• २१ जेठ २०८१, सोमबार

कुलहरूसँगै बसेर खाने ‘कुछी भ्वय्’

महाअष्टमीमा केराको पातमा महाभोज खाँदै नेवाः समुदाय

blog

काठमाडौं, असोज १७ गते । विजयादशमी सुरु भएको आठौं दिन आज बेलुका नेवाः समुदायले ‘कुछी भ्वय्’ खाएर महाअष्टमी पर्व मनाउने चलन छ । नेपालभाषामा ‘कुछी’ अर्थात् दुई माना र ‘भ्वय्’को अर्थ भोज हो । आज महाअष्टमीको दिन नेवाः समुदायले केराको पातमा दुई माना चिउरासहित विभिन्न १२ थरीका मिष्ठान्न भोज तयार गरी खाने चलन छ । नेवाः समुदायमा ‘कुछी भ्वेय्’को ठूलो महत्व छ । 

संस्कृतिविद् ओम धौभडेलका अनुसार ‘कुछी भ्वय्’ ‘कुलछी भ्वय्’बाट अपभ्रंश भएको हो । ‘कुलछी भ्वय्’ अर्थात् कुलहरुसँगै बसेर खाने कुल भोज हो । नेपालभाषामा ‘ल’ को प्रयोग कम हुने भएकाले ‘कुलछी भ्वय्’बाट ‘कुछी भ्वेय्’ भन्न थालिएको उहाँ बताउनुहुन्छ । 

“कुछी भ्वय् महाभोज नै हो । नेवाः समुदायको मोहनी नख सुरु भएपछिको यो पहिलो भोज हो, जुन कालरात्री सुरु हुनुभन्दा पहिले नै खानुपर्छ,” उहाँ भन्नुहुन्छ, “जसरी देवदेवीहरुले शक्ति आर्जन गरेको हुन्छ । त्यसैगरी मानिसले पनि वर्षभरिका लागि शक्ति आर्जन गर्ने स्वरुपले ‘कुछी भ्वय्’ खाने चलन छ ।” 

मोहनी नखः वा दशैं सुरु भएदेखि नै कुछी भ्वय् खाने परम्परा सुरु भएको उहाँको भनाइ छ । 

नेपालमण्डलका जति पनि राज्यहरु थिए, ती सबै मोहनी नखसँग सम्बन्धित रहेको उहाँ बताउनुहुन्छ । प्रत्येक अष्टमात्रिका र शक्तिपीठबाट सुशोभित गरेर नगर बसाउने क्रममा तत्कालीन लिच्छवि शासकहरुले आराधना गर्ने क्रममा मोहनी नखःको सुरुवात गरेको पाइन्छ ।

केराको पातको महत्व

कुछी भोजमा सबैभन्दा महत्वपूर्ण सामान केराको पात हो । सबैभन्दा पहिले केराको पातमा चिउरा राखिन्छ । त्यसपछि सिङ्गो उसिनेको अन्डा, भटमास, माछाका साना सिद्रा, अचार, गेडागुडी आदि समयबजीका परिकार राखिन्छ । अनि तोरीको साग, सिसाफुसा (सलाद), मासुका तीनथरी परिकार ( सानो झोल परिकारको मासु, भुटन र तःकुला अर्थात् मासुको तास) राख्ने परम्परा छ ।

नेपालभाषामा तःकुकाे अर्थ ठूलो चोक्टा र लाको अर्थ मासु हो । यस्तै, यति व्यञ्जन राखेपछि अन्त्यमा, दही र मिठाइ राखेर भोज खाने काम सम्पन्न हुन्छ । यस्तै, पेयपदार्थको रुपमा जाँड, रक्सी, कत्थ्वँ पिउने परम्परागत चलन छ ।

उहाँ भन्नुहुन्छ, “पहिले पहिले थाल थिएन र यसरी आदिमकालमा वा सभ्यताको सुरुवातको समयमा आफूसँग भएको वस्तुलाई नै प्रयोग गरिन्थ्यो । त्यस समयमा ठूलो भोज खानका लागि केराको पात प्रयोग हुन्थ्यो ।” 

केराको पात ठूलो पनि हुने र यसमा धेरै परिकार पनि अटाउने । केरा यस्तो फल हो जुन हरेक शुभकार्य प्रयोग गरिन्छ र यो चोखो वनस्पतिमा समेत रहेको उहाँको भनाइ छ । 

यसबाहेक स्वास्थ्यका हिसाबले पनि केरोका पातमा खानु लाभदायी हुन्छ । जस्तै, दक्षिण भारतमा अहिले पनि केराको पातमा भात खाने चलन छ  । केराको पात यस महाभोजमा ठूलो आकारको थालको रुपमा प्रयोग भएको छ । उहाँका अनुसार मानिसको आहार नाप्ने तरिका पनि यस भोजलाई लिन सकिन्छ । 

नेवाः समुदायमा इन्द्रजात्रादेखि समयबजी खान सुरु हुन्छ । इन्द्रजात्रापछिको पहिले चाड नै ‘मोहनी नखः’ हो । यसरी दिनमा समयबजी खाने र भोज रातको समयमा खाने परम्परा छ । यसैलाई अँगालेर वर्षको पहिलो ठूलो भोज भएको कारण यसमा विभिन्न १२ थरीका परिकार राख्ने चलन नेवाः समुदायको मौलिक परम्परा हो । 

यस्तै, धौभडेल भन्नुहुन्छ, “कुछी भ्वय्भित्र पनि विविधता पाइन्छ । नेवाः समुदायमै पनि शाही थरीले सप्तमीको दिनमा कुछी भोज खाने चलन छ । कतिपय नेवाः समुदायले दशैंमा मात्र नभई देवालीमा पनि कुछी भोज खाने गर्छन् । आफ्नो जात र संस्कृतिअनुसार परम्परा छ ।” 

उहाँ थप्नुहुन्छ, ‘‘आजको दिन नेवाः समुदायले दुई माना चिउरा राखेर भोज खाने भएकाले दुई माना राख्नका लागि मानाको तलपट्टि रुमाल वा अरु केही राखेर दुई माना बनाउने गरिन्छ ।’’

यसरी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र नेवाः समुदाय बसोबास गर्दै आएका अन्य जिल्लामा कुछी भ्वय् खाने आ–आफ्नै चलन रहेको संस्कृतिविद् धौभडेल बताउनुहुन्छ ।