विश्व अर्थतन्त्रमाथि महामन्दीको खतरा मडारिरहेको देखिएको छ। तीन वर्षअघिदेखि विश्वभर कोरोना (कोभिड १९)को प्रभावले अर्थतन्त्र थिलथिलो भएको थियो। लगानी घट्दै गयो। खास गरी पर्यटनलगायतका सेवाले अर्थतन्त्रमा विश्वभर नै निराशा छायो। हवाई सेवा कम्पनीहरू इतिहासमा कहिल्यै नबेहोरेको घाटामा पुगे। होटल व्यवसाय त चौपटै थियो। रोजगारी गुमाएका श्रमिकहरूको सामाजिक सुरक्षामा खर्च गर्न सरकारहरू बाध्य थिए। त्यसले सरकारी खर्चमा चाप बढ्यो भने अर्थतन्त्र शिथिल हुँदा विश्वभर नै सरकारले प्राप्त गर्ने राजस्वमा प्रतिकूल असर प-यो। यो अवस्थामा सात महिनाअघि सुरु भएको रुस र युक्रेनबीचको युद्धले अर्थतन्त्रको जटिलताको आगोमा घिउ थपेको छ। विश्वभर नै अर्थतन्त्र मन्दी हुँदै महामन्दीमा जाने खतरा बढेको विश्व बैङ्कको ताजा आकलन गम्भीर छ।
विश्व अर्थतन्त्रका समीक्षा गर्ने मूल निकाय भनेका विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत नै हुन्। विश्व बैङ्कको ताजा प्रतिवेदनले विश्वव्यापी आर्थिक मन्दी सन्निकट रहेको जनाएको छ। त्यसअनुसार सन् २०२२ को सुरुवातसँगै विश्वको प्रक्षेपित आर्थिक वृद्धिदरमा ठूलो कमी आउँदैछ। सन् २०२२ को जनवरीमा विश्वव्यापी आर्थिक वृद्धि यो वर्षका लागि चार दशमलव एक प्रतिशत हुने अनुमान थियो। अर्को वर्ष सन् २०२३ मा घटेर तीन दशमलव तीन प्रतिशत रहने प्रक्षेपण थियो। तर एक महिनाअघि अगस्टमै अवस्था ठूलो फरक आयो, आर्थिक वृद्धिदर घट्यो। यो वर्ष सन् २०२२ को आर्थिक वृद्धिदर दुई दशमलव आठ प्रतिशत देखियो। आरम्भको प्रक्षेपण चार दशमलव एक प्रतिशतको आधा मात्र हुने अवस्था ठूलो चुनौती हो। त्यसअनुसार अर्को सन् २०२३ मा त विश्व अर्थतन्त्र दुई दशमलव तीन प्रतिशतले मात्र वृद्धि हुने देखिएको छ। तीन दशमलव तीन प्रतिशतको प्रक्षेपण पुग्ने छैन। यो लगभग मन्दीतिर अग्रसर भएको विश्व अर्थतन्त्रको अवस्था हो। मन्दी अझ बिग्रियो महामन्दी हुने हो।
विश्व बैङ्कको ताजा प्रतिवेदनले सम्पन्न र विकाशील दुवै अर्थतन्त्रलाई समेटेको छ। सो प्रतिवेदनअनुसार ९० प्रतिशत सम्पन्न र ८० प्रतिशत विकासोन्मुख मुलुकको आर्थिक वृद्धि प्रक्षेपण हेरेको थियो। दुवैखाले अर्थतन्त्रमा आर्थिक वृद्धिदर घट्ने आकलन छ। आर्थिक वृद्धि घट्नु भनेको मौजुदा लगानीमा कमी आउनु हो। त्यसले बेरोजगारी बढाउँछ। मौजुदा रोजगारीबाटै धेरैले हात धुनु पर्नेछ। त्यसले उत्पादनमा कमी ल्याउँछ भने आपूर्ति शृङ्खलामा कमी आई मूल्यमा चाप पार्छ।
विश्वइतिहास अनेकौँ पटक मन्दी र महामन्दीको शृङ्खलामा गुजे्रको छ। पहिलो विश्व युद्धपछि सन् १९३० को दशक विश्व अर्थतन्त्र महामन्दीबाट गुज्रेको थियो भने सन् १९७० महामन्दीको नजिक पुगेर अर्थतन्त्र फर्र्किएको थियो। सन् २००८ को मन्दी महामन्दी नपुगी स्वाभाविक लयमा चाँडै फर्कियो। अहिले अवस्था अलि फरक छ। कोरोनाले थला पारेको अर्थतन्त्रमा रुस र युक्रेन युद्धले महँगी बढाएको छ। इन्धनको मूल्यमा व्यापक बढोत्तरी छ। मूल्य वृद्धिको चापले अर्थतन्त्र थला परेका छन्। अमेरिकी केन्द्रीय बैङ्कले बढाएको ब्याजदरको असर विश्वभर परेको छ, पर्दैछ। मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न ब्याजदरमा गरिएको वृद्धिले लगानीमा प्रतिकूल असर परेको छ। लगानीमा प्रतिकूल असरले नै अर्थतन्त्रलाई मन्दी र त्यसलाई रोक्न सकिएन भने महामन्दीको जोखिमतिर लैजाने हो।
विश्व आर्थिक मन्दीको असरबाट नेपालसमेत अछुतो रहन सक्ने छैन। नेपालको अर्थतन्त्रको मूल निर्भरता अहिले विप्रेषण नै हो। गत आर्थिक वर्षमा दस खर्ब रुपियाँभन्दा बढी औपचारिक स्रोतबाट नेपालमा विप्रेषण भित्रिएको छ। अर्थतन्त्रमा विप्रेषण योगदान कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत हाराहारी पुगेको छ। विश्व अर्थमन्त्र मन्दी तथा महामन्दीको चपेटामा प-यो भने विप्रेषण आयमा प्रतिकूल असर पर्नेछ। नेपाली बैङ्क तथा वित्तीय संस्थाहरू निरन्तर ब्याजदर बढाउँदै छन् र त्यसको प्रतिकूल असर लगानीमा पर्दैछ। इन्धनको मूल्य वृद्धि असर त छँदैछ। त्यसले नेपाली अर्थतन्त्रमा लगानी घटाइदिन्छ। मन्दीको असरबाट न्यून गर्न सरकारले लगानी प्रवद्र्धनका प्रभावकारी योजना ल्याउँदै आन्तरिक उत्पादनमा बढोत्तरी दिनु वाञ्छनीय छ।