• १३ साउन २०८१, आइतबार

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता

blog

धनगढी समाचारदाता

धनगढी, असोज ५ गते । कैलालीको बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाइएको छ। डुबानपछि फोहोर, लामखुट्टे र दूषित पानीका कारण विभिन्न रोग लाग्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाइएको हो। 

गत शनिबार विभिन्न नदीमा आएको बाढीका कारण जिल्लाको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा बढी डुबान भएको थियो। डुबानका कारण करिब पाँच हजार परिवार विस्थापित भएकामा धेरैजसो अझै घर फर्कन सकेका छैनन्। उनीहरू हुलाकी सडक, सुरक्षित भवन, विद्यालयलगायतमा बसिरहेका छन्। 

फोहोर, चिसोलगायतका कारण बाढी प्रभावितलाई विभिन्न रोग लाग्नसक्ने सम्भावना रहेकाले त्यस्ता रोगको सङ्क्रमण फैलिन नदिनका लागि सतर्कता अपनाइएको भजनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो। 

“हामीले सबै वडामा आवश्यक औषधिसहित स्वास्थ्यकर्मी खटाएका छौँ,” उहाँले भन्नुभयो, “यसका साथै सरसफाइ र पानी शुद्धीकरणसम्बन्धी जनचेतना फैलाउने कार्य गरिरहेका छौँ।” 

भजनी नगरपालिकामा सबैभन्दा बढी विस्थापित छन्। सो पालिकाको वडा नम्बर ३, ५, ७ र ८ पूर्ण रूपमा डुबेको थियो। डुबान भएका घरबाट पानी निस्केको छ। वडा नम्बर ८ का कतिपय घरमा भने अझै पानी भरिएकै छ।  

डुबान भएको बेलामा दूषित पानी र चिसोका कारण पनि धेरै मान्छे बिरामी पर्ने सम्भावना रहने गरेको चौधरीले बताउनुभयो। उहाँले बाढी प्रभावितलाई पानीकै कारण कुनै स्वास्थ्य समस्या नहोस् भनेर नगरपालिकाले सबै वडामा ‘मिनिरल वाटर’ बाँडेको उल्लेख गर्नुभयो। 

“अझै केही समय मिनिरल वाटर नै पिउन र नल्काको पानी पिउनैपर्ने भएमा राम्रोसँग उमालेर मात्रै पिउनका लागि समुदायवासीलाई आग्रह गरेका छौँ,” स्वास्थ्य संयोजक चौधरीले भन्नुभयो। 

डुबान भएको कतिपय क्षेत्रमा उच्च नल्का रहेको थियो। उच्च नल्का भएका ठाउँका स्थानीयवासीले ती नल्काबाट पानी खाइरहेका जनाइएको छ। तर, बाढी घटेपछि कतिपयले डुबान भएको नल्काको पानी पिउन थालेका छन्। कैलारी गाउँपालिकामा उच्च नल्का नभएका गाउँका बाढी प्रभावित आ–आफ्नो नल्काकै पानी प्रयोग गर्न थालिसकेको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताउनुभयो। 

“हामीले वितरणका लागि पीयूष, वाटरगार्ड र झुल माग गरेका छौँ,” उहाँले भन्नुभयो, “डुबान भएको बेला बढिजसो झाडापखाला, रुघाखोकी, मलेरिया, डेङ्गु रोगको सङ्क्रमणको सम्भावना रहने गरे पनि अहिलेसम्म त्यस्तो समस्या देखिएको छैन।” 

प्रभावितलाई रोगको सङ्क्रमण हुनसक्ने भन्दै सो गाउँपालिकाले स्वास्थ्यको ‘क्विक रेस्पोन्स टिम’ (आरआरटी) तयारी अवस्थामा राखेको छ। कहीँकतै समस्या देखिएमा वा सङ्क्रमण फैलिएमा तुरुन्तै स्वास्थ्यकर्मी परिचालन हुने सापकोटाले बताउनुभयो। 

बाढी प्रभावित क्षेत्रमा खास गरेर डेङ्गु, मलेरिया, भाइरल ज्वरो, झाडापखाला र स्क्रबटाइफस सङ्क्रमणको जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। रोग सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर पालिकाहरूमा आवश्यक औषधि, वाटर गार्ड र पीयूष पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले बताउनुभयो। “पालिकाहरूले झुल पनि माग गरेका थिए तर झुल हामीसँग पनि छैन,” उहाँले भन्नुभयो, “प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले झुल खरिद गरेर वितरण गर्दै छ।”

प्रभावितमा ज्वरो र रुघाखोकी

यसैबीच भजनी नगरपालिकाका बाढी प्रभावितमा ज्वरो र रुघाखोकीको समस्या देखिएको छ। त्यस्तो समस्या भएपछि सबै वडामा स्वास्थ्यकर्मी खटाएर पाँच सय जनाको औषधोपचार गरिएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताउनुभयो। “अहिले समस्या अलि कम भएको छ,” उहाँले भन्नुभयो, “डुबान भएको दोस्रो दिनबाट धेरै मान्छे बिरामी परेका थिए।”