• ८ जेठ २०८१, मङ्गलबार

शुभकामना (कविता)

blog

 तिम्रा ऊर्वर जोसिला पग चढून् आदर्शका शैलमा

तिम्रा उन्नत चेतना कुसुमका गुच्छा बनून् लेकमा

तिम्रा सोच बनून् सहस्र युगका आशा निराला अब

फाली बेथिति  बार बन्धन सबै ढोका उघारी नव


आशा दीप बलून् हटेर दिलका सारा निराशा र–व

हामी हेर्न सकौँ हिमाल सरिको नेपालको गौरव

तोडी क्रूर कुचक्र बक्र गतिका छोडेर चाला अब

फाली कल्मष  एक भै प्रगतिको ढोका उघारी नव


हाम्रा शुभ्र गुराँसमा अझ चढोस् सौन्दर्यको लालीमा

धब्बा दाग गरिब दुर्बल हटोस् नेपालको कालीमा

आफ्नै कर्म र साधना सुपथले माटो उठाऔँ अब

फोरी वक्ष पहाडका प्रगतिको ढोका उघारी नव


के सुत्छौ अब जाग हे युवक हो धर्ती लिई काँधमा

को सक्छन् पल रोक्न कर्कट–कुडा जम्मा गरी बाँधमा

पोखी पौरख प्राञ्ज नव्य युगको बाटो बनाऊ अब

हाम्रो सान उठाउँदै प्रगतिको ढोका उघारी नव


लैजाओ शुभकामना समयको आधार चिन्ने भए

मैजारोसँग दुर्दशा सुगतिको सामथ्र्य बन्ने भए

धर्ती पुत्र विपत्ति ताडित धरा गर्दैछ सुस्वागत

नेपाली अब जाग हे प्रगतिको ढोका उघारी नव 

भर्जिनिया, संरा अमेरिका ।