• ८ मंसिर २०८१, शनिबार

दशैँमा मातृशक्तिको उपासना

blog

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विगत दुई वर्षको दशैँ खल्लो भयो। पारिवारिक मिलनको यो अभूतपूर्व पर्वको उल्लासय वातावरण यस वर्षबाट भने फर्केको छ। घरघरमा जमरा राखेर घटस्थापना गरी दशैँको स्वागत भइसकेको छ। सहरबजारबाट आ–आफ्नो थातथलोमा फर्कनेको भीड सुरु भइसकेको छ भने राम्रो लगाउने र मीठो खाने पर्व पनि भएकाले बजारहरूमा चहलपहल बढेको छ। दशैँ मुलुकका अर्थतन्त्रलाई चलायमान बनाउने पर्व पनि हो। बडादशैँ अहिले उठाउने गरिएको लैङ्गिक विभेदविरुद्ध मातृशक्तिको अपार महत्व दर्शाउने प्रमाणित पर्व हो। नौ दिनसम्म नौवटा देवीको पूजा आराधना गरेर मनाइने दशैँ ऋतु, प्रकृति र मातृ शक्तिको महिमा गाउँदै नतमस्तक भएर भक्ति गर्ने यो पर्वले महिला पुरुष समान मात्र होइन पुरुषभन्दा महिला धेरै अघि छन् भन्ने सन्देश दिन्छ। विजया दशमीका रूपमा लगाइने टीका र जमरा मातृशक्तिको सुरक्षाकवचका रूपमा लिइन्छ। 

पूर्वीय सभ्यता मातृसत्तात्मक थियो र धार्मिक–सामाजिक अनुष्ठानहरूमा यो परम्परा अझै कायम छ भने महिलाले आफूले आफूलाई चिन्न नसकेको भन्न कुनै अप्ठ्यारो पर्दैन। यसको ज्वलन्त उदाहरण दशैँ हो। दशैँमा घरघरमा मातृशक्तिको उच्च गुणवत्ता, शक्ति र सामथ्र्यको महिमा गाउँदै पुरुषले नतमस्तक भएर उपासना गर्नुलाई लिन सकिन्छ। दशैँमा आद्यशक्तिका रूपमा दुर्गा भवानी, महाकाली, महालक्ष्मी, महासरस्वतीको अनुष्ठान, पठनपाठन, होमादि कार्य उल्लासमय वातावरणमा सम्पन्न हुन्छन्। विजया दशमीको शुभकामनाको यो परम्परामा मान्यजनबाट आशीर्वाद लिने र स्नेह दिने गरिन्छ। साथै नौ दिनसम्म जीवनको सुरक्षार्थ कवचका रूपमा ‘दुर्गाकवच’ पाठ गरिन्छ। यसैबाट स्पष्ट छ, यो भूखण्डका पुरुषवर्ग मातृशक्तिप्रति समर्पित र मातृशक्तिमै निर्भर रहेर जीवनयापन गर्न अभ्यस्त थिए र छन् पनि। किनभने नौ दिनसम्म भूगोलको चारै दिशादेखि हाम्रा शरीरका विभिन्न अङ्गको विभिन्न देवीले रक्षा गरून् भन्दै दुर्गाकवच पाठ गरिन्छ। 

पूर्व दिशातर्फ ऐन्द्रिदेवीले, आग्नेय कोणतर्फ अग्नि शक्तिले, दक्षिण दिशातर्फ वाराही देवीले, नैऋत्यकोणतर्फ खड्गधारिणी देवीले, पश्चिम दिशातर्फ वारूणी देवीले, वायव्य कोणतर्फ मृगवाहिनी देवीले, उत्तरदिशामा कौमारी देवीले, इशान कोणतर्फ शूलधारिणी देवीले, माथिपट्टि ब्रह्माणी देवीले, तलतिर वैष्णवी देवीले, दसै दिशामा चामुण्डादेवीले, अगाडिबाट जयाले, पछाडिबाट विजयाले, बायाँतर्फ अजिताले, दायाँतर्फ अपराजिताले शिखाको उद्योतिनीले शिरको उमाले, निधारको मालाधरीले रक्षा गरून् भनेर स्तुति गरिन्छ।

यसैगरी, आँखीभाैँको यक्षस्वतीले, निधारको मध्यमागमा त्रिनेत्राले, नाकको प्वालको यमघण्टाले, आँखाको बीचमा शङ्खिनीले, कानको द्वारवासिनीले, गालाको कालिकाले, कानको शाङ्करीले, नाकको सुगन्धाले, माथिल्लो ओठ चर्चिकाले, तल्लो ओठ अमृतकलाले, जिब्रोको सरस्वतीले, दाँतको कौमारीले, कण्ठको चण्डिकाले, चित्रघण्टाले रूद्रघण्टीको, तालुको महामायाले, चिउडोको कामाक्षी र सर्वमङ्गलाले वाणीको रक्षा गरून् भनेर स्तुति गरिन्छ ।

यसरी नै भद्रकालीले घाँटीको, धनुर्धारीले मेरूदण्डको, घाँटीको बाहिर नीलग्रीवाले र घाँटीको नसानसामा नलकुवरीले रक्षा गरून् भनिएको छ। खड्गिनीले काँधको, बज्रधारिणीले पाखुराको, दण्डिनीले हातको, अम्बिकाले औँलाहरूको, सुलेश्वरीले नङको र कुलेश्वरीले कोखा (काखी)को रक्षा गरून् तथा महादेवीले स्तनको, शोक विनासिनीले मनको, ललिताले हृदयको, शूलधारिणीले भुँडीको रक्षा गरून् भनेर पाठ गरिन्छ। 

त्यस्तै कामिनीले नाभीको, गुहेश्वरीले गुह्य भागको, पुतना र कामिकाले लिङ्गको, महिष वाहिनीले गुदद्वारको, भगवतीले कम्मरको, विन्ध्यवासिनीले घुँडाको, महाबलाले तिघ्राको, नरसिंहीले गोलीगाँठाको, तेजसीले पाउको, श्रीदेवीले पृष्टभागको, तलवासिनीले पैतालाको रक्षा गरून् भन्ने गरिएको छ। त्यसैगरी, पार्वतीले रगत, मज्जा, बोसो, मासु, हाड र मासी कालरात्रिले आन्द्रा, मुकुटेश्वरीले पित्त, पद्मावतीले मूलधारदेखि सहस्रारसम्मका कमल कोशको रक्षा गरून् भनिन्छ। पशुहरूको रक्षा चण्डिकाले, छोराको रक्षा महालक्ष्मीले, पत्नीको रक्षा भैरवीले, बाटो हिँड्दा सुपथाले, राजमार्गमा क्षेमकरीले, राजभवनमा महालक्ष्मीले, सम्पूर्ण प्रकारका भयबाट त्राण दिन विजयाले रक्षा गरून् भन्ने गरिन्छ। त्यसैले शास्त्रहरूले महिलालाई उच्च स्थान दिएको छ– शक्ति, सामथ्र्य र दायित्व निर्वाहका लागि अनि यसैको भक्तिस्वरूप पनि दशैँ मनाइन्छ। पौराणिक मान्यताको यो वास्तविकता संस्कृत साहित्यमा लिपिबद्ध भएको छ र व्यवहारतः हरेक चाडपर्वमा नारीलाई उच्च स्थान दिने गरेकै छ। 

विडम्बना यो मान्यता, सम्मान र स्थान चाडपर्वमा नै सीमित भएको पाइन्छ। राज्यदेखि घरसम्म नै यस्तै व्यवहार छ। वास्तविकता के हो भने आफ्नो शक्ति आफैँले चिन्न नसकेर आजभोलि महिलाहरू हेपिएको, दबिएको, दासत्व स्वीकार्न बाध्य भएको अनेक फुर्कावाला आरोप र टिप्पणी गर्ने पश्चिमाहरूको नाराको पछि कुदेर सांस्कृतिक अतिक्रमणलाई निम्ता दिइरहेका छौँ। आजभोलि मातृशक्तिको महिमा पनि गाउने तर आफ्नो शक्ति आफैँ नचिन्ने अवस्था छ। जबसम्म मानिसले आफ्नो क्षमता चिन्न सक्दैन तबसम्म ऊ अरूको दयाको पात्र बनिरहन्छ। 

पश्चिमाले घोकाइदिएको स्वतन्त्रताको पाठ पढेर नेपाली महिला कहिल्यै माथि पुग्दैनन्। यसका लागि आफूले आफूलाई चिन्नुपर्छ। लक्ष्मी, सरस्वती र दुर्गाको एउटै रूप मै हुँ र ममा नै सबै शक्ति र अधिकार निहित छ भन्ने चेतना जागृत हुनु आवश्यक छ। यी पौराणिक कुराहरूलाई मनन गर्ने हो भने महिलाले चर्चामा ल्याउने गरिएका महिला अधिकारका समस्या स्वतः समाप्त भएर जान्छ। महिलामा शक्ति छ, ज्ञान छ र धन पनि छ भने उनीहरू किन कमजोर र कसरी कमजोर ? कुनै पनि चाडपर्व मनाउनुको विशेष अर्थ हुन्छ। दशैँको अर्थ मातृशक्तिको उपासना हो र मातृशक्ति नै सबैभन्दा बलशाली हुन्छन् भन्ने प्रमाण पेस गर्नु हो। 

सृष्टि संरचनाको रक्षा र यसलाई चलायमान बनाउन मातृशक्तिकै निर्णायक भूमिका हुन्छ। दशैँको तात्त्विक विशेषता भनेको यो प्रकृति र सृष्टि संरचनासंग सिधै सम्बन्ध भएको पर्व हो। दशैँको जमरा, दही र अक्षताको टीकाको आफ्नै विशेषता छ। जमरा मानव स्वास्थ्यका लागि अति लाभदायक छ भन्ने वैज्ञानिक प्रमाण बाहिर आएपछि आजभोलि यसको व्यापार नै फस्टाएको छ। विभिन्न किमिसका रोग लागेकाहरू जमराको रस पिउने गर्दछन्। जमरालाई शिरमा राख्ने संस्कृतिको विकास हुनु दशैँ खाने–पिउने मात्र नभएर स्वास्थ्यको दृष्टिकोणले पनि महत्वपूर्ण रहेछ भन्ने पुष्टि हुन्छ।