• ७ पुस २०८१, आइतबार

नेपालले साबा महिला बास्केटबल खेल्ने

blog

विदाइ कार्यक्रममा नेपाली महिला बास्केटबल टोली । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज ४ गते । माल्दिभ्समा सेप्टेम्बर २४ देखि ३० सम्म आयोजना हुने साबा महिला बास्केटबल प्रतियोगितामा नेपालले भाग लिने भएको छ । नेपाली बास्केटबल टोलीको मंगलबार बिदाइ गरिएको छ ।

माल्दिभ्स जाने १५ सदस्यीय टोलीमा १२ जना खेलाडी र तीन जना अफिसियल छन् । टोलीका खेलाडीहरूमा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतीक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का हुनुहुन्छ । 

प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल हुनुहुन्छ । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने नेपाल बास्केटबल सङ्घले जनाएको छ ।

नेपाली टोली सेप्टेम्बर २३ तारिख माल्दिभ्स जानेछ । टोलीलाई एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गर्नुभयो ।