• १३ साउन २०८१, आइतबार

प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा अष्टमी मेला

blog

उग्रतारा मन्दिरमा अष्टमी मेला ।

पुष्कर भण्डारी

डडेल्धुरा, असोज १७ गते । सोमबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तर तर्फ रहेको मन्दिरमा अष्टमी मेला लाग्ने र राँगा बोको बली दिने प्रचलन रहेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिुभयो । उहाँका अनुसार अष्टमी मेलासंगै राँगा र बोकाको बली दिइ पूजाआजा गरिन्छ भने दशैँको दिन पनि भव्य पूजाआजा गरिन्छ ।

मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला तथा अन्य क्षेत्रबाट धार्मिक भक्तजन पुग्ने गरेका छन । उग्रताराको अष्टमी मेला राँगा, बोका काटिने तथा व्यापार व्यवसाय एवं आफन्तजनसँगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात छ ।

यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । नेपाल सरकारले पर्यटकीय स्थलको प्रवर्धनका लागि ओझेलमा परेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यमा अमरगढी उग्रतारा भगवती मन्दिरलाई पनि राखेको छ ।

किम्बदन्ती अनुसार करिब २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका–८ लटाउली गाउँ बस्ने साँकी जातिका स्थानीयले बारीमा हलो जोत्दै गर्दा हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन मिलेको थियो । त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको छ । लटाउली गाउँका साँकी र भट्ट जातिका पण्डित अहिले पनि पुजारी रहनुभएको छ । 

उग्रतारा मन्दिर विशाल फाँटमा छ । डाँडामाथि मन्दिर अवस्थित रहेकाले मन्दिरसम्म पुग्न ओरालो झर्नुपर्दैन । यस कारण पनि मन्दिरको गरिमा बढेको अध्यक्ष साँकीको भनाइ छ । 

उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको दिन महापूजा तथा ठूलो जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल पूर्णिमामा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचीनकालमा गर्खा, गर्खाबाट लडाकुहरुले आ–आफ्नो वीरतासाथ लडाइँ हुँदा रगतको खोला बग्ने जसलाई यहाँ न्वाखोलाको रुपमा नामकरण गरिएको छ ।