• २९ फागुन २०८२, शुक्रबार

गरिबीले घरका ढोकामा झुन्डिए ताला

blog

बाजुरा समाचारदाता 

बाजुरा, फागुन २९ गते ।  बाजुराका अधिकांश गाउँबस्तीका घरको ढोकामा पछिल्लो समय ताला झुन्डिएको मात्र देखिने गरेको छ । गाउँमा बसेर गरिखाने केही उपाय नभएपछि अहिले यहाँका अधिकांश गाउँबस्तीका स्थानीय रोजगारीका लागि भारतका विभिन्न ठाउँमा रहेका छन् । भोको पेट पाल्नैका लागि यहाँका स्थानीय भारतमै बस्ने गरेकाले पछिल्लो समय यहाँ उनीहरूका घरमा ताला झुन्डिएको देखिने गरेको हो । 

बाजुराको बुढीगङ्गा–१०, बदेडाका स्थानीय कालु सार्कीले गाउँमा गरिखाने केही उपाय नभएपछि घरको ढोका बन्द गरेर पूरै परिवारका साथ भारत आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बास बस्नको समस्याले गाउँमा घर लगाए पनि घर लगाउँदा लागेको खर्च तिर्न परिवारसहित भारतमा आउँदा घरमा ताला लागेको हो ।”

भारतमा आएको झन्डै एक वर्ष भयो । घर लगाउँदा लागेको ऋण तिरेपछि मात्र घरको ताला खोलिने सार्कीले बताउनुभयो । यो पीडा बुढीगङ्गा नगरपालिका बदेडा कालु सार्कीको मात्र होइन । पीडा त यहाँका हिमाली, स्वामीकार्तिक खापर, जगनाथ, बुढीनन्दा, गौमूल, बडीमालिका, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिका स्थानीयको पनि समस्या उस्तै हो । 

यहाँका अधिकांश स्थानीय लामो समयदेखि भारतकै भरमा गाउँमा गुजारा चलाउने गरेका छन् । अहिले यहाँका अधिकांश गाउँबस्ती युवाविहीन भएका छन् । यहाँका युवा धमाधम भारत जान थालेपछि अहिले यहाँका गाउँबस्ती युवाविहीन भएका हुन् । निर्वाचनको समयमा केही युवा गाउँमा आए पनि प्रायः अहिले उनीहरू पनि फेरि कामको खोजीमा भारत जाने गरेका छन् । गाउँको जनशक्ति यसरी बिदेसिन थालेपछि यहाँ घरको ढोकामा ताला मात्र होइन यहाँका अधिकांश बस्तीसमेत खाली हुँदै गएका छन् । गरिबीका कारण यहाँका स्थानीय भारतमा जान थालेपछि अहिले गाउँमा भएको जमिनसमेत बाँझो रहने गरेको छ । सिँचाइ सुविधा अभावका कारण खेती नहुने र लगाएको खेती पनि जङ्गली जनावरले सखाप पार्ने भएकोले स्थानीयको रोजाइ भारत नै भएको हो । 

स्थानीय सरकारले आफ्ना अधिकांश कार्यक्रम कृषि उत्पादनमा रहेको बताउँछन् । स्थानीय सरकारले गाउँमा सडक खानेपानीको विकास गरे पनि यहाँका युवाका लागि रोजगारमूलक कार्यक्रम नल्याउँदा अहिले यहाँका धेरै युवाले बिदेसिनु परेको स्थानीय मानबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नभुयो, “आफूले गाउँमै केही गरिखान्छु भनेर पसल राखेको छु । यहाँका स्थानीयको गाउँमा केही रोजगारी नहुँदा त्यो पसल राखेको सबै सामान उधारोमै जान्छ ।”