विश्वकै गहिरो गल्छी बनाएर बग्ने नदी हो, कृष्णगण्डकी अर्थात् कालीगण्डकी प्रायः कालो रङको जलप्रवाह हुने कालीगण्डकी शालिग्रामका लागि विश्वप्रसिद्ध छ। हिन्दु धर्ममा शालिग्रामलाई विष्णु भगवान्को साक्षात् रूप समेत मानिन्छ। कालीगण्डकी तटमा मुक्तिनाथ र देवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थलसँगै पश्चिमा वास्तुकलाको नमुनाका रूपमा रानीमहल रहेको छ। नेपाली समाजको विशिष्ट प्रेम प्रतीकका रूपमा रानीमहलले इतिहासको एउटा प्रेमिल कालखण्ड बचाएर राखेको छ।
पाल्पाको श्रीनगरडाँडा आसपासबाट उत्तर बग्ने रानीघाट खोला कालीगण्डकीमै समाहित भएको छ। जहाँ प्रेम प्रतीकका रूपमा जीवित दरबार छ, रानीमहल। तानसेनबाट १३ किलोमिटर दूरीमा रहेको रानीमहल, नदी किनारको चट्टामाथि ठड्याइएको छ। पाल्पाका तैनाथी पश्चिम कमान्डर जनरल खड्गशमशेर राणाले रानी तेजकुमारी देवीको सम्झनामा पाँच वर्ष लगाएर विक्रम संवत् १९५४ मा सो दरबार निर्माण सम्पन्न गराएका थिए।
तानसेन नगरपालिकाले दस वर्षका लागि संरक्षण जिम्मा पाएको रानीमहलका धेरैजसो पुरातात्त्विक वस्तुहरू हराइसकेका छन्। यद्यपि त्यहाँका भौतिक पूर्वाधारलाई पूर्ववत् अवस्थामा संरक्षणको प्रयास गरिएको छ। त्यहाँका केही पुरातात्त्विक वस्तु रानीमहलभित्र रहेको सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको छ। सङ्ग्रहालयमा देवी, गणेशका मूर्ति, शङ्ख, पूजाथाली, पानस, शालिग्राम, हुक्का, दियो, खड्कुलो, घैलालगायत पुरातात्त्विक वस्तुहरू राखिएका छन्।
रानीमहल पाँच रोपनी १५ आना दुई दाम क्षेत्रफलमा अवस्थित छ। रानीमहलले वरपर करिब २४ रोपनी क्षेत्रफल ओगटेको छ। दरबार क्षेत्रमा भान्छाघर, तबेला, शीतलपाटी, फोहरासहितका दुई पोखरी रहेका छन्। रानीमहल परिसरमा गजुरबिनाको तीन खण्डमा विभाजित मन्दिर पनि छ। दायाँबायाँ शिव र बीचमा गङ्गाको मन्दिर छ। यद्यपि गङ्गाको मूर्ति हराइसकेको छ। टुटेको अवस्थामा संरक्षित दुई घण्ट छन्। यी घण्टले प्रेमको निशानी बोकेको छ।
कालीगण्डकीको किनारतर्फ शीतलपाटी छ। जहाँ गर्मीको बेला चिसो हावाको आनन्द लिन सकिन्छ। महलको बगैँचा र सजावटलाई जीवन्त राख्ने प्रयास गरिए पनि रानीमहलको बाहिरी भागमा जथाभावी राखिएका बिजुली र सोलारका पोलले महलको सौन्दर्य कुरूप बनाएको छ।
पुरातत्वले पुनर्निर्माण गरेर २०७२ साल साउन १० गते रानीमहल सरकारलाई हस्तान्तरण गरेको थियो। यद्यपि रानीमहलको उचित संरक्षण हुन नसकेपछि नगरपालिकाले संरक्षण जिम्मा लिएको छ। नगरपालिकाले रानीमहलको सौन्दर्य जीवन्त राख्न र पर्यटन प्रवर्धनमा पहल जारी नै राखेको छ। सुरक्षाका लागि प्रहरी खटाइनुका साथै सीसी क्यामरासमेत जडान गरिएको छ।
विशेषगरी आन्तरिक र भारतीय पर्यटकको चाप रानीमहलमा छ। कालीगण्डकीमा जलविहार गर्ने सेवामा निजी क्षेत्र सक्रिय छ। हनिमुन मनाउने जोडीदेखि मनसुनी जोडीसम्मको आकर्षण रानीमहल बनिरहेको छ। पाल्पा घुम्न पुग्ने परिवार या साथी समूह रानीमहल पुगेकै पाइन्छ।
सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमा रहेको रानीमहलसम्म पुग्न तानसेनबाट पक्की सडक निर्माण गरिएको छ। रानीमहलमा रहेको शिव मन्दिरको गुठीसमेत विभिन्न ठाउँमा रहेको स्थानीय बताउँछन्। त्यसको खोजबिन गरी संरक्षणमा नगरपालिकाले चासो राख्नुपर्ने देखिन्छ।
रानीमहलको कथाभित्र खड्गशमशेर
रानीमहलको भित्री कथाको सुरुवात राणा परिवारभित्र मौलाएको शासन सत्ता हत्याउने प्रयास, शङ्का, हिंसा, द्वन्द्वबाट सुरु हुन्छ। जहानियाँ राणा शासनका रोलवाला हुन्, खड्गशमशेर राणा। तर राणा भाइभारदारबीचको षड्यन्त्रले उनी पाल्पा धपाइएका थिए।
श्री ३ प्रधानमन्त्री जङ्गबहादुर राणाका कान्छा भाइ हुन् धीरशमशेर राणा। तिनै धीरशमशेर र नन्दकुमारीका माहिला छोरा हुन्, खड्गशमशेर राणा। उनको जन्म विक्रम सम्बत् १९१७ साल माघ १ गते भएको थियो। धीरशमशेरका १७ भाइ छोरा भए पनि खड्गशमशेरतर्फ देवशमशेर, चन्द्रशमशेर र भीमशमशेर थिए। एउटै आमाका चार भाइमध्ये देवशमशेर, चन्द्रशमशेर र भीमशमशेर रोलक्रममा प्रधानमन्त्री बने पनि खड्गशमशेरले त्यो अवसर पाउन सकेनन्। उनले अन्तिममा आफ्नै दाजुभाइको षड्यन्त्रमा परेर भारत निर्वासनमा जानुपरेको थियो।
श्री ३ महाराज जङ्गबहादुरको मृत्युपछि भाइ रणोद्वीप प्रधानमन्त्री तथा श्री ३ महाराज बने। कान्छा भाइ धीरशमशेरलाई मुख्तियार बनाइयो। यद्यपि रोलक्रममा जङ्गबहादुरले आफ्ना छोरालाई भित्र्याएपछि धीरशमशेर खलक केही सशङ्कित थिए। किनकि शासन सत्तामा जङ्गबहादुरका छोरा पनि पहुँचमै थिए। धीरशमशेरमा जङ्गबहादुरका छोराहरू (भतिज)प्रति एक प्रकारको भय थियो। त्यसैले धीरशमशेरले प्रधानमन्त्री तथा श्री ३ रणोद्वीपको जासुसी गर्न छोरा खड्गशमशेरलाई खटाएका थिए।
विक्रम सम्बत् १९४१ मा धीरशमशेरको अचानक देहान्त भयो। उनका रानीबाट १७ भाइ छोरा थिए, तीमध्ये केही केटाकेटी नै थिए। धीरशमशेरको मृत्युपछि हुर्केबढेका दाजुहरूले भाइहरूलाई बाँडेर लालनपालन गर्ने निर्णय गरे। धीरशमशेरको मृत्युपछि जङ्गबहादुरका छोराहरू र धीरशमशेरका छोराहरूबीच अझ बढी सत्ता हानथाप, शङ्का र षड्यन्त्र सुरु भयो।
श्री ३ महाराज रणोद्वीपले जङ्गबहादुरका छोरालाई बढी प्राथमिकता दिएकाले धीरशमशेरका छोराहरू बढी सशङ्कित बन्न पुगेका थिए। यसको दीर्घकालीन समस्या समाधान गर्न शमशेर खलक एकजुट हुन थाले। उनीहरूले ठूलो बुबा रणोद्वीप सिंहको हत्या गरी शासन सत्ता हातमा लिने खतरनाक योजना बनाए।
श्री ३ महाराज रणोद्वीप सिंह धार्मिक स्वभावका थिए। त्यो बेला बालक राजा श्री ५ पृथ्वी वीरविक्रम शाह थिए। धीरशमशेरका १७ भाइ छोरामध्ये हुर्केका वीरशमशेर, खड्गशमशेर, डम्बरशमशेर, चन्द्रशमशेर, भीमशमशेर योजना तामेलीतिर लागे। सोहीअनुसार श्री ३ महाराज रणोद्वीप सिंहको दरबार पुगेका उनीहरूले ढोका ढकढकाए। धार्मिक स्वभावका श्री ३ महाराज रणोद्वीप सिंह त्यो बेला पीपल पातमा रामनाम लेख्दै थिए। ढोका खुल्नासाथ उनले सोधे, भन् किन आइस् ?
डम्बरशमशेरले भकभकाउँदै “स्वास्नीको कमारो बनेर फरियाभित्रबाट राजकाज गर्ने नालायक जोइटिङ्ग्रेलाई सजाय दिन आएको” भन्दै बन्दुक तेर्स्याए तर बन्दुक पड्किएन। त्यसपछि खड्गशमशेरले आफ्नो बन्दुक सोझ्याए। उनको गोली सीधै निधारमा लाग्यो। रणोद्वीप त्यहीँ ढले। त्यसपछि भीमशमशेरले पनि गोली हाने। राजासँगै बसेका वीरशमशेरले राजा पृथ्वीलाई बाहिर लिएर आए। श्री ५ पृथ्वीलाई घटनाबारे जानकारी गराउँदै लालमोहर र पञ्जापत्र बनाउन लगाएर श्री ३ महाराज नियुक्त गर्न लगाए।
विक्रम संवत् १९४२ सालमा ३४ वर्षको उमेरमा वीरशमशेर प्रधानमन्त्री तथा श्री ३ महाराज बने, जसलाई ४२ सालको पर्व भनिन्छ। मुलुकको शासन सत्ता जङ्गबहादुरका भाइ खलकबाट शमशेर (भतिज) खलकमा पुग्यो।
त्यसपछि भाइ खड्गशमशेरलाई प्रधानसेनापतिमा नियुक्त गरियो। त्यसपछि जङ्गबहादुरको सन्तानमाथि निर्मम हत्याकाण्ड मच्चाइयो, भाग्न सक्ने बाँचे। भागेर ब्रिटिस रेजिमेन्समा कतिले शरण लिन पुगे। कतिपयको खड्गशमशेरको नेतृत्वमा नरसंहार भएको थियो।
खड्गशमशेरले भन्ने गरेका थिए, मेरो एक गोलीले मुलुकको शासन सत्ताको स्वरूप फेरियो। त्यो अहमता उनमा थियो। जसले गर्दा शमशेर खलक (दाजुभाइ)बीच नै बेमेलको अवस्था ल्यायो। श्री ३ महाराज वीरशमशेरलाई वास्तै नगरी खड्गशमशेरले काम गर्न थालेका थिए। जसले गर्दा श्री ३ वीरशमशेर सशङ्कित बने। एक दिन निजामती अड्डामा पुगेर श्री ३ वीरशमशेरले खड्गशमशेरका मान्छे हटाई आफ्ना मान्छे भर्ना गरे। यस कार्यले खड्गशमशेर झनै असन्तुष्ट बने।
श्री ३ वीरशमशेरविरुद्ध खड्गशमशेरले गुप्त षड्यन्त्र गर्न थाले। १९४३ साल फागुन दोस्रो सातातिर खड्गशमशेरले भाइ शेरशमशेरको व्रतबन्धको योजना बनाए। केही इतिहासकारले भनेका छन् खड्गशमशेरले त्यही व्रतबन्धमा वीरशमशेरलाई बोलाई हत्याको योजना बनाएका थिए तर जासुसमार्फत यो षड्यन्त्र प्रधानमन्त्री श्री ३ वीरशमशेरले थाहा पाए।
षड्यन्त्र थाहा पाएका श्री ३ वीरशमशेर खड्गशमशेरको निम्ता स्वीकारेर सावधानीपूर्वक थापाथली पुगे। उनले मेजर कीर्तिमानसिंह केसीको साथमा दरिलो सैनिक टोलीसमेत लगेका थिए। केही छिनमा खड्गशमशेर व्रतबन्धस्थलमा देखिएनन्। मूलढोका पनि बन्द रहेको श्री ३ वीरशमशेरले थाहा पाए। त्यसपछि खाँदैको खाना छाडेर श्री ३ वीरशमशेर मूलढोका खोल्न लगाई बग्गीमा चढेर निजी निवास हिटी दरबारतिर लागे।
त्यसपछि निकै रिसाएका श्री ३ वीरशमशेरले १९४३ साल फागुन २० गते सबै भाइलाई दरबारमा बोलाए। दरबार अगाडि ठूलो चोकमा बैठक राखिएको थियो। बैठकमा खड्गशमशेर घोडा चढेर पुगेका थिए। घोडाबाट ओर्लनेबित्तिकै श्री ३ वीरशमशेरका गारद सैनिकले खड्गशमशेरलाई घेरा हाले र पाता फर्काए। श्री ३ महाराज वीरशमशेरले कड्किएर नालायक कुलङ्गार भनी गाली गरे। श्री ३ वीरशमशेरले खड्गशमशेरलाई श्री ३ महाराज हुने रोल क्रमबाट झिकिदिए। प्रधानसेनापतिमा अर्का भाइ रणशमशेरलाई नियुक्त गरियो। सत्ता उल्टाउने षड्यन्त्र गरेको आरोपमा पाता फर्काएरै खड्गशमशेरलाई अर्घाखाँचीको ठाडामा गएर बस्न आदेश दिइयो।
१९४४ सालताका खड्गशमशेरकी रानीको सुत्केरी हुने समय भएपछि पाल्पा सरिपाउँ भनेर निवेदन हालियो। उनलाई पाल्पाको बडाहाकिम बनाई पठाइयो। सोही समयमा ब्रिटिस पुरातत्वविद् आन्तोन फुररको सहयोगमा लुम्बिनीको अशोक स्तम्भको खोज भएको थियो।
विक्रम संवत् १९५० साल ताका खड्गशमशेरकी कान्छी रानी तेजकुमारी बिरामी परिन्। कालीगण्डकीको किनारमा उनको देहान्त भयो। उनी बित्नुअघि आफ्नो सम्झनामा स्मारक बनाइदिन पति खड्गशमशेरलाई आग्रह गरेकी थिइन्। त्यसपछि बेलायतबाट इन्जिनियर झिकाई विक्रम संवत् १९५४ सालमा रानीमहलको निर्माण सम्पन्न भयो।
१९५७ सालमा श्री ३ वीरशमशेरको मृत्युपछि देवशमशेर प्रधानमन्त्री तथा श्री ३ महाराज भए तर चन्द्रशमशेरको समूहले तीन महिनामै उनलाई पाता फर्काएर राजधानी कटाएपछि चन्द्रशमशेर नेपालको प्रधानमन्त्री बने। यो कुरा खड्गशमशेरलाई मन परेन। त्यसपछि चन्द्र शमशेरविरुद्ध खड्गशमशेरले विद्रोह गरे तर यो सफल भएन।
श्री ३ चन्द्रशमशेरले १९६० सालमा दाजु तथा पाल्पाका बडाहाकिम खड्गशमशेरलाई देश निकाला गरिदिए। त्यसपछि भारतको मध्यप्रदेशमा रहेको भोपालदेखि करिब एक सय ७२ किलोमिटर पूर्व उत्तरमा विद्याञ्चलदेखि दक्षिणमा रहेको सागरमा एक नेपाली शैलीको दरबार बनाएर खड्गशमशेर बस्न थाले। खड्गशमशेरकी नातिनी विजयीराजेको विवाह मध्य भारतका राजा शिवाजी राव सिन्धियासँग भएको थियो।
यो अर्ध स्वाधीन ग्वालियर राज्य थियो। उनी भारतीय जनता पार्टीको राजनीतिमा पनि सक्रिय भइन्। विजयराजे सिन्धियाकी छोरी उषा राजे सिन्धियाको विवाह नेपालका राजनीतिज्ञ पशुपतिशमशेरसँग भएको थियो। खड्गशमशेरको विक्रम संवत् १९६८ सालमा भारतको काशीमा निधन भयो। यद्यपि कालीगण्डकी किनारमा खड्गशमशेरको प्रेम निशानीका रूपमा जीवित छ, रानीमहल।