• १३ साउन २०८१, आइतबार

डडेल्धुराका १२ उम्मेदवारलाई जरिवाना

blog

फाइल तस्बिर

पुष्कर भण्डारी

डडेल्धुरा, असोज ४ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने डडेल्धुराका अधिकांश उम्मेदवारलाई जरिवाना तोकेको छ । खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना तोकिएको हो । 

डडेल्धुरामा नगरप्रमुख, उपप्रमुख १२ जना उम्मेदवारलाई साढे चार लाख रुपियाँका दरले जरिवाना तोकिएको छ । पटक–पटक सूचनामार्फत ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले जरिवाना तोकेको जनाएको छ । निर्वाचन अयोगको वेबसाइट मार्फत उम्मेदवारलाई जरिवाना तोकिएको जनाइएको छ । 

दुई वटा नगरपालिका रहेको डडेल्धुरामा जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाका ८ जना र परशुराम नगरपालिकाका ४ जना उम्मेदवारलाई जरिवाना गरेको आयोगले जनाएको छ । आयोगले निर्वाचन खर्च नबुझाएका अमरगढी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट प्रमुखका उम्मेदवार सङ्गीताकुमारी भण्डारी, माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार लक्ष्मण सिंह, राप्रपाबाट प्रमुखका उम्मेदवार गणेशबहादुर भण्डारी र राष्ट्रिय जनमोर्चाबाट प्रमुखका उम्मेदवार पवनबहादुर बिष्टलाई साढे चार लाख रुपियाँका दरले जरिवाना तोकिएको छ । 

आयोगले अमरगढी नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुखका उम्मेदवार पार्वतीदेवी झुकाल, नेकपा एकीकृत समाजवादीबाट उपप्रमुखका उम्मेदवार भुवनराज पाठक, माओवादी केन्द्रबाट उपप्रमुखका शशीदेवी अवस्थी र राप्रपाबाट उपप्रमुखका उम्मेदवार कविता जोशीलाई जरिवाना तोकेको छ । कांग्रेसका उम्मेदवार झुकाल अमरगढी उपप्रमुखमा विजयी भएका हुन् । 

परशुराम नगरपालिकामा कांग्रेसबाट उपप्रमुखका उम्मेदवार कलापतीदेवी बोहरा, राप्रपाबाट प्रमुखका उम्मेदवार दीर्घराज जोशी, राष्ट्रिय जनमोर्चाबाट प्रमुखका उम्मेदवार रघुवीर कामी र राप्रपाबाट उपप्रमुखका उम्मेदवार भागरथी चन्द ठकुरानीलाई साढे चार लाख रुपियाँका दरले जरिवाना तोकिएको आयोगले जनाएको छ ।

यसैगरी गाउँपालिका प्रमुख, उपप्रमुखहरूलाई साढे तीन लाख रुपियाँका दरले जरिवाना तोकिएको छ । नेकपा (माओवादी केन्द्र) बाट अजयमेरु गाउँपालिकामा निर्वाचित अध्यक्ष उमेश भट्ट, कांग्रेसका उम्मेदवार टेकराज पाण्डेय, स्वतन्त्र उम्मेदवार प्रकाशबहादुर ऐर, नेकपा (एमाले) का उम्मेदवार पदमबहादुर पाल, नेकपा (माओवादी केन्द्र) बाट उपाध्यक्षका उम्मेदवार कलावती भाट, कांग्रेसका उम्मेदवार निर्वाचत उपाध्यक्ष वसन्ती पाल, कांग्रेस बीपीका उम्मेदवार रामचन्द्र ऐरलाई जनही साढे तीन लाखका दरले जरिवाना तोकिएको छ । 

यस्तै निर्वाचन खर्च नबुझाउने अन्य उम्मेदवारलाई पनि सोही बरावरको जरिवाना तोकिएको आयोगले जनाएको छ । निर्वाचन खर्च नबुझाउने वडा अध्यक्ष र वडा सदस्यहरूलाई जनही डेढ लाख रुपियाँका दरले जरिवाना तोकिएको छ । वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवार गरी डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहका ४८७ जनालाई जरिवाना तोकिएको छ ।