• १३ पुस २०८१, शनिबार

शिक्षक (कविता)

blog

बन्ने ज्ञानी छिनछिन यहाँ खोजका वात गर्दै

बोल्ने भाषा असल हितका लोभहिंसा लघार्दै  

को होला त्यो ? पद जगतमा भन्छ अध्यापकै त्यो 

बूढो माझी तटतिर बसी तार्छ डुङ्गा सधैँ जो  । 

उल्ले आफ्नो अनुभव कला सार्न सक्दा त रम्ने 

गल्ती गर्दा अमुक जनमा ज्ञानका बात छर्ने 

बस्ने–रम्ने हरबखत नै छात्रछात्रा पढाई 

शिक्षा बाँड्ने बुझ मनुज हो बाँच्छ बाधा हटाई । 

चुम्ने माटो सहज छरितो बोट नौलो लगाई 

पुज्नेरम्ने हरतरहले देश आफ्नो सजाई 

इन्द्रेणीका मधुर धुनले दिन्छ आभा वसन्त 

आफ्नै चेला युवकयुवती देश हाँक्ने अनन्त । 

छक्कापञ्जा कुटिलपनका वात यिन्को हुँदैन 

गर्ने कोही यदि जब भए मान्नता नै हुँदैन 

सोझो आफ्नो सरल गतिमा मार्ग राम्रो त दिन्छ 

हो त्यो ज्ञानी सरर बहँदै ज्ञानको भाव बोल्छ । 

शिक्षा यौटा असल गतिलो मेरुदण्डै बनेको 

नौला–नौला हरतरहका खोज राम्रो गरेको 

मान्छे हाम्रो सहज सजिलै हिँड्छ अध्यापकै त्यो  

आँफू जल्दै वरपर सधैँ मैन बत्ती बनेको  । 

शिक्षा अर्को हृदयभरमा ज्ञान आगो छ बाल्ने 

राम्रो कस्तो गहन–गरिमा छिद्रमा भित्र पस्ने 

दीक्षा छर्ला मन–मगजले दीर्घजीवी ऊ बन्ने 

मर्ला डढ्ला शरीर तन त्यो आत्मा कैले नमर्ने ।  

चित्तै दुख्ने जब अनुजले देश ताक्दा त अर्को 

लोभी–पापी विकसित भनौँ गर्छ ढाट्ने जमर्को 

सार्नेचोर्ने अनुभव कला ज्ञानको स्रोत मान्छ 

जे जो राम्रो गहन गरिमा सार्छ सक्दै लघार्छ । 

चेलाचेली  परपर गए ज्ञान शिल्पी छ सिक्नै

फर्की आए वर–घर छिटो बीज नौलो छ रोप्नै

सुर्कासुर्की, थरघर सबै जोत्न बाँकी बलौटा  

रोपे फल्लान् हर–तरहका अन्नबाली अनौठा ।