• ३ असार २०८१, सोमबार

अधिकांश दलले आज बन्दसूची पेस गर्ने

blog

काठमाडौँ, असोज ३ गते । आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सोमबार मात्रै बुझाउने भएका छन्। निर्वाचन आयोगले असोज २ गते आइतबार र ३ गते सोमबार गरी दुई दिनभित्र बन्दसूची बुझाउन समय तोकेको छ। 

समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार प्रतिनिधि सभा सदस्यतर्फ दुईवटा दलले मात्रै बन्दसूची पेस गरेका छन्। समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले प्रतिनिधि सभातर्फ दुई र तीनवटा प्रदेशका लागि एक/एक राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गरेको जानकारी दिनुभयो। 

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि दलहरूबाट निवेदन आह्वान गर्दा प्रतिनिधि सभाका लागि ७६ वटा दलबाट ६८ निवेदन परेको थियो। प्रदेशगत रूपमा सबैभन्दा बढी मधेश प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधि सभातर्फ तराई मधेश लोकतान्त्रिक पार्टी र नेपाल समावेशी पार्टीले उम्मेदवारको बन्दसूची बुझाएका हुन्। प्रदेशतर्फ बागमती प्रदेशमा ताम्सालिङ पार्टी, मधेश प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टी र प्रदेश १ मा किराँत खम्बुवान पार्टीले उम्मेदवारको बन्दसूची बुझाएको निर्वाचन अधिकृत भट्टराईले बताउनुभयो। 

उहाँले भन्नुभयो, “कुन दलले कति र कुन–कुन व्यक्तिलाई उम्मेदवार बनाए आयोगले छानबिन गरेर अन्तिम नामावली प्रकाशन गर्दा सार्वजनिक हुन्छ।” प्रमुख राजनीतिक दलहरूले भने बन्दसूचीका उम्मेदवारको नाम टुङ्ग्याउन सकेको छैन। 

छलफललाई तीव्रता दिए पनि सोमबार मात्रै प्रमुख राजनीतिक दलले बन्दसूचीका उम्मेदवार टुङ्ग्याएर निर्वाचन आयोग पुग्नेछन्।