• १३ साउन २०८१, आइतबार

विपत् पूर्वतयारी र प्रतिकार्यमा ड्रोनको प्रयोग

blog

टीकापुर समाचारदाता

टीकापुर, असोज ५ गते । विपत् पूर्वतयारी र प्रतिकार्यमा छिटो र सहज कार्यका लागि मानवरहित हवाई उपकरण (ड्रोन) को प्रयोग गर्न विपत् व्यवस्थापनमा खटिने निकायहरूले तालिम लिन थालेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा मङ्गलबारदेखि टीकापुरमा तीनदिने तालिम सुरु भएको हो।

तालिमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले सुदूरपश्चिम बाढीपहिरो, भूकम्पको ठूलो जोखिममा रहेकाले विपत्को सामना गर्न तथा विपत्पछिको अवस्था तत्काल बुझ्न ड्रोनको प्रयोग आवश्यक हुने भएकाले त्यसमा खटिने निकायको क्षमता वृद्धि गर्न लागेको बताउनुभयो। 

“कैलालीको दक्षिणी क्षेत्र तीन दिनदेखि जलमग्न हुँदा अवस्था थाहा पाउन सकिएन, ड्रोनको प्रयोग भइदिए उद्धार, राहतका काम पनि सजिलो हुने थियो,” मन्त्री रावलले भन्नुभयो। मानव जान नसक्ने ठाउँमा ड्रोनको प्रयोग गरी सूचना लिएर मानवीय क्षति कम गर्न, राहत उद्धारका काम गर्न सकिन्छ। उहाँले पहिरोको जोखिममा रहेको पहाडी क्षेत्रमा पनि ड्रोनको प्रयोगले सहज हुने बताउनुभयो। टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारूले विपत्का साथै सीमा क्षेत्रमा भइरहेका गतिविधि नियाल्न र नगरको शान्तिसुरक्षा कायम गर्न पनि ड्रोनको प्रयोग गरिनुपर्ने हुँदा त्यसका लागि स्थानीय सरकारका तर्फबाट नेपाल प्रहरीलाई स्रोतसाधन थप्न तयार भएको बताउनुभयो। 

सयुक्त राष्ट्रसङ्घको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख वैजन्ती गिरी सिंहले विपत्का बेला उद्धार गर्न सरकारका विभिन्न निकाय परिचालनलाई ढिलो हुने र उद्धारकर्मी नै खतरामा पर्ने गरेकाले नेपालमा २०७२ को भूकम्पपछि बाढीपहिरोमा पनि ड्रोनको प्रयोग आवश्यक भएकाले यूएनडीपीको सहरी विपत् व्यवस्थापन तथा भूकम्पीय पूर्वतयारी योजनाले यसमा सहयोग गरेको बताउनुभयो। 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना प्रविधिविज्ञ अरुण पौडेलले नेपालमा एक किलोमिटर परसम्मको अवस्था थाहा पाउन ड्रोनको प्रयोग भइरहेको र कार्गो ड्रोनहरू १० किलोमिटर परसम्मको कामका लागि प्रयोग भइरहेको बताउनुभयो।  तालिममा कञ्चनपुर, डडेल्धुरा, बझाङका जिल्ला विपत् व्यवस्थापन समितिका प्रतिनिधि, नेपाली सेनाको देवीदत्त गुल्म, नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनीका प्रहरी अधिकृतहरू र रेडक्रसकर्मीको सहभागिता रहेको छ।

यसैगरी कैलालीका टीकापुर, भजनी, गोदावरी, नगरपालिका, कैलारी, जानकी गाउँपालिका, धनगढी उपमहानगरपालिका, कञ्चनपुरको पुनर्बास र भीमदत्त नगरपालिका, डडेल्धुराको अमरगढी नगरपालिका र बझाङको जयपृथ्वी नगरपालिकाका स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रतिनिधि सहभागी छन्।