• ९ मंसिर २०८१, आइतबार

पूर्व महानिरीक्षक खनाल एमाले प्रवेश

blog

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा (एमाले) प्रवेश । तस्बिर : विकास द्वारे

काठमाडौं, असोज ६ गते । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा (एमाले) प्रवेश गर्नुभएको छ ।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गर्नुभएको हो । एमाले प्रवेश गर्दै पूर्वआइजीपी खनालले अध्यक्ष ओली जत्तिको नेपालमा अर्को कुनै नेता नभएको बताउनुभयो ।


उहाँले प्रहरी जागिर खाँदादेखि आइजीपी हुँदासम्म ओलीको भाषणबाट प्रभावित भएको बताउनुभयो ।

खनालले राष्ट्र र नेपाली नागरिकप्रतिको भूमिकाप्रति सम्मान गर्दै अध्यक्ष ओलीको छत्रछायाँमा काम गर्ने इच्छा जागेर एमाले प्रवेश गरेको स्पष्ट पार्नुभयो । उहाँले प्रहरी सेवामा आफ्नो कार्यकालमा प्रधानमन्त्री भएको बेला अध्यक्ष ओलीले राम्रा काममा मात्रै सघाएको बताउनुभयो । खनालले अध्यक्ष ओली सम्पूर्ण प्रहरी कर्मचारीको आशाको केन्द्र रहेको दाबी गर्नुभयो ।


उहाँले भन्नुभयो, “मैले करिब सात वटा प्रधानमन्त्री फेरेँ । मैले उहाँका धेरै कुरा देख्न पाइनँ, मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेटिनँ । म उहाँका कुराबाट प्रभावित हुन्थेँ । अध्यक्ष कमरेडले राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उहाँको पार्टीमा प्रवेश गरेको हुँ । सम्पूर्ण गतिविधिहरू नचाहिने गतिविधि, आतङ्ककारी गतिविधि, उच्छृङ्खल गतिविधिदेखि लिएर विभिन्न उल्लेखनीय काम गर्ने चेष्टा राखेर काम गर्दा राम्रा कामबाहेक नराम्रा कामलाई कहिल्यै प्रश्रय नदिने भन्ने विश्वास लिएको छु ।”

उहाँले आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको पार्टीको सदस्यता लिन पाउँदा खुशी लागेको बताउनुभयो ।