• १३ पुस २०८१, शनिबार

बूढो ल्याम्पपोस्ट

blog

एउटा बूढो ल्याम्पपोस्ट  

कुनामा चुपचाप उभिएको छ  

ऊ हेरिरहन्छ– 

सडकमा खेलिरहेका बच्चाहरू

चोकमा गफ गरिरहेका थकित भरियाहरू  

पल्लो घरको बरन्डामा गृहिणीहरूको गन्थन  

चिया पसलमा साथीभाइको भेटघाट ।  


त्यो बूढो ल्याम्पपोस्टमाथि 

एउटा बेवारिस चङ्गा अल्झेको छ

जो आफ्नो दुर्भाग्य फरफराउँछ

त्यहाँ एउटा बेरोजगार चरीको गुँड पनि छ

शिशिर याममा पातहरू झरेर गएको रूखझैँ 

यो रङ खुइलिएको खाँबो 

उभिन्छ गल्ली कुनामा उजाड–उजाड ।


त्यो बूढो ल्याम्पपोस्टमुनि 

एउटा बौलाहा पीरव्यथाका जुम्राहरू गनेर बस्छ

एउटा भिखारी अँध्यारो ओढेर सुत्छ 

एउटा कुकुर घाउहरू सुमसुम्याउँदै रुन्छ

मध्यरातसम्म फतफताइरहन्छ एउटा जँड्याहा  

सरकारमाथिको आक्रोश ।


यही बाटो हुँदै

हुल्याहाहरू बूढो ल्याम्पपोस्टमाथि      

बर्साउँदै जान्छन् ढुङ्गाहरू

फुटाउँदै भाग्छन् बल्बहरू

युद्धमा आँखा घाइते बनेको सिपाहीझैँ 

झोक्रिरहन्छ फ्युज्ड चिम बोकेर ल्याम्पपोस्ट । 


अलपत्र छ अनिकालमा छोडेर गएको घरजस्तै  

भूकम्पमा ध्वस्त कुनै गाउँजस्तै 

नयाँ बल्ब फेरिएको छैन

नयाँ रङ रङ्गाइएको छैन 

ठडिएको छ यो बूढो ल्याम्पपोस्टझैँ  

समयको अँध्यारोमा मेरो देश ।