• १५ असार २०८१, शनिबार

दशैँमा काठमाडौँ महानगरपालिका चिटिक्क पारिँदै

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १५ गते । काठमाडौँ महानगरपालिकाले दशैँ पर्वका समयमा सहरी सरसफाइ र फोहोर व्यवस्थापनलाई नियमित गर्ने योजना बनाएको छ । वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईका अनुसार कर्मचारीको बिदा, पर्वमा उत्पादन हुने फोहोरको प्रकृति र ल्याण्डफिल साइटका स्थानीयको मागलाई व्यवस्थापन गर्दै फोहोर सङ्कलन, ढुवानी र अन्तिम विसर्जनको काम नियमित गर्ने योजना बनाइएको हो । 


‘स्थानीयहरुले अष्टमीदेखि एकादशीसम्मका चार दिन ल्याण्डफिल साइट बन्द गर्न अनुरोध गर्नुभएको छ । यसैअनुसार आज हामीले सहरको फोहोर सङ्कलन गरेका छौँ तर साइटमा पठाएका छैनौँ । दशैँमा कर्मचारीहरुलाई पनि आलोपालो खटाउनुपर्ने हुन्छ । त्यसैले निश्चित जनशक्ति परिचालन गरेर सरसफाई र फोहोर व्यवस्थापनलाई नियमित गर्छौँ ।’ विभागका प्रमुख राईले भन्नुभयो, ‘सफाइकर्मीलाई पर्व मनाउने अवसर उपलब्ध गराउन महानगरवासीको पनि योगदान रहन्छ । यसका लागि हामी अनुरोध गर्न चाहन्छौँ, कम फोहोर उत्पादन गरिदिनोस्, उत्पादित फोहोरलाई वर्गीकरण गरेर राख्नोस्, सफाइकर्मी नआउञ्जेल घरबाहिर फोहोर ननिकाल्नोस् ।’

विभागले दशैँका लागि सडक, मठमन्दिर, चोकलगायत सार्वजनिक स्थलहरुको विशेष सरसफाइ गरिरहेको छ । सरसफाइका लागि आज पनि कर्मचारीहरु बढार्ने, झार उखेल्ने तथा गोडमेल गर्ने, पानी तथा चुन छर्किने काम भइरहेको छ । वडाहरुको ८ वटा समूहमा विभाजन गरेर त्यस क्षेत्रको फोहोर व्यवस्थापनमा सहभागी निजी कम्पनी तथा सङ्घ संस्थालाई सहभागी गराएर सरसफाइ चलाइएको हो । 

निजी तथा गैरसरकारी सङ्घ संस्थाहरुको योजना 

सहरको फोहोर व्यवस्थापनमा आबद्ध निजी तथा गैरसरकारी कम्पनी तथा सङ्घ संस्था पनि ल्याण्डफिल साइट सञ्चालन भए कामलाई निरन्तरता दिने बताएका छन् । महानगरले दिएको निर्देशन पालना गर्छौँ । नेप्सेम्याकका अध्यक्ष टीका दाहाल भन्नुहुन्छ, ‘हामीले कर्मचारीहरुको बिदालाई सिफ्टमा आलोपालोमा मिलाएका छौँ ।


सङ्कलित फोहोर व्यवस्थित गर्न हामी हाम्रा संयन्त्र परिचालन गर्न सक्छौँ ।’ दाहालले भन्नुभयो, ‘हामीले फोहोर उत्पादकलाई कुहिने र नकुहिने फोहोर छुट्टाएर छुट्टाछुट्टै प्लाष्टिक वा बोरामा राख्न अनुरोध गरेका छौँ । फोहोर ढुवानी गर्दा प्रकृतिअनुसार फरक फरक दिन र सवारीमा गर्छौँ ।’