• १३ पुस २०८१, शनिबार

नेपाली नारी–आख्यानमा पहिचान र विद्रोह

blog

साधना पन्त ‘प्रतीक्षा’को समकालीन नेपाली नारी आख्यानमा पहिचान र विद्रोह कुल छवटा परिच्छेदमा संरचित अनुसन्धानात्मक सामग्री हो । यस पुस्तकको पहिलो परिच्छेद मानव समाजमा नारीको स्थान, त्यसको प्राचीनदेखि आधुनिक (वर्तमान) समयसम्मका प्रतिनिधि व्यवहार एवं दृष्टिकोण निर्माणमा निर्णायक मानिएका सामाजिक अभ्यास तथा अध्ययन, तिनलाई सैद्वान्तिकीकरण गर्ने आधारको समीचिन विश्लेषणमा केन्द्रित छ ।

समालोचनामा नारीवादी चिन्तनको प्रवेश पश्चात्य समालोचक र ज्ञाननिर्माण प्रक्रियाको प्रतिफल हो भन्ने आधार यिनको छ । पूर्वीय वाङ्मयका कालजयी रचना वेदका मन्त्र रचनामा नारीको योगदान रहेकाले वैदिक सूक्तकाल समतामा आधारित थियो भन्ने ठहर यिनको छ । कृष्ण गौतम, गोविन्दराज भट्टराई, कमला भासिन, वीणा पौड्याललगायतका मान्यतालाई यिनले नारीवादी दृष्टि निर्माणको आधार बनाएको देखिन्छ । आख्यानलाई नारीका पक्षबाट विश्लेषण गर्ने आधार निर्माणमा यिनले पितृसत्ता÷ पितृसत्तात्मकता, लैङ्गिकता, नारीउत्पीडन, नारी अस्तित्व र पहिचानको खोजी, नारी विद्रोह शीर्षकमा गम्भीर सैद्धान्तिक विमर्श गरेको देखिन्छ । सामाजिक लिङ्ग व्यवस्था र त्यसको अन्तर्यमा लुकेर रहेको शोषण एवं उत्पीडनमुखी व्यवहार, प्रचलन, संस्कृति तथा त्यस्ता विभेदयुक्त चेतनालाई सिर्जनामा पनि प्रस्तुत गर्ने सिलसिलाले नै नारीवादी समालोचनाको आरम्भ एवं विमर्शको परम्परा विकसित भएको हो । यसै मान्यतालाई पहिलो परिच्छेदमा सैद्धान्तिकीरकण गरिएको देखिन्छ । 

नेपाली नारीवादी आख्यानको कालक्रम र त्यसको स्वरूपका सन्दर्भमा केन्द्रित गरेर दोस्रो परिच्छेद सङ्गठित गरिएको छ । २०४६ पछि नेपाली समाजमा आएका उदारताका प्रभाव, नारीका चेतनामा त्यसले पारेका प्रभाव, संस्थागत र साङ्ठनिक रूपमा नारीका पक्षमा नीति निर्माणमा केन्द्रित भएको राज्यव्यवस्था जस्ता पक्षबाट नारी आख्यानको विवरण तयार गरिएको देखिन्छ । गीता केशरीको आवाज (२०४७) लाई उपन्यास विधाका कोणबाट नारीवादी चेतनाको सर्वेक्षण उषा शेरचनको आधि (२०७६) सम्म जोडिएको छ । नारीमा विकसित भएको विभेद एवं शोषणको चेतना र त्यसबाट मुक्तिको अभिप्रायले चालिएका नारी सशक्तीकरणका अभियानलाई सार्थकता दिने विषय र तिनको आख्यानीकरण गरिएका कोणबाट यी उपन्यास सर्वेक्षण गरिएको देखिन्छ । त्यसैगरी कथाको चयनमा माया ठकुरीका कथा (२०४८)बाट आरम्भ गरेर उमा सुवेदीको सयौँ पुतली (२०७५) सम्मका सामग्रीलाई उपलब्धताका आधारमा स्थान दिइएको देखिन्छ । समकालीन नेपाली नारीआख्यानमा अभिव्यक्त नारीवादी चिन्तनको विमर्श गर्ने क्रममा पन्तले उपन्यास र कथाका कथावस्तुलाई नारीवादी कोणबाट विवेचना गरेको देखिन्छ । नारीले समाजमा लैङ्गिक विभेद, पितृसत्तात्मक व्यवहार, सामाजिक तथा सांस्कृतिक विभेद, जैविक तथा यौनिक सन्दर्भमा भोग्नुपरेका विभेदलाई यिनले कथावस्तुको केन्द्रीयतामा व्याख्यात्मक रूपले प्रकाश पारेको देखिन्छ । नारीवादी चिन्तनका कोणबाट गरिएको सर्वेक्षणले नारी चरित्रका मूलतः दुई धार विकसित भएको निष्कर्ष पुष्टि छ । ती हुन्– यथास्थितिवादी नारी चरित्र र विद्रोही (क्रान्तिकारी) नारी चरित्र । 

नारीले आफ्नो अस्तित्व र पहिचान बोध गर्नु, त्यसको प्राप्तिका निम्ति चिन्तनशील हुनु जस्ता पक्ष समकालीन नेपाली नारी आख्यानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भबाट प्रभावित विषय हुन् । यसलाई सामाजिक तथा सांस्कृतिक सन्दर्भमा अस्तित्व र पहिचानको खोजी एवं मातृत्व र यौनिक सन्दर्भमा अस्तित्व र पहिचानको खोजीअन्तर्गत चौथो परिच्छेदमा व्याख्यात्मक रूपले विवेचना गरिएको देखिन्छ ।

पुरुष सत्ताले निर्माण गरेका एकाङ्गी मान्यता र त्यसको अन्तर्यमा लुकेर रहेको दमन, उत्पीडनको प्रतिकारमा उत्रिएका घटना एवं नारी पात्रका सन्दर्भलाई पन्तले पाँचौँ परिच्छेदमा प्रकाश पारेको देखिन्छ । सामाजिक एवं सांस्कृतिक मूल्य र मान्यताका नाममा नारीका निजी जीवनलाई कुण्ठित बनाउन गरिएका घटनालाई आख्यानीकरण गरिएका सन्दर्भ यसमा आएका छन् । पन्तको यस अनुसन्धानात्मक पुस्तकमा नारीवादी चिन्तनको सैद्धान्तिक आधार, आधार निर्माणका परम्परागत अभ्यास, लैङ्गिकता र पितृसत्ताका प्रभाव, समाकालीन नेपाली नारी आख्यानमा नारीको स्वरको ऐतिहासिक तथा विश्लेषणात्मक सन्दर्भ समेटिएको छ । 

कृति : समकालीन नेपाली नारी आख्यानमा पहिचान र विद्रोह 

विधा : समालोचना

लेखक : साधना पन्त ‘प्रतीक्षा’

प्रकाशन : वि.सं.२०७८

प्रकाशक ; नेपाल प्रज्ञा प्रतिष्ठान

पृष्ठ : २३६

मूल्य : रु. २७०।–