साहारा लिम्बू
फुङ्लिङ, असार २३ गते । ताप्लेजुङमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण फैलन थालेको छ । जिल्लाको नौमध्ये ६ स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण देखा परेको हो ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डा. रोशन दाहालका अनुसार अहिलेसम्म ६ स्थानीय तहका ३४ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । जसमा सिदिङ्वा गाउँपालिकाका २, मेरिङदेन गाउँपालिकाका १०, सिरिजङ्गाका गाउँपालिकाका ५, फक्ताङलुङ गाउँपालिकाका २, फुङलिङ गनरपालिकाका ७ र आठराई त्रिबेणी गाउँपालिकाका ८ वटा पशुचौपयामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको हो ।
देखिएका लक्षण र पशुपालकले दिएको सूचनाका आधारमा जिल्लाका सबै स्थानीय तहमा पुगी पशुको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको प्रमुख डा. दाहालले बताउनुभयो । थप सङ्क्रमण बढ्न नदिनका लागि सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा मातहतका निकायमार्फत रोकथामका रणनीति अघि बढाइएको छ ।
सङ्क्रमित पशुचौपायालाई छुट्टै गोठको व्यवस्था गरी राखिएको छ । जिल्लको मिक्वाखोला, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा भने सङ्क्रमण देखा नपरेको डा. दाहालको भनाइ छ ।
यस्तै अहिलेसम्म चार हजार सात सय ५० डोज लम्पी स्किन सङ्क्रमणविरुद्धको खोप प्रदान भइसकेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङले जनाएको छ ।