• १३ साउन २०८१, आइतबार

घर नक्सा पास अनिवार्य

blog

डडेल्धुरा, असोज ६ गते । डडेल्धुराको आलीताल गाउँपालिकाले नक्सा पास नगरी भौतिक निर्माण गर्ने व्यक्ति तथा संस्थालाई कारबाही गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकबाट सो निर्णय गरेर मङ्गलबार सूचना सार्वजनिक गरिएको छ । 

गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका क्षेत्रमा निर्माण भइरहेको तर नक्सा पास नभएका भवनलगायत भौतिक संरचनाहरूका लागि सो सूचना जारी गरिएको आलीताल गाउँपालिका डडेल्धुराका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नाले बताउनुभयो ।  चालू वर्षको पुस मसान्तभित्र सम्बन्धित घरधनीहरूबाट दरखास्त आह्वान गरेर पेस भएका निवेदनमाथि छानबिन गरी अभिलेखीकरण गर्ने प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाले बताउनुभयो ।

गाउँपालिका क्षेत्रभित्रका भवन निर्माणका लागि पालिकाको स्वीकृत अनिवार्य रूपमा दिएर मात्र निर्माणकार्य सुरु गर्न पालिकाभित्रका सम्पूर्ण घरधनी तथा भवन निर्माताला  सूचित गरिएको ठगुन्नाले बताउनुभयो । 

घरधनीहरूलाई भविष्यमा सजिलो होस् भन्ने हेतुले घर नक्सा पास अनिवार्य गर्ने निर्णय गरिएको आलीताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले बताउनुभयो । अध्यक्ष पार्कीले भन्नुभयो, “बिनामापदण्ड घर निर्माण हुनाले विपत्तिका घटना बढ्ने भएकाले नियमपूर्वक घर निर्माण गर्न गराउन नक्सा पास अनिवार्य छ । पछिल्लो समय आलीताल गाउँपालिकालगायत अन्य पालिकामा व्यक्तिगत तथा समुदाय स्तरका पूर्वाधार निर्माण कार्य बढ्दो क्रममा छन् ।”