादा, माला वा टोपीको सट्टा सुझाव दिन आग्रह गर्दै त्यसैका आधारमा काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

राईले आफ्ना समर्थकलाई व्यक्तिप्रति होइन, विचारप्रति जोडिन आग्रह गर्नुभएको छ । "भावना भनेको व्यक्तिसँग जोडिन्छ, हर्कराज राई मरेसँगै त्यो समाप्त हुन्छ, तर विचार भने अमर हुन्छ," उहाँले भन्नुभयो, "त्यसैले हर्कसँग होइन, श्रम संस्कृति पार्टीको विचारसँग जोडिनुहोस् ।"

चुनावअघि नै दार्चुलामा तुइनको सट्टामा झोलुङ्गे पुल निर्माण गर्ने आफ्नो सामाजिक सञ्जालमा लेख्दै आउनुभएकोमा उहाँ निर्वाचित भएलगत्तै १० रुपैयाँदेखि माथि जति पनि सहयोग गर्न सक्ने सबैलाई आग्रह गर्नुभयो । "दार्चुलामा पुलका लागि भौगोलिक, प्राविधिक स्थितिका लागि मानिस पठाइसकेको छु, सबै काम भएपछि श्रमदाताहरूको सहयोगमा काम सुरु गर्नेछौँ," उहाँले बताउनुभयो । त्यहाँ बाटो राम्रो नभएकाले मेसिनरी सामानको अभाव हुने हुँदा गिटी कुट्ने, जग खन्ने लगायतका काम बेल्चा, गैँती, खन्ती लगायतका औजारबाट श्रमदाताहरूले नै गर्नुपर्ने उहाँको भनाइ छ ।

"म धेरै बोल्छु भन्छन्, यो त केही होइन, अब संसद्मा योभन्दा १० गुणा बढी बोल्छु । देश बेच्ने, भ्रष्टाचार गर्नेहरूलाई संसद्भित्रै प्रश्न गर्नेछु," उहाँले भन्नुभयो।

नगर प्रमुखको पद मुख्यतः कार्यान्वयन गर्ने ठाउँ हो भने संसद् जनताको आवाज उठाउने स्थान हो । त्यसैले किसान, मजदुर, पिछडिएका वर्ग र दलित समुदाय लगायतका मुद्दा संसद्मा जोडदार रूपमा उठाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । "म सिंहदरबारको कुर्सी मात्र हेर्दिनँ, म दार्चुला जस्तो गाउँ–ठाउँ हेर्ने गर्छु र विकासका लागि संसद्मा आवाज उठाइरहनेछु ।"

राई लाहुरे परिवारमा जन्मनुभएको हो । उहाँका पिता तिलकविक्रम राई र माता जयमाया राई हुनुहुन्छ । राईले खोटाङको कोपिलासगढी गाउँपालिका–खाताम्छामा प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो । प्रवेशिका उत्तीर्ण गरेपछि उहाँ २०५६ सालतिर धरान झर्नुभएको हो । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्र विषयमा स्नातक तहसम्म अध्ययन गर्नुभएको छ ।

२०७२ सालमा धरान–१० स्थित धनकुटे रोड हुँदै चतरातर्फ सडक विस्तारका क्रममा स्थानीयवासी विस्थापित हुनुपर्ने अवस्था आएपछि राईले पीडितहरूसँग मिलेर आन्दोलन सञ्चालन गर्नुभएको थियो । सोही आन्दोलनपछि उहाँ सामाजिक अभियन्ताका रूपमा चिनिन थाल्नुभएको हो ।

श्रमदान अभियान र जनसहभागितामूलक विकासका कार्यहरू नै यस दलको स्थापनाको मुख्य प्रेरणा बनेको छ । पार्टीले 'जय माटो, जय श्रमदान' को नाराका साथ निर्वाचनमा भाग लिएको थियो । यसको अभियान अन्य दलको तुलनामा फरक र श्रमदानमा आधारित रहेको छ ।

खानेपानी, सरसफाइ, सडक सुधार तथा स्थानीय विकासका मुद्दामा सक्रिय रहँदै उहाँले श्रम संस्कृति पार्टी स्थापना गरी औपचारिक रूपमा दलगत राजनीतिमा प्रवेश गर्नुभयो । राजनीतिक दल र नेतृत्वप्रति प्रश्न उठाउने उहाँको शैलीका कारण पनि उहाँ चर्चामा रहनुभयो । सार्वजनिक स्थानमै उभिएर उहाँले पटक–पटक दलको सिद्धान्त, नेतृत्वको उत्तरदायित्व र जनप्रतिनिधिको भूमिकामाथि प्रश्न उठाउँदै आउनुभएको थियो ।

यसरी सामाजिक अभियान, सडक आन्दोलन, स्वतन्त्र नगर प्रमुख हुँदै संघीय संसद् सम्म पुग्नुभएका राईको राजनीतिक यात्रा अहिले राष्ट्रिय राजनीतिको चर्चाको विषय बनेको छ । सडकमा प्रश्न उठाउनेदेखि सुरु भएको यात्रा अब संसद्मा नीति बनाउने आवाजसम्म पुगेको छ ।