काठमाडौं, असोज ५ गते । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि विजेता बङ्गलादेश महिला टोलीलाई बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले ५० लाख टाका पुरस्कार दिने घोषणा गरेको छ ।
बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले महिला फुटबल खेलाडीले राष्ट्रको गौरव बढाएको भन्दै उक्त पुरस्कार घोषणा गर्नुभएको हो । ‘‘खेलाडीले आफ्नो असाधारण प्रदर्शन गर्दै ऐतिहासिक उपलब्धि हात पारेका छन् । यसले सिङ्गो राष्ट्रलाई गौरवान्वित बनाएको छ । खेलाडीको प्रशंसा र समर्थनसहित टोलीलाई ५० लाख टाका दिने घोषणा गर्दछु,’’ हसनले भन्नुभएको छ ।
दशरथ रङ्गशालामा सोमबार भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलले हराउँदै उपाधि जितेको थियो । बङ्गलादेशको यो पहिलो साफ उपाधि हो ।