• २९ फागुन २०८२, शुक्रबार

सङ्घर्ष र सफलताको यात्रामा तृप्ति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २९ गते । बाल्यकालदेखि नै सङ्गीत र नृत्यलाई आफ्नो अभिन्न अङ्ग बनाउनुभएकी गायिका तृप्ति खड्का गुरुङ नेपाली साङ्गीतिक क्षेत्रमा सङ्घर्षरत हुनुहुन्छ  । उहाँ सानै उमेरदेखि आफ्ना कलात्मक प्रस्तुतिमार्फत सबैको मन जित्न सफल हुनुभयो । 

विगत पाँच वर्षदेखि व्यावसायिक गायिकाका रूपमा साङ्गीतिक क्षेत्रमा पूर्ण रूपमा समर्पित तृप्तिले छोटो समयमा नै ‘तृप्ति’, ‘तृप्ति भाग–१’ र ‘तृप्ति भाग–२’ गरी तीन वटा गीतिएल्बम श्रोतामाझ ल्याइसक्नुभएको छ भने हालसम्म करिब पाँच दर्जनभन्दा बढी गीतमा आफ्नो स्वर दिइसक्नुभएको छ । उहाँ लोकसङ्गीतदेखि पप, आधुनिक र चलचित्र पाश्र्व गायनमा समेत उत्तिकै दक्खल राख्ने एक ‘भर्सटाइल’ गायिकाका रूपमा आफूलाई चिनाउन चाहनुहुन्छ । सङ्गीतलाई आफ्नो प्राण र नसा नसामा बग्ने रगत मान्नुहुन्ने तृप्ति नेपाली सुगम सङ्गीतलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने लक्ष्यका साथ लागिपर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “सङ्गीत मेरा लागि केवल पेसा मात्र होइन, यो मेरो जीवनको एक हिस्सा हो । म यस क्षेत्रमा केही नयाँ प्रयोग र मौलिकता थप्ने हेतुका साथ अहोरात्र खटिरहेकी छु ।” उहाँ आफ्नो स्वरमा जादु भर्न मात्र होइन, सङ्गीतको गहिराइ बुझ्न र नयाँ पुस्तालाई प्रेरित गर्न पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

उहाँको सक्रियता साङ्गीतिक सिर्जनामा मात्र सीमित छैन । उनी अन्तर्राष्ट्रिय नेपाली गीतकार सङ्घ, सङ्गीतकार सङ्घ नेपाल र लोक तथा दोहोरी गीत प्रतिष्ठान जस्ता गरिमामय संस्थामा आजीवन सदस्यका रूपमा आबद्ध हुनुहुन्छ । उहाँले चलचित्र ‘तडप’ मा पाश्र्व गायिकाका रूपमा आफ्नो आवाज दिनुभएको छ भने केही महिनाअघि सार्वजनिक भएको उहाँको ‘निदरी’ नामक गीतले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । नेपाली सङ्गीतको श्रीवृद्धिका लागि निरन्तर सङ्घर्षरत उहाँको ‘वनको काफल’ नामक नयाँ गीत चाँडै नै सार्वनजिक हुने तयारीमा छ ।