काठमाडौँ, भदौ १२ गते । बेलायती शैलीको फल्स सिलिङ बजारमा उपलब्ध हुन नसक्दा केशरमहलको पुनर्निर्माणकर्ताका लागि निकै समस्याको विषय बनेको छ।
धातुको बुट्टेदार फल्स सिलिङ राख्ने चलन राणाकालमा भित्रिएको थियो। केशरमहल पुनर्निर्माण कम्पनीले ९० प्रतिशत पुरानो फल्स सिलिङ काम लाग्ने र १० प्रतिशत नयाँ व्यवस्थापन गर्नुपर्ने अनुमान गरेको थियो। ठेकेदार कम्पनी जेडसीजीआई–खानी जेभीका परियोजना व्यवस्थापक नरकान्त सापकोटाले केशरमहलमा प्रयोग भएका फल्स सिलिङ मुस्किलले १० प्रतिशतमात्र पुनः प्रयोगमा आउन सक्ने बताउँदै भन्नुभयो, “बाहिरबाट हेर्दा नयाँजस्तो देखिए पनि भित्र खियाले काम नलाग्ने अवस्थामा पुगेका रहेछन्। ती प्रयोग गर्न सकिँदैन।”
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरले दरबार निर्माण गर्दा बेलायतबाट ती फल्स सिलिङ झिकाउनुभएको थियो। रसायन प्रयोग भएकाले फल्स सिलिङका पाता रङ्गाइएकोतर्फ हेर्दा भर्खरै बनाइएकोजस्तो देखिए पनि अर्कोतर्फ खियाले काम नलाग्ने अवस्थामा पु-याइदिइसकेको छ। कतिपय पातामा प्वाल पनि परिसकेको छ। सबै पातामा खिया लागिसकेको छ। पातालाई रसायन उपचार गर्न खोजिए पनि सो सफल हुन नसकेको उहाँले बताउनुभयो।
पुनर्निर्माण कम्पनीले नेपाली कालीगढलाई हातले कुँदेर त्यस्ता पाताका नमुना तयार गर्न लगाएको थियो तर प्रयास गर्दा खासै स्तरीय पाता तयार गर्न सकेनन्।
एउटा कोठामा रहेको फल्स सिलिङको बुट्टा अर्को कोठासँग मिल्दैन। एउटै कोठामा पनि कम्तीमा तीनथरीका बुट्टा प्रयोगमा रहेको देखिन्छ।
परियोजना व्यवस्थापक सापकोटाका अनुसार पुरानो दरबार भएकाले अचेल बजारमा पाइने आधुनिक फल्स सिलिङ प्रयोग गर्न नमिल्ने भएका छन्। केशरमहलको पुनर्निर्माणका लागि ५६ करोड रुपियाँ खर्चिंदै छ। आगामी मङ्सिर २८ गतेसम्म निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गरिसक्नुपर्नेछ।
परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर आकाशकुमार शाहले हालसम्म ७४ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको दाबी गर्नुभयो। धेरैजसो कोठा अब रङरोगन गर्नमात्र बाँकी छ भने कतिपय कोठामा सुर्कीचुनाबाट तयार गरिएको बज्र लेपन गर्ने काम भइरहेको छ।
दरबार निर्माण गर्दा सल्लाको काठ प्रयोग गरिएको थियो। पुरानो भएकाले ती काठ काम नलाग्ने अवस्थामा पुगेका छन्। अहिले सल्लाको काठ प्रयोग नगरी नेपाली सालको काठ प्रयोग गरिएको छ। कोठामा धूलो नझरोस् भन्ने उद्देश्यले दलिनमाथि प्लास्टिक ओछ्याइएको छ।
केशरमहलको बाहिरी भागमा विभिन्न संरचना निर्माण गर्नुपर्ने भएकाले बाहिर रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका निकाय र राष्ट्रिय वाणिज्य बैङ्कलाई त्यहाँबाट नहटाइए समयमा काम सक्न कठिन हुने भनाइ परियोजना व्यवस्थापक सापकोटाको छ।
सो क्षेत्रमा केशर पुस्तकालय, बैङ्कका साथै शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा, वैदेशिक अध्ययन अनुमतिपत्र शाखा, छात्रवृत्ति शाखा, सुरक्षाकर्मी भवन र चमेना गृह छन्। उच्च शिक्षासँग सम्बन्धित यी शाखामा दैनिक सयौँ विद्यार्थी पुग्ने गरेका छन्, त्यसैले निकै भीड हुने गरेको छ। ठेकेदार कम्पनीले आफ्नो प्रयोजनका लागि निर्माण गरेको टहरोमा पनि केशर पुस्तकालयका करिब ४० हजार पुराना किताब थन्क्याइएको छ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले केशरमहलभित्रका केही कोठा तयार गरेपछि त्यहाँ बाहिर रहेका निकायलाई सार्न सकिने र सो नहुँदासम्म ती निकायलाई केशरमहल परिसरबाट बाहिर सार्न नसकिने स्पष्ट पार्नुभयो।