• १३ पुस २०८१, शनिबार
blog

ज्वाइँ छोरा बराबर भन्ने जुग आई नै सक्यो आउन त ! तर बाज्या पालाको पुरानो लवजको कवचभने मछिन्द्रनाथको भोटोजस्तै कहिल्यै पुरानो नहुने परेछ कि क्या हो ! हिमवत्खण्डको सिरानमा सजिएको यो देशकै इतिहास पुरानो भएर पनि हुन सक्छ, सधैँ उस्तै र उही उखान मीठोमसिनो लागेर मुखमा झुन्डिएको भेटिन्छ नेपालीको । 

अरूलाई केके धन्दा, घरज्वाइँलाई खानकै धन्दा’ उखान पुरानै हो, बखान मात्रै नयाँ नौला नौथरी सिङ पुच्छर जोडेर लख काटिएको । उखानको बखान छाँटेकै पाराले  दिन बिताउनु तर सिन्को नभाँच्नु, चुलाको सिरानमै बसेर सबभन्दा पहिला मिठामसिना परिकार लतार्नु, साँप्रा, ह्याकुला छानी छानी दार्नु, चौटा लुछ्नु, ओल्लो घाट र पल्लो तीर गर्दै ओली न पाङ्क्तिा गफ चुटेर आकाश पातल जोड्नु, आफू सधैँ बरालिनु, अरूलाई पनि दिउँसै आकाशका तारा देखाउँछु भन्दै बाँदरसर्पका मदारीनाच देखाएर बराल्नु, नौरङ्गी तामझामका रङ्गीन सपना बाँडेर अबोध जनको मति विगार्नु, घरज्वाइँका दैनिक कार्यमा यिनै र यस्तै अनगिन्ती आइटम पर्दै आएका छन् । पुर्खाकै चलनचल्तीका बोली मुहाबरासँग सिँगौरी खेल्ने कसको ताकत ? यसोउसो तलमाथि वरपर गर्दागर्दै उही रटन झुन्डिएको भेटिन्छ सर्वसाधारणको मुखमा, दुःखमा होस् कि सुखमा  । यस पाली पनि गच्छेअनुसार नै लुतो फालियो । सहर चोकका चौबाटामा घन्टाकर्ण नामक राक्षसको औतार ठड्याएर घैँटे सर्प र उसैको नाउँमा पैसा माग्ने काम पनि बाँकी रहेन । अनि पछि सम्पन्न हुने घण्टाकर्णको दाहसंस्कार पनि कुरिलो डाइनेझार, भलायो, नर्कट, छ्वाली, पराल आदि जेतेमेते वनस्पतिको अग्रेठ जगाएर रीतपूर्वक सम्पन्न गरियो, अनि पो बल्ल रोपाइँजात्रा हिलेजात्रा टाकटुकेजात्रा, बाघेजात्रा, जोगीजात्रा आदि बर्खेजात्राहरूको मेसो बस्ने भयो तर तल्र्याङ्गतुर्लुङ्ग गाँठागँुठी झुन्डिएका, नानाथरी नयाँ लुतोमाथि मङ्कीपक्ससमेत पालेका रागेपाटे छ्याकटे वर्ण बान्कीका ठ्याँ मठ्याँ नानाओली नामनामेसीका भाइघन्टाकर्णहरू भने निकै जमजमाएर सहरबजार गाउँटोल जथाभावी छाडा पाराले उत्रिएका छन् । यिनीहरू भने मासिनेभन्दा उल्टो लहलहाउँदै बतासिनेतर्फ बढिरहेका भेटिन्छन् । चारै खुट्टा हावामा फाल्दै रिसल्ला घोडाको जोडा बनेका यी भीमकाय भकारीधारी उत्तर आधुनिक डाइनोसरलाई मन्सिने र पन्सिने कसरी भन्नेबारे जनता रणभुल्ल छन् । घण्टाकर्ण राक्षसकै कलिजुगी अवतार भन्न सुहाउने यी पाहुनाहरू बालुवाटार धोवीखोला बागमती विष्णुमती र टुकुचाका छेउछाउ बगरसमेत खाइचपाइ गर्दा पनि नअघाएर अझै हसुर्ने मेलो खोज्दैछन् । जनता रुवाउने र नन्दीभृङ्गीको गण लिएर आपूm अट्टहास गर्नेभन्दा अरूथोक केही गर्न जान्ने रहेनछन् यी मूढान्ध मनुवा । नातागोता कलत्रपुत्रादिको जगेर्नामा औताएको यिनको शक्ति, सामथ्र्य कि त विदेशीकै भक्तिभावमा रत्तिएको देखिन्छ कि त भोकले पेट दाम्रिएिका हाडछााला टाँस्सिएका निरीह जनता चरीलाई डस्ने कार्यमा हरहमेसा दारानङ्ग्रा उज्याएर पट्टा खेल्दै दौड चालू गरेको भेटिन्छ । 

चानचुने हैन, थरीथरी औतारधारी छन् यी मुस्तण्ड घण्टाकर्णेहरू । आफ्नो रहँदाबस्दाको घरमा आगो सल्काएर भस्मखरानी बनाउँदै छिमेकीलाई न्यानो र उज्यालो गुन लगाएको भन्दै पाहुना लाग्ने घरज्वाइँ परेका छन् कोही । आफ्नो अगुवा ढेडुको आरिस गर्दागर्दै अनाडीमा गुलेली हानेर खुत्रुक्कै सत्ताशिखरबाट तल झार्ने अनि आफू चैँ भगुवा बनेर पल्लो रुखमा बुद्रक्क हामफाल्दै ज्यान जोगाउने परेका छन् कोही । बकुल्लाबानी टिपेर ढुक्ताढुक्तै आकाशे फल ख्वात्त मुखभित्र पसेर मत्र्यलोकको यसै धराधाममा मुख मिठ्याउने मात्र होइन थैलो भरेर समढन्न बनाउने असत् बानीका भग्यमानी छन् कोही अनि नपाउने पगरी हात लागेर ताजपोष सजाउने चुरीफुरी गर्दैछन् कोही । आफ्नो हात जगन्नाथ हुँदा यिनले कोसी महाकालीको पानी बेचे, चुरे माहभारतको ढुङ्गा बालुवाखानीमाथि खरानीसमेत बेचे, कालापानी लिपुलेकको माटो बेचे । देशभित्र गरीखान निदिएर युवायुवतीको खाडी मुलुकमा लगेर जवानी बेचे । तैपनि अघाउन जान्दैनन् यी हन्तकाली दिमागखाली घरज्वाइँहरू ! भर्खर सिकार मारेर तात्तातो रगत थुतुनाभरि लतपतिएका चितुवाजस्तै आलो रगत ह्वास्स गनाउने छन् कोही । सिकारको रक्तपानबाट शान तुजुक र ताकत बढेका यी दुर्दान्त दनुवाहरू अझै हिँड्न जान्दैनन् दौडिने मात्र गर्छन् । बोल्न जान्दैनन् भाषण मात्र बर्बराउँछन् हिटलर बाजे बिर्साउनेगरी । विधान, संविधान, कानुन नियम मिचेर जथाभावी गर्ने छुट पाएका यी मानव सिकारी जनतालाई भिखारी बनाउने कर्मभन्दा अरू केही नजान्ने परेछन् ।  

साहुजीका चन्दा र विदेशीका अघोषित फन्दा भिरेर जमजमाएका यी पाहुनामण्डलीको चुरीफुरी अझै हत्तपत्त सकिने छाँट छैन । बरु दिनदिनै बढ्दो रफ्तारमा चलिरहेको छ । देशी करदाता र विदेशी विधाताका कृपामा सदावर्तको चुलो जलाएर ससुरालीको अपुताली स्याहार्न आएकै छाँटछन्दमा सगबगाएका छन् ठूलेहरू । आफ्नै मन्द बुद्धिले चुकुल खुस्किएका बिल्टुवा मण्डली कहिले कालेकाले मिलेजस्तो गरी आपसमा थुतुना जोर्ने र कहिले भने एउटाले अर्कोलाई चिथोर्न कोपर्न जाइलाग्ने गर्न भने किन छोड्थे ? नानीदेखिकै बानी जो न ठह¥यो ? आआफ्ना पुराना थातथलोबाट लखेटिएर च्यापुले धुलो चाट्न पुग्दा पनि यिनीहरू एक रत्ति चेत्दैनन्, उल्टै छुल्यामुल्या बुद्धि लगाएर नानाभाँतीका तर्तिव निकाल्दै अझै साखुल्ले बनेर तर मार्ने जोहो गर्दैछन् । उता जङ्गलका मर्कटराजहरू यता सत्ताको दरबारमा आएपछि पुरानो बानीले किन छोड्थ्यो 

र ? दिनको खान्की बिर्ता बपौतीले न पुगेर निशाचरशैलीमा रातविरात जनताको ढुकुटीमा लामो हात गर्न पल्किएपछि सकिएन अब ? चुलामाथिको कुँडेको तरमा पल्किएका ढाडे बिरालोभन्दा के कम भए त यी अब ? बैँस जा बानी न जा भन्ने त पुरानो उखानै छ । यसभन्दा पनि कता हो कता टाढाका विदेशीबाट पनि नयाँ नौला मेजमानी हसुर्ने मेसो मिलाउँदै छन् भन्ने चर्चा चासो पनि बाक्लिँदै छ हिले आहालजस्तै ।

नेपाल भन्ने पवित्र घराधाममा आकाशे जुका शैलीमा टप्किएका यी घरज्वाइँ बैगुनी मात्र परेछन् कि कसो हो ? ससुराली घरका फलैँचामा राडीगलैँचामाथि शोभायमान बनेर बजेट ल्याउने सपना मात्र देख्छन् । एक घन्टा बजेटरूपी हर्पmन मौलको लतिफा पढेको दक्षिणा कुनै कारखाना मजदुरले दस वर्षमा पाउने तलब बराबर एकमुष्ट हसुरौँला भन्ने नियतले हो कि ? यता बजेट उता बजेट, तल बजेट माथि बजेट, रातमा बजेट दिनमा बजेट, विपनामा बजेट सपनामा बजेट, अहिले नै बजेट भरे नै बजेट, हाय बजेट । सपना विपना खाली बजेटैबजेट देख्दा रहेछन् लुब्ध घरज्वाइँहरू । जालझेलको काँचो वायु साँधेर साहुमाहजनको आम्दानी बढाउने, गरिबको थाप्लमा कर थोपर्ने, रातबिरात दलाल गुण्डा जगाएर करका दर हेरफेर गरिदिने अनि काला बजारियाले बोकेको फोहोरमैलाको डङ्गुर धोईपखाली सफा गरिदिने र यता देशलाई टाट पार्ने दाउमा लागेका यी निमेकहाराम घरज्वाइँलाई जिन्दगीभर आफ्नै तेर्सो कद बढाउने ध्याउन्न मात्रै हुँदोरहेछ । जय पशुपतिनाथ !

सत्ता भत्तारूपी भोग मिष्ठान्नमाथि थुतुनो जोत्ने प्रयोजनका लागि मात्रै यो धरामा पधारिएका यी घरज्वाइँहरू विदेशतिर सयर गर्ने, रामरमिता मनाउनेजस्ता कार्यामा भने झनै सौखिन भेटिन्छन् । जनताको सुरक्षा, हेरचार, सातुसामल, पानीबत्ती रोजगारी आदिको व्यवस्थापन गर्ने कर्तव्यप्रति सधँै लापरबाह र निष्ठुरी शैलीमा उत्रिएका यी ज्वाइँहरूका दिमागमा आपूmबाहेक अरू मान्छेको सुखदुःख घातप्रतिघातको कुनै ख्यालै पलाउँदैन रहेछ । काम कर्तव्यप्रति सधैँ आफ्नो अर्जुनदृष्टि रहेको रट लगाउँदै गफ छाँट्ने तर सयरसापट, मोजमस्ती र खानाखजानातिर मात्रै गिद्वेदृष्टि रहेका यी ज्वाइँहरू राहुकेतुको दुष्प्रभावले होला– अभिशाप बनेर नेपाली आङमाथि चढ्न आइपुगेका छन् । इच्छाशक्ति र विचारका दरिद्र तर थरीथरी अचारका पारखी यी घरज्वाइँहरू दुई सयको हाइड्रोसिलको उपचार गराउन दुई लाख उडाउने प्रपञ्च गर्छन्– देशका श्रमजीवी खेतालालाई दङ्ग्याएर । कतै लाजघिन र सरमको चिम्टीसम्म नभेटिने यी कामचोर ज्वाइँको पारा देखेर हिजोआज सारा नेपाली अकमक्क परेर मनोभञ्जन रोगले ग्रस्त बनेका छन् । “म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ । म बाचूँ मै हाँसू अरू सबै मरुन् दुर्बलहरू ।”...

लेखनाथ बाबाको ‘काल महिमा’ कविता भने जीवनमा ठ्याक्कै उतार्न खप्पिस छन् यी सरस्वतीका झट्केला कलिजुगी कपूतहरू । चौबीसै घण्टा, बाहै्र महिना यही रट लगाइरहने घरज्वाइँहरू खाँदाखाँदै बेहोस बन्न थालेका छन् । होस छँदा केही गरौँ भन्ने सोच्दैनन्, कुकुर बिराला बनेर हड्डीका टुक्रा चपाउनमै व्यस्त रहन्छन् । हड्डी नपाए त्यही ससुरालीघरको भित्तो कोपर्छन् । चोया, चित्राका भार, चुला, अँगेनाका चम्का चिथोर्छन् । हाकाहाकी बलेँसी, करेसा फोहोर पार्छन् । छेउभित्ता कोतरेर छिया छिया बनाउँछन् । अनि भन्छन्– “मेरो नङ उप्कियो उपचार गर्न लन्डन जानुप¥यो, दस करोड खर्च देऊ, डलरको भाऊ बढेको छ !” लाज शरम, बुद्धि विवेकमा समेत बिर्को लागेका यी धराघामका हराम प्राणीलाई तह लगाउन काँडेदार साङ्लो भिरेका बाघमारा कुकुर नै लगाउनुपर्ने हो त ? यक्ष प्रश्न खडा भैदिएको छ नेपालीका सामु । त्यसलै त भनिएको होला पुराना नीतिशास्त्रमा ‘जामाता दशमो ग्रहः’ । जताततै पोखिएको फोहोर धोईपखाली घर सफा गर्नुको सट्टा हातमा टोपी लिएर विदेशतिर भाँचो कस्दै थरीथरी दानदक्षिणा र  मेजमानी डुकुल्याउन पल्किएका यी घरज्वाइँको चालाले हाल बेहाल बन्न पुगेको छ विचरा सुधा नेपाली जनको । विदेशी विधर्मी गुरुमैया बोलाएर होली वाइनको नाममा नेपाली आस्थामाथि गोली हान्ने यी निर्लज्ज घरज्वाइँहरू के देशको भाषा धर्म संस्कृतिलाई अभर पार्न मात्र जन्मिएका हुन त ?

यस्तो दिव्य ज्ञान कसरी प्राप्त भयो कुन्नि ? “ए पुरानाले मात्रै भ्याइरहने, हामी ऊर्जाशील दह्रा दामी कलपुर्जा लिएका युवाजमात हेरेको हे-यै ? खाडी मुलुकमा हामीले नै तातो रापमा भेडा, गधा हेर्दै बँच्नुपर्ने । उत्तरी ध्रुवको चिसोमा हामीले नै हिउँ भालु चराउनुपर्ने ? जता जहिले पनि हामी चैँ हारेको हारेइ ? पश्चिमी सभ्य भव्य विकसित देशहरूमा तीसपैँतीसेहरूले राजनीतिको नेतृत्व समाल्दै राज्यको बागडोर भ्याइसक्ता पनि हाम्रो देश चैँ बूढाहरूकै बिर्ता बोनस् बपौती बनिरहने ? कसले दियो यी कामचोरहरूलाई पालैपालो सुमर्न यो बिर्ता ?” यस प्रकारको आरिसले उब्जाएको तुजुक फुरेपछि नयाँ पिँडीका युवायुवतीहरू पनि के कम ? 

स्वतन्त्र परतन्त्र जाऊ तन्त्र आऊ तन्त्र जुका तन्त्र गडेउला त्रन्त्र आदि जस्ता राजनीतिका नयाँ, नयाँ भेरिएन्ट जन्माएर सुखी समृद्ध नेपाल बनाउने र दूधको खोलो बगाउने भन्ने हल्लीखल्ली पनि असारे हिलोभन्दा पनि बाक्लै रफ्तारमा चलेको छ । नयाँ चुनौती बनेर चलेको यस हल्लाले पुराना घण्टाकर्णे घरज्वाइँका दिमाग छड्किने कञ्चट सड्किने मेसो चल्दै छ जस्तो छ । तर नयाँ घरज्वाइँले पासा फाल्ने र थुतुनो चलाउने धतुरो फलाउने उद्दण्ड शैलीमा पुरानैको सिको गरे भने, गर्ने के अनि ? फर्कीफर्की उही घण्टाकर्णे राक्षस आउने त हैन ? यक्ष प्रश्न खडा भएको छ ।

जिन्दगीभर लिसोझैँ टाँस्सिने हन्तकाली बूढा घरज्वाइँबाट थोरै समयभित्र धेरै आजित भइसकेका जनता भन्दै थिए– जति थपुवा थपिदिए पनि पाएँ नभन्ने, जति खाए पनि अघाएँ नभन्ने, अरूलाई मानिस न गन्ने, आपैmँ सबथोक हुँ भन्ने भातमाराको भ¥याङ चढ्दै मुलुकमाराकै श्रेणीमा पुगेका हन्तकाली, दिमागखाली महामहिम घरज्वाइँहरूलाई षाष्टाङ्ग प्रणाम । कोटी कोटी दण्डवत् !