• १३ पुस २०८१, शनिबार

ढुङ्गा – म (कविता)

blog

–ए ! प्रिय मान्छे,

हृदयहीन ढुङ्गा भनेर

विन्ती गाली नगर ।


–थाहै छ तिमीलाई 

 ढुङ्गाविना बनेन तिमी जन्मेको घर,

 तिमी बामे सर्ने पिँढी 

 सिकुवा र  आँगन,

तिमी हिँड्ने बाटो

पुग्ने गाउँ र सहर

तिम्रो आस्थाको मन्दिर

पुज्ने देवी देवता,

अझ गाली गर्छौं

यो कामै नलाग्ने ढुङ्गा ।


–थाहै छ तिमीलाई

 ढुङ्गैका थिए तिम्रा पुर्खा बस्ने ओडार

गुफा र सुरुङ

ढुङ्गैका थिए हतियार

ढुङ्गैबाट निस्कियो आगो 

ढुङ्गैबाट बन्यो चुल्हा ढुङ्गा

ढुङ्गैबाट बन्यो घर

दरबार शासक र पर्खाल

ढुङ्गैबाट बन्यो सुरक्षित किल्ला

जब भत्किए किल्लाहरू 

ढुङ्गैले बन्यो समाधी

ढुङ्गैले बन्यो चौतारी

ढुङ्गैमा लेखियो शीलापत्र 

र किताब

अझ भन्छौ कामै नलाग्ने 

 यो ढुङ्गा 


–लात्तीले हिर्काऊ या टिपेर फाल 

बोल्दैन ढुङ्गा

गाली गर या सराप 

सुन्दैन ढुङ्गा 

सहनु– सहनु– सहनुको अर्को नाम ढुङ्गा 

तर–

जब तिमी उसको छातीमा घन ठोक्छौ 

तब आक्रोश र विद्रोहले चिच्याउँछ ढुङ्गा 

जब तिमी उसको शिरमा छिनो घोप्छौ

तब असहय पीडाले रुन्छ ढुङ्गा

साच्चै नै भनुँ–

ढुङ्गा मलाई मेरी आमा जस्तो लाग्छ

ढुङ्गा मलाई मेरी पत्नी जस्तो लाग्छ 

ढुङ्गा मलाई मेरै दर सन्तान जस्तो लाग्छ 

ढुङ्गा मलाई मैले छाडेर जाने कर्महरू जस्तो लाग्छ 

र ढुङ्गा मलाई म आफैँ जस्तो लाग्छ  । 


फिक्कल,  इलाम