• ७ पुस २०८१, आइतबार

राजेन्द्र र आनन्द पहिलो

blog

खुला टेबलटेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज ५ गते । गोड स्पिनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा पहिलो हुनुभएको छ । पुरुष भेट्रान सिंगल्सको ५० वर्षमाथि राजेन्द्र र ६० वर्षमाथि आनन्द पहिलो हुनुभएको हो 

काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) द्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा बुधबार भएको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनिज पिङपोङ क्लबका कपुर शर्मा पौडेललाई ११–८, ८–११, १२–१०, ११–३ को सेटमा हराउनुभयो । ललितपुरका किरण व्यञ्जनकार र एनिजका प्रकाश धाक्वा तेस्रो हुनुभयो । 

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको ६० वर्षमाथि फाइनलमा आनन्दले आदर्श विद्या मन्दिर (एभीएम) का मदन आचार्यलाई ११–२, ११–४, ११–७ को सोझो सेटमा हराउनुभयो । डिल्लीबजारका पुण्य पौडेल र कान्तिपुर भ्याली पिङपोङ क्लबका जगदीश्वरप्रसाद जोशी तेस्रो हुनुभयो ।

जुनियर गर्ल्स यू–१९ सिंगल्समा मोर्डन कलेजकी दिया देउलाले नेपाल आर्मीकी सुस्मिता खड्कालाई १७–१५, १४–१२, ११–७ तथा एपीएफकी वियंका राईले केकेएम/एनआरटीकी अन्जु सुवाललाई ११–८, ११–७ र ११–६ को सीधा सेटमा पाखा लगाउँदै फाइनलमा स्थान बनाउनुभयो । 

सोही स्पर्धाको ब्वाइजमा मकवानपुरका विशाल गोले, केकेएम/एनआरटीका धनन्जय दाहाल र हिमाल विष्ट तथा एपीएफका रुविन महर्जन सेमिफाइनलमा पुग्नुभएको छ ।