बाजुरा , असोज ६ गते । बाजुराको कोल्टीमा रहेको स्वास्थ्य केन्द्रमा औषधिको अभाव हुन थालेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या लिएर दैनिक एक सयभन्दा बढी बिरामी आउने गरे पनि औैषधि अभावले उपचारमा समस्या भएको छ ।
स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने बिरामीले अहिले सिटामोलसम्म नपाउँदा थप सास्ती भोग्नुपरेको छ । बाजुराको कुन्ना क्षेत्रलगायत छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पछिल्लो समय औषधि अभावले उपचारमा समस्या भएको स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य केन्द्रमा भएको औषधि सकिएको र अन्य औषधि ढुवानी नभएका कारण अभाव सिर्जना भएको हो ।
सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा सेवाग्राही निजी मेडिकल धाउने गरेको स्थानीयको गुनासो छ । नसासम्बन्धी समस्या लिएर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुग्नुभएका बूढीनन्दा नगरपालिका–५, बिर्सैनका घमण्डराज उपाध्यायले औषधि नपाएको गुनासो गर्नुभयो ।
डाक्टरले जाँच गरेर उहाँलाई १३ प्रकारका औषधि खान भनेका छन् तर स्वास्थ्य केन्द्रमा कुनै पनि औषधि नभेटिएको उहाँको भनाइ छ ।
स्वास्थ्य केन्द्रमा प्रायः बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, वाकवाकी लाग्नेजस्ता लक्षण भएका बिरामी आउने गरेका छन् । बूढीनन्दा नगरपालिकाले भने स्वास्थ्य केन्द्रमा औषधि र डाक्टरको व्यवस्थापनको काम भइरहेको नगर उपप्रमुख रामबहादुर बोहोराले बताउनुभयो ।