• ४ असार २०८१, मङ्गलबार

सयभन्दा बढी झोलुङ्गे पुल बन्दै

blog

हेटौँडा, असोज ६ गते । बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले झोलुङ्गे पुलसम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ।

निर्देशनालयले बागमती प्रदेशको धादिङ, चितवन, मकवानपुर, काभ्रे र रामेछाप जिल्लाका २० स्थानीय तहका झोलुङ्गे पुल सम्पर्क व्यक्ति इन्जिनियर र सब–इन्जिनियरलाई तालिम प्रदान गरेको हो।

ट्रेल ब्रिज सपोर्ट युनिटको प्राविधिक सहयोगमा भएको नौदिने तालिममा झोलुङ्गे पुल कार्यक्रम कार्यान्वयन, पुरानो भएका झोलुङ्गे पुलको मर्मत–सम्भारलगायतका विषयमा तालिम प्रदान गरिएको निर्देशनालयका प्रवक्ता एवं तालिम संयोजक हरि ओझाले जानकारी दिनुभयो।

उहाँका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा बागमती प्रदेशका विभिन्न जिल्लामा प्रदेश सरकारको सहयोगमा सात र सङ्घीय सरकारको अनुदान सहयोग, स्थानीय सरकारको लागत सहभागिता र उपभोक्ताको जनश्रमदान गरी ८५ वटा झोलुङ्गे पुल कार्यक्रम सञ्चालन भएको थियो। सङ्घीय सरकारको ८५ प्रतिशत अनुदान सहयोग, स्थानीय सरकारको १३ प्रतिशत लागत सहभागिता र उपभोक्ताको दुई प्रतिशतबराबरको जनश्रमदान रहने झोलुङ्गे पुल निर्माणमा प्रदेश सरकारले प्राविधिक सहयोग पु¥याउँदै आएको छ। 

प्रदेशका विभिन्न जिल्लामा गरी हाल २०४ वटा झोलुङ्गे पुल कार्यक्रम सञ्चालनमा रहेकोमा चालू आर्थिक वर्षमा सङ्घीय सरकारको अनुदान सहयोगसहित स्थानीय तहमार्फत १०८ वटा र प्रदेश सरकारले सात गरी ११५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तत्काल पक्की पुल निर्माण सम्भव नभएका स्थानमा झोलुङ्गे पुल निर्माण र सञ्चालन गरी स्थानीय स्तरमा भरपर्दो यातायात सेवा पु-याउने उद्देश्यसहित प्रदेश सरकारले झोलुङ्गे पुल रणनीति–२०७८ बनाएको छ। 

स्थानीय जनतालाई पैदलमार्गमा नदी, खोला तथा खोल्चा तर्न आवश्यक र सम्भाव्य स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने, निर्माण सम्पन्न भइसकेका झोलुङ्गे पुलको नियमित मर्मत–सम्भार र संरक्षण गरी आधारभूत स्तरको यातायात सेवा उपलब्ध गराउने, झोलुङ्गे पुल कार्यक्रम कार्यान्वयनमा स्थानीय तहलाई आवश्यक सहयोग र समन्वय गर्ने झोलुङ्गे पुल रणनीतिमा उल्लेख छ।