• १३ साउन २०८१, आइतबार

भेरी अस्पतालमा ६० बिरामी डायलासिसको पालो पर्खँदै

blog

नेपालगञ्जस्थित भेरी अस्पताल । तस्विर : गोरखापत्र

नेपालगञ्ज, असोज ५ गते । पश्चिम नेपालमा सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको सरकारी अस्पताल भेरी अस्पतालमा डायलासिस मेसिनको अभावले ६० जना मिर्गौलाका बिरामीले डायलासिस गर्ने पालो पर्खिरहेका छन् । 

अस्पतालमा रहेका ४ वटा मेसिन मध्ये एउटालाई आपातकालीन अवस्थाका लागि छुट्टाएर तीन वटा मात्रै नियमित सञ्चालनमा रहकोले मिर्गौलामा समस्या भएर डायलासिसका लागि ६० जना बिरामीले पालो पाएका छैनन् । 

हाल सो अस्पतालमा तीन सिफ्टमा दैनिक ९ जनाले डायलासिस गराइरहेको जनाउँदै २७ जना बिरामीले नियमित डायलासिस गराउने अवसर पाएको भेरी अस्पतालको डायलासिस विभागका प्रमुख डा. पारस श्रेष्ठले बताउनुभयो । 

उहाँले पछिल्लो समयमा मिर्गौला बिग्रेका धेरै बिरामी अस्पतालमा आउन थालेपनि तीन वटा मेसिनबाट मात्र सो सेवा दिन सकिएकोले अधिकांश सेवाबाट वञ्चित भएको बताउनुभयो । 

‘अधिकांश बिरामीले हप्तामा दुई पटक डायलासिस गराउनु पर्ने अवस्था छ, सोही कारणले अरूले पालो पाउने सम्भावना छैन’–डा. श्रेष्ठले भन्नुभयो, ‘बिरामी बाचुन्जेल अरूलाई पालो दिनै सकिँदैन ।’

भेरी अस्पताल बाहेक सो सेवा लाइफलाइन अस्पताल र नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पनि रहेको छ । तर, निजीमा धेरै महँगो भएकोले विपन्न र गरिबसँग पालो कुर्ने बाहेक अर्को विकल्प छैन । 

कोहलपुरमा पनि सरकारले रकम नदिएको भन्दै बेला बेलामा डायलासिस बन्द गरिने गरिएको बिरामीले बताएका छन् । 

नयाँ पाँच मेसिन जडान प्रक्रियामा

मेसिन अभावमा यस क्षेत्रका मिर्गौला पीडितलाई डायलासिस गर्न बाहिर जानु पर्ने र लामो समयपछि मात्र पालो पाउने गरेको गुनासो बढेपछि सरकारले भेरी अस्पतालका लागि थप ६ वटा मेसिन पठाएको छ ।

गत भदौ १२ गते नै अस्पतालमा पुगेका ती मेसिन जडानको प्रक्रिया भर्खर सुरु भएको अस्पतालले जनाएको छ । 

नयाँ मेसिन पुरानो आइसियु कक्षमा जडान गर्ने कार्य सुरु गरिएको जनाउँदै भेरी अस्पतालका प्रमुख डा. बद्री चापागाईँले अहिलेलाई नयाँ ६ वटा मध्ये पाँच वटा मात्र सञ्चालनमा ल्याउने बताउनुभयो । 

उहाँका अनुसार नयाँ मेसिन जडान भए दैनिक १५ जना बिरामीले डायलासिस सेवा पाउने छन् । त्यसबाट पालो पर्खिरहेका मध्ये अधिकांशलाई सेवा दिन सकिने डा. चापागाईँले बताउनुभयो । 

६ वटा नयाँ मेसिन आएको जानकारी पाएर खुसी भएका मिर्गौला पीडित जडानमा ढिलाइ भएपछि निराश बनेका थिए । तर अहिले जडान प्रक्रिया चलिरहेको हुँदा केही दिनमै ती मेसिनबाट सेवा प्रवाह गर्न सकिने अस्पतालको डायलासिस युनिटले जनाएको छ । 

डायलासिसका लागि आवश्यक पर्ने पानी प्रशोधन गर्ने आरओ प्लान्टका लागि घर निर्माण गर्न समय लागेकोले डायलासिस मेसिन जडानमा ढिलाइ भएको भेरी अस्पतालले जनाएको छ । 

Author

सिराज खान